– चन्द्रकान्त खनाल
प्रदेश ५ को उपसभामुखमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । एमाले सांसद कृष्णी थारु र कांग्रेस सांसद रिना विश्वकर्माले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयनस्थल रहेको प्रदेशसभा भवनमा हिजो शनिबार १० बजे नै पुगेकी थारुले सुरूमै उम्मेदवारी दर्ता गराएकी थिइन् भने थारुपछि नेपाली कांग्रेस पार्टीको तर्फबाट रिना विश्वकर्माले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । उपसभामुखका लागि निर्वाचन आज हुँदैछ ।
माओवादीले सभामुख र एमालेले उपसभामुख लिने भागबण्डाका आधारमा सभामुख यसअघि नै चयन भइसकेका छन् भने उपसभामुख चयन गर्न आइतबार निर्वाचन हुँदैछ । प्रदेशमा वाम गठवन्धनको बहुमत भएकाले एमालेकी कृष्णी थारु उपसभामुख बन्ने निश्चित जस्तै छ । ८७ सांसद रहेको संसदमा वाम गठबन्धनसँग ६१ र कांग्रेससँग १९ मात्र सांसद् छन् । संविधानको धारा १८२ को उपधारा १ बमोजिम उपसभामुख चयन हुन लागेको हो ।
एमालेद्वारा ह्वीप जारी
एमाले प्रदेशसभा–५ को संसदीय दलको कार्यालयले गठबन्धनबाट निर्वाचित सांसदहरुलाई आइतबार बस्ने प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले शनिबार प्रेस विज्ञप्ति जारी गरी सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप गरेका हुन् । उपसभामुख चयन जस्तो महत्वपूर्ण कार्यसूची रहेको र मत विभाजनसमेत हुनसक्ने अवस्था भएकाले सांसदहरुलाई तोकिएको समयमै अनिवार्य उपस्थितिका लागि सूचित गरिएको जनाउँदै नेता ढकालले प्रदेश ५ का सबै जिल्लाका गठबन्धनका सांसदहरुलाई आइतबारको बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरिएको बताए ।
प्रतिक्रिया