ओली प्रधानमन्त्री हुँदा भारतीय मिडिया तरङ्गित

ओली प्रधानमन्त्री हुँदा भारतीय मिडिया तरङ्गित


नेपालको ४१औँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएसँगै भारतीय मिडिया तरङ्गित भएका छन् ।

भारतीय मिडियाहरुले आफूखुसी व्याख्या गर्दै अब ओली नेतृत्वको सरकारले भारतसँगको कुटनीतिक सम्बन्ध बिगार्ने र चीनसँगको सम्बन्धलाई थप बलियो बनाउँदै लैजाने खालको टि.प्पणी गरेका हुन् ।

यसै क्रममा आज भारतबाट निस्केको अंग्रेजी पत्रिका ‘द न्यु इन्डियन एक्सप्रेस’ले ओली चीनपरस्त रहेको आरोप लगाएको छ ।

रामानन्द सेनगुप्ताको बाईलाईनमा छापिएको एक टिप्पणीलाई नेपालीमा यसरी उल्था गरिएको छ…

‘सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीकालागि अनि त्यही वर्ष आफूलाई सत्ताबाट बहिर्गमन गराउनका लागि भारत दोषी रहेको बताउँछन् । यतिखेर ओलीको नेकपा एमाले र पुष्पकमल दाहालको नेकपा माओवादी केन्द्रका बीच असहज गठबन्धन छ । प्रचण्ड वामगठबन्धनका सहअध्यक्ष हुन् र उनी तथा ओली पालैपालो साढे दुई साढे दुई वर्षका लागि प्रधानमन्त्री हुने अपेक्षा छ ।

सम्बन्ध सुधार्न तथा नयाँ नेतृत्वप्रति भारतको समर्थनलाई थप सुदृढ गर्नका लागि विदेशमन्त्री सुष्मा स्वराजले फ्रेब्रुअरीको शुरूतिर भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणका क्रममा ओली र कम्युनिस्ट नेतृत्वसँग कुराकानी गरिन् ।

केही विश्लेषकहरूले ओलीले दुई ठूला छिमेकीबीच सन्तुलित सम्बन्ध राख्ने विश्वास राखेका भएपनि अधिकांशले भित्रभित्रै चाहिँ यसो नहुने स्वीकारेका छन् ।

‘ओली भारतविरोधी तथा चीनसमर्थक नारा दिएर सत्तामा पुगेका हुन् भनी हामीले बुझ्नुपर्छ । अनि उनको नारालाई नेपाली मतदाताहरूले ग्रहण गरेका हुन् । उनीहरू सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीका बेलामा पाएको दुःखका लागि भारतलाई दोष दिन्छन् । ओलीले एक्कासि भारतलाई अँगालेमा उनको राजनीतिक आत्महत्या हुनेछ,’ एक भारतीय कूटनीतिज्ञले बताए ।

‘सबै कुरा नियमित रूपमा चल्न सक्छ,’ सम्पादक तथा राजनीतिक विश्लेषक युवराज घिमिरे भन्छन्, ‘तर ओलीले देखिनेगरी चीनसँग निकटता बढाएकोले भारत स्वाभाविक रूपमा चिन्तित छ । भारतीय नाकाबन्दीको प्रतिशोधस्वरूप ओली चीनसँग नजिकिएका हुन् ।’ अर्का नेपाली पत्रकारले चाहिँ ठाडै भने, ‘काठमाडौंको कुरा गर्दा अब बाईबाई दिल्ली, हेलो बेइजिङ हो । यसलाई स्वीकार्नुस् ।’