हेमन्त र पदम गिरफ्तार हुँदा एमाले कार्यकर्तामाथि खतरा !

हेमन्त र पदम गिरफ्तार हुँदा एमाले कार्यकर्तामाथि खतरा !


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवम् स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट्ब्यूरो सदस्य पदम राई ‘विकास’लगायत सरकारद्वारा गिरफ्तार गरिएका करिव आधा दर्जन नेताहरुलाई रिहा गर्न सो पार्टीले माग गरेको छ । नेताहरुको रिहाई नभए त्यसको परिणाम गम्भीर हुने चेतावनी नेकपाले दिएको छ ।

आफूहरुले शान्तिपूर्ण राजनीतिक कार्यक्रम गरेको दाबी गर्दै सो पार्टीका प्रवक्ता प्रकाण्डले प्रहरी प्रशासनले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरेर पार्टीका नेताहरुलाई गिरफ्तार गरिएको भन्दै विरोध गरेका छन् ।

प्रहरी हस्तक्षेप, दमन र घेराबन्दीले पार्टीलाई आक्रोशित बनाएको र यस्तो रवैया जारी राखे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुनुपर्ने प्रकाण्डको चेतावनी छ । गिरफ्तार नेताहरुको तत्काल रिहा गर्न उनले माग गरेका छन् ।

ज्ञात रहोस्, नेकपाको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न विराटनगर जाँदै गर्दा बाटोमै उल्लिखित नेताहरु गिरफ्तारीमा परेका थिए । नेताहरुलाई गिरफ्तार गरेको मात्र नभई अन्य कार्यकर्तालाई पनि कार्यक्रममा सहभागी हुनबाट वञ्चित गरिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा आफ्ना नेताहरुलाई गिरफ्तार गरेको नेकपाले आरोप लगाएको छ । साथै तत्काल रिहा नगरे गाउँगाउँबाट एमालेका नेता–कार्यकर्ता लखेट्ने चेतावनी दिएर उक्त पार्टीले राजनीतिक मुठभेड निम्त्याउने संकेत दिएको छ ।