मधेशी माननीय ‘नरमाया ढकाल’ले पैदा गरेको तरङ्ग

मधेशी माननीय ‘नरमाया ढकाल’ले पैदा गरेको तरङ्ग


राजपाको कोटामा समानुपातिक सांसद बन्न पुगेकी नरमाया ढकाल एकाएक चर्चाको विषय बन्न पुगेकी छिन् । प्रज्ञा उपनाम भएकी नरमायालाई नेपाली राजनीतिमा अहिलेसम्म कसैले चिनेको या सुनेको थिएन । त्यसमाथि मधेसकेन्द्रित राजनीतिमा त नरमाया ढकालको साइनो रहने सवालै भएन ।

त्यसोभए एकाएक कसरी राजपा जस्तो दलबाट सांसद बन्न पुगिन् त नरमाया ? सवाल अवश्य पनि कुतूहल पैदा गर्ने किसिमकै छ ।

सम्बद्ध पार्टीसूत्रका अनुसार राजपाका प्रभावशाली नेता राजेन्द्र महतोको विशेष जोडबलमा नरमाया समानुपातिक सूचीमा परेकी हुन् । राजपाका कतिपय नेताले महतोसँग नरमायाबारे जिज्ञासा राख्दा उनले प्रस्ट जवाफ दिएनन्, बरु जसरी पनि उनलाई सांसद बनाउनुपर्ने जिकीर गरिरहे । पार्टीकै नेताहरुले नचिनेको पात्र सांसद बन्न लागेपछि सबैलाई चासो त हुने नै भयो । मधेसको राजनीतिमा नरमाया ढकालको के योगदान रहेछ, जान्ने इच्छा सबैमा जाग्ने नै भयो । तर, महतोले नरमायाबारे न त केही खुलाए न आफ्नो अडान बदले । फलतः उनी सांसद बन्न पुगेकी छिन् ।

नरमायाबारे जान्ने जिज्ञासा मात्र नभई नेता महतोले उनलाई सांसद बनाउन लिएको अडानको रहश्य पनि बुझ्न खोज्दैछन् सम्बद्ध नेता तथा कार्यकर्ताहरु । आखिर लोभ या मोह, नरमायालाई सांसद बनाउन महतोलाई केले विवश तुल्यायो ? रहश्य खुलिसकेको छैन । अनेक अडकलबाजी भने शुरु भएको छ ।

नरमाया ढकाल को हुन्, यो कुरा राजेन्द्र महतो र उनका निकटजनलाई अवश्य नै जानकारी हुनुपर्छ, तसर्थ एक न एकदिन रहश्य खुल्ने नै छ ।

नरमाया ढकालको नाम शुरुमा सुन्दा राजपाका तमाम कार्यकर्ताहरुले ठानेका थिए कि उनी पहाडतिरकी कुनै अधवैंशे महिला होलिन् वा कुनै धनाढ्यको श्रीमती होलिन् । तर प्रज्ञा नाममा खोलिएको उनको फेसबुकका पाना पल्टाउँदा उनी मनोरञ्जन दुनियाँसँग जोडिएकी मोडल या कुनै फिल्मी हिरोइन हुन् कि भन्ने भाव पैदा गरायो, राजपाका कार्यकर्ताहरुमा । नेपाली फिल्मका हिरो आर्यन सिग्देललगायतका कलाकारसँग खिचाइएका फोटोहरु फेसबुकमा राखिएबाट मनोरञ्जन दुनियाँसँग कुनै न कुनै कनेक्सन त नरमायाको होला नै भन्ने देखिन्छ, तर सम्बद्ध क्षेत्रमा बुझ्दा उनलाई चिन्ने खासै भेटिँदैनन् ।

उनी कुनै विष्णु लामिछानेकी श्रीमती रहेकी फेसबुकबाट जान्न सकिन्छ, तर श्रीमान विष्णुबारे पनि ठोस जानकारी भेटिँदैन ।

माननीय सांसद बन्न पुगेकी नरमाया ढकालको जन्मचाहिँ २०३८ सालमा कैलाली जिल्ला (हालको धनगढी उपमहानगरपालिका)मा भएको बुझिन्छ । फेसबुकमा राखिएका तस्बिरहरुका आधारमा उनी घुमघाममा सोखिन महिला लाग्दछिन् । आफ्ना छोरी, श्रीमान र अन्य साथीहरुसँग घुमफिर गरेको तस्बिरले उनको फेसबुकका शोभा बढाएका छन् ।

यथार्थ जे भए पनि माननीय नरमायाले गरिमामाय संसदमा यस्तो प्रस्तुति देखाउन सकुन्, जसले उनीप्रति आज जन्मेका जिज्ञासाको सकारात्मक जवाफ आफै दिन सकोस् । यसो हुन सके उनलाई यो महत्वपूर्ण मौका प्रदान गर्ने राजेन्द्र महतोलाई पनि जश मिल्नेछ, सायद ।