दीर्घकालीन योजनासहित अब पौडीले गति लिन्छ-अशोक बज्राचार्य

दीर्घकालीन योजनासहित अब पौडीले गति लिन्छ-अशोक बज्राचार्य


(अध्यक्ष, नेपाल पौडी सङ्घ)
विगत साढे चार दशकदेखि नेपाली खेलकुदको विकासमा अहोरात्र खटेका उहाँ अहिलेसम्म थाक्नुभएको छैन । फुटबल खेलाडीको रूपमा खेलकुदमा हामफालेका उहाँ आफ्नो जमानाका चर्चित राष्ट्रिय गोलकिपर हुनुहुन्थ्यो । फुटबलमा लामो समय रगत–पसिना बगाएपछि ०३८ सालदेखि उहाँ पौडी खेलको विकासमा लाग्नुभएको थियो । पौडी सङ्घमा सहसचिव भएर भित्रिएका उनी त्यहाँ महासचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । उनै चर्चित खेलाडी तथा पदाधिकारी जसले खेलकुदका विभिन्न निकायमा आफ्नो प्रभावशाली भूमिका र उपस्थिति देखाइसकेका छन् उनी अर्थात् अशोक बज्राचार्यसँग पौडी खेलको विगत, वर्तमान र भविष्यको योजनाबारे घटना र विचारले गरेको कुराकानी प्रस्तुत गरिएको छ :
– लामो समयदेखि पौडी सङ्घमा कार्यरत हुनुहुन्छ, पौडीलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
० सर्वप्रथम हिजो र आजको पौडी खेलको तुलना गर्दा आकाश–जमिनको फरक छ । अन्तर्राष्ट्रियस्तरमा पौडीले ठूलो फड्को मारिसकेको अवस्थामा नेपालको चर्चा गर्दा दिन प्रतिदिन लोकप्रियताकोे शिखरमा चढ्दै गएको मैले महसुस गरेको छु । त्यसबेला उपत्यकामा मात्रै सीमित रहेको पौडी खेल अहिले भौतिक पूर्वाधारसम्पन्न जिल्ला चितवन, पोखरा, वीरगञ्ज र धरानलगायत विभिन्न जिल्लामा बृहत् रूपमा विकास एवम् विस्तार भएको छ । जसले गर्दा ती जिल्लामा मात्र नभई समग्र पौडी खेलको विकास र विस्तार भएको मेरो ठम्याइ छ । अब हाम्रो उद्देश्य भनेको समग्र पौडी खेलाडीलाई समेटेर उचित प्रशिक्षण दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई राष्ट्रको प्रतिष्ठा बढाउनु हो ।
– नेपालमा पौडी खेलको लोकप्रियता दिनदिनै बढ्दै गए पनि यो खेलले सोचेबमोजिम फड्को मार्न नसक्नुको कारण के होला ?
० हो, अहिले नेपालमा पौडी खेलको विकासले राम्रो गति लिएको छ । तर, विडम्बना ! पौडी खेलको विकासका लागि जसरी बाह्रै महिना पौडीपोखरी सञ्चालन हुनुपर्ने थियो त्यो हुन सकेको छैन । यसको मुख्य कारकतत्व भनेको सुविधासम्पन्न हिटिङ स्विमिङ पुल नहुनु हो । यदि हिटिङ स्विमिङ पुल भएको खण्डमा खेलाडीलाई बाह्रै महिना प्रशिक्षण तथा प्रतियोगितालाई निरन्तर रूपमा सञ्चालन गर्न सकिन्थ्यो । अहिले यही कुराको अभावले गर्दा खेलाडी ६ महिना खेल्ने र ६ महिना आराम गर्ने हाम्रो परम्परा बनिसकेको छ । र पनि, हामीले वर्तमान अवस्थामा भएका पौडीका पूर्वाधारलाई प्रयोग गरी नियमित रूपमा प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरी खेलाडीलाई अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता गराउँदै आएका छौँ । जसले गर्दा विभिन्न कठिनाइका बाबजुद पनि खेलाडीले केही इभेन्टमा हरेक वर्ष नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । जसलाई हामीले गरेको मिहिनेतको प्रतिफल पनि मानेका छौँ ।
– तपाईंले बारम्बार हिटिङको व्यवस्था हुनुपर्छ, अन्यथा पौडी खेलको स्तरमा वृद्धि हुँदैन भन्दै आए पनि सम्बन्धित निकायले यो कुराप्रति चासो नदेखाउनु र उदासीनता प्रकट गर्नुलाई कसरी लिनुभएको छ ?
० म पौडी सङ्घमा विगत लामो समयदेखि कार्यरत रहेको व्यक्तिको नाताले हिटिङको बारेमा बारम्बार कुरा उठाउँदै आएको सत्य हो र अहिले पनि यो कुरालाई मैले प्रमुख मुद्दा बनाएको छु । तर, दुर्भाग्य सरकारले खेलकुदलाई हेर्ने दृष्टिकोण र राष्ट्रिय खेलनीतिको अभाव र कार्यान्वयनको पक्षमा भएको ढिलासुस्तीले गर्दा त्यसको प्रत्यक्ष प्रभाव पौडी खेलमा पनि परेको मैले महसुस गरेको छु । तर, हाल सङ्घले उठाएको यो मुद्दामा राखेप गम्भीर बनेकोले केही आशा भने पलाएको छ ।
– पौडी खेलको विकासक लागि सरकार र राखेपले कस्तो भूमिका निर्वाह गर्नुपर्छ जस्तो लाग्छ ?
० वास्तविक रूपमा भन्नुपर्दा समग्र पौडी खेलको सम्बन्धित सङ्घलाई नै पहिलो प्राथमिकतामा राखेर जिम्मेवारी दिनुपर्छ । पौडी खेलको विकासप्रति सङ्घको अहम् जिम्मेवारी भएकाले हाम्रो आफ्नै कार्यक्रम र योजना छ, जुन कार्यान्वयनका लागि राखेपले सहयोग गर्नु आवश्यक छ । जसका लागि प्राइम टाइम अर्थात् १० बजेदेखि तीन बजेसम्म परिषद्को व्यवस्थापनमा पौडीपोखरी सर्वसाधारणका लागि सञ्चालन भए पनि अन्य समय पौडी खेलको विकासका लागि सङ्घलाई दिनुपर्छ ।
– तपाईंले बिहान र बेलुकीको समयको माग गर्नुभयो, आखिर उक्त समयमा सङ्घले के गर्ने योजना बनाएको छ ?
० अवश्य पनि हामीसँग योजना भएकै कारणले उक्त समयको माग गरेका हौँ । यदि सो समयमा हामीले हाम्रो योजनाअनुरूप विभिन्न विद्यालयका करिब एक हजार विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी प्रशिक्षण सञ्चालन गरी पौडी खेलको आधार बनाउन सक्छौँ । जसले पौडीमा प्रतिस्पर्धा बढ्नुको साथै थुप्रै प्रभावशाली खेलाडी जन्मने कुरामा सङ्घ विश्वस्त छ । जसले गर्दा पौडी खेलमा उत्कृष्ट वातावरणको सिर्जना भई विभिन्न प्रायोजकलाई समेत आकर्षण र सहयोगीको भूमिकामा ल्याउन सकिन्छ ।
– पौडी खेलतर्फ युवाको आकर्षण बढे पनि आफ्नो भविष्यप्रति विश्वस्त हुन सकेका छैनन्, यसप्रति सङ्घले कस्तो रणनीति बनाएको छ ?
० यही कुरालाई मध्यनजर राख्दै हामीले उनीहरूको भविष्य सुनिश्चितका लागि विभिन्न उपायको अवलम्बन गरेका छौँ । जस्तै खेलाडी कल्याण कोषको स्थापना, नोकरीको व्यवस्था र उत्कृष्ट छात्रवृत्तिको व्यवस्था मिलाउने प्रबन्ध अगाडि बढाएका छौँ ।
– हालै सम्पन्न लन्डन ओलम्पिकमा श्रेया धिताल राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी छिन्, यसमा सङ्घको धारणा के छ ?
० कीर्तिमान कायम हुनु आफैँमा गर्वको कुरा हो, यसमा सङ्घले गर्व नगर्ने त कुरै आउँदैन । अझ ओलम्पिकजस्तो खेलको महाकुम्भमा श्रेयाले कीर्तिमान कायम गरेकोले यो मुलुककै लागि प्रतिष्ठाको कुरा बनेको छ । यसैले सङ्घले श्रेयालाई निकट भविष्यमै सम्मान गर्ने कार्यक्रम राखेको छ । अर्का सहभागी प्रसिद्धजंग शाहले राष्ट्रिय कीर्तिमान तोड्न नसके पनि अहिलेसम्मको आफ्नो समयमा सुधार गरेकोले हामी सन्तुष्ट छौँ । ओलम्पिकको तयारी कम्तीमा एक वर्षअघिदेखि हुनुपथ्र्यो तर यहाँ चार महिनादेखि मात्र शुभारम्भ भएको थियो । तसर्थ जस्तो तयारी त्यस्तै नतिजा हाम्रो भागमा परेको हो ।
– राष्ट्रियस्तरमा कीर्तिमानको झन्डा गाड्ने खेलाडी अन्तर्राष्ट्रियस्तरमा पहिलो हिटबाटै बाहिरिनुलाई के भन्नुहुन्छ ?
० सर्वप्रथम यो प्रश्नप्रति मेरो असहमति छ । जहाँसम्म पहिलो चरणबाटै बाहिरिएको प्रश्न छ, त्यसको वास्तविकता अहिलेसम्म कसैले बुझेकोजस्तो मलाई लागेको छैन । पहिलो हिटमा लगभग दुई सयजनाले सहभागिता जनाउने भए पनि १६ जनाले मात्रै सेमिफाइनलमा प्रवेश पाउँछन् । बाँकी एक सय ८४ जना पहिलो चरणबाटै बाहिरिन्छन् । त्यसैले स्वाभाविकै रूपमा श्रेया पनि सेमिफाइनलमा नपुगेको कारणले बाहिरिएकी हुन् ।
– बेलाबेलामा पौडी सङ्घ राजनीतिक हस्तक्षेपको सिकार भएको छ, तपाईं एक जिम्मेवार पदाधिकारीको हैसियतले यस्तो कार्यलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
० पौडी सङ्घ मात्र नभई कुनै पनि खेलकुद सङ्घमाथि राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने कुराको पक्षपाती हुँ म । मेरो रगतमा खेलकुद मात्रै बगेको हुनाले राजनीतिबाट म निकै टाढा छु । म कुनै राजनीतिक पार्टीमा आबद्ध छैन । र पनि मेरो कार्यकालकै समयमा पौडी राजनीतिक हस्तक्षेपको सिकार बनेको हुँदा मलाई निकै कुठाराघात भएको थियो । पछि त्यो कार्यलाई सदस्यसचिव युवराज लामाले पौडी खेलको विकासमा हस्तक्षेप भएको ठहर गर्दै दुवै सङ्घलाई बोलाएर निकास दिने कार्य गर्नुभएको थियो । जसले गर्दा अहिले दुवै सङ्घ एउटै भई पौडी खेलको विकासमा अगाडि बढिरहेको सबैलाई ज्ञात भएकै कुरा हो ।
– आगामी १२औँ सागको तयारीका लागि सङ्घले कस्तो पहल गरेको छ, यो प्रतियोगितामा पदक जित्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
० हामीले सागमा स्वर्ण पदक प्राप्त गरी राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गरेको सर्वविदितै छ । तसर्थ १२औँ सागलाई मध्यनजर गरी हालै सम्पन्न लन्डन ओलम्पिकको तयारीको सन्दर्भमा न्युजिल्यान्डका प्रशिक्षक एवम् नेपाली प्रशिक्षकहरूद्वारा संयुक्त रूपमा गत वैशाखदेखि निरन्तर रूपमा प्रशिक्षण सञ्चालन गर्दै आइरहेका छौँ । र, आउँदो असोज २० देखि २३ गतेसम्म यस सङ्घको आयोजनामा सञ्चालन हुन गइरहेको दोस्रो एनएसए कप स्विमिङ च्याम्पियनसिपको आधारमा १० खेलाडी छनोट गरी निरन्तर रूपमा वैदेशिक प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । यसका लागि १२औँ साग तयारी समितिले निरन्तर वैदेशिक प्रशिक्षण सञ्चालन गरेमा अवश्य पदक जित्नेमा म विश्वस्त छु ।
– समग्र पौडी खेलको विकासका लागि सङ्घले कस्तो दूरदर्शी योजना बनाएको छ, त्यो लागू गर्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
० हामीले २०१६ मा ब्राजिलमा आयोजना हुने ओलम्पिकलाई मध्यनजर गरेर कार्यक्रम बनाएका छौँ । जसमा १३औँ सागमा दुई स्वर्ण, एसियन एज च्याम्पियनसिपमा दुई स्वर्ण लक्ष्य राखिएको छ । त्यस्तै एकेडेमीको निर्माण, छात्रवृत्तिको व्यवस्था, हिटिङ स्विमिङ पुलको व्यवस्था र २५ सय खेलाडी उत्पादन गर्ने लक्ष्य बनाएका छौँ । साथै हामीले तर्जुमा गरेको दीर्घकालीन योजनामा राखेपको सकारात्मक सहयोग हुने विश्वास गरेका छौँ । यदि त्यस्तो भएमा दीर्घकालीन योजनासहित पौडीले गति लिनेमा म ढुक्क छु ।
– कुनै पनि खेलको विकासमा प्राविधिक शक्तिको महत्वपूर्ण भूमिका हुन्छ, यसमा तपार्इंको के राय छ ?
० तपाईंले एकदमै राम्रो प्रश्न गर्नु भो, प्राविधिक शक्तिलाई नजरअन्दाज गरेर कदापि अगाडि बढ्न सकिँदैन अर्थात् गन्तव्यमा पुग्न सकिँदैन । तसर्थ हामीले यो कुरालाई मनन गरी विशेष प्राथमिकतामा राखेका छौँ । सोहीअनुरूप वल्र्ड च्याम्पियनसिप, ओलम्पिक गेम र एसियन गेममा प्रशिक्षकलाई निरन्तररूपमा सहभागी गराउँदै आएका छौँ । जसले गर्दा उनीहरूले नयाँ–नयाँ ज्ञान हासिल गर्दै आएका छन् । त्यस्तै रेफ्री–जजहरूको पनि अहम् भूमिकालाई मनन गरी सङ्घले अन्तर्राष्ट्रिय पौडी सङ्घ फिना रेफ्री–जज क्लिनिक सञ्चालन गरी अन्तर्राष्ट्रियस्तरका आठ, एसियालीस्तरका आठ र राष्ट्रियस्तरका ५५ जना तयार पारेको छ । जसमा अन्तर्राष्ट्रिय निर्णायकको रूपमा जयप्रकाश गुरुङ, युवराज सुनुवार र राजमान तुलाधरले निर्णायकको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।

खेलाडीको पैसा खानेले राजिनामा दिनुपर्छ
राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदमा सुशासन विषयक प्रशिक्षण कार्यक्रम हालै सम्पन्न भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको उक्त कार्यक्रम खेलाडीलाई लक्षित गरी आयोजना गरिएको थियो । कार्यक्रममा न्यायपरिषद्का सदस्य उपेन्द्रकेशरी न्यौपानेले खेलकुदसम्बन्धी कानुन र ओलम्पिक तथा अन्तर्राष्ट्रिय समन्वयकर्ता रवि राजकर्णिकारले बेसिक प्रिन्सिपल अफ गुड गभर्नेन्स इन ओलम्पिक एन्ड स्पोर्टस्सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले यस्तो कार्यक्रमले खेलाडीको जीवनमा ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै खेलाडीको काँधमा बसेर राजनीति गर्नेलाई पाखा लगाउन सबैको साथ आवश्यक रहेको बताएका थिए । तिम्सिनाले लन्डन ओलम्पिकमा सहभागी अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका केही पदाधिकारीको कार्यले सिङ्गो राष्ट्रलाई लज्जित तुलाएको धारणा व्यक्त गर्दै उनीहरूले तत्काल राजीनामा नदिए आगामी दिनमा उनीहरूलाई खेलाडीले धिक्कार्ने बताएका थिए ।
राखेप सदस्यसचिव युवराज लामाले खेलाडी भएर खेलकुदको कानुन र ओलम्पिक मुभमेन्टबारे ज्ञान नभए खेलाडीरू निश्चित रूपमा शोषणमा पर्ने बताउँदै खेलाडीले आफ्नो अधिकारबारे पनि जान्न जरुरी भएको बताएका थिए । सदस्यसचिव लामाले लगानीबेगर उपलब्धि असम्भव भएको बताउँदै राखेपले केही खेलका राष्ट्रिय खेलाडीलाई विशेष प्रशिक्षणमा राखी मासिक रूपमै भत्ता प्रदान गरी खेलाडीमाथि लगानी गर्ने प्रक्रियाको थालनी गरिसकेको बताएका थिए ।
सदस्यसचिव लामाले खेलाडीलाई एक हजार सात सय अमेरिकी डलर दिनुपर्नेमा पाँच सय डलर मात्र दिनु दु:खपूर्ण भएको बताउँदै १२ सय डलर खाने व्यक्तिमाथि खेलाडीले आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा समन्वयकर्ता राजकर्णिकारले बेइजिङ ओलम्पिकमा सहभागी खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले एक हजार सात सय डलर पठाएको भन्ने जानकारी गराइरहँदा बेइजिङ ओलम्पिकमै सहभागी भएका धावक अर्जुन बस्नेतले कार्यक्रममै आफूले पाँच सय डलर मात्र पाएको बताएका थिए ।

विश्व पर्यटन दिवसमा पर्यटकीय खेलकुद
नेपाल पर्वतीय खेलकुद महासङ्घले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । हालै आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्वतीय खेलकुद महासङ्घका महासचिव गोविन्द भट्टराईले उक्त कुराको जानकारी दिएका हुन् । महासङ्घले विश्व पर्यटन दिवस सेप्टेम्बर २७ को अवसर पारेर विभिन्न आठ खेल सञ्चालन गर्न लागेको हो । तीमध्ये काठमाडौंमा पाँच किलोमिटर सडकदौड, खुला एथलेटिक्स च्याम्पियनसिप, माउन्टेनबाइक च्याम्पियनसिप, ट्रायथलन च्याम्यिनसिप र स्पोर्टस् क्लाइम्बिङ च्याम्पियनसिप रहेका छन् । त्यसैगरी पोखरामा र्‍याफ्टिङ तथा केनोइङ सञ्चालन हुनेछ भने काठमाडौं–ताप्लेजुङ, काँकडभिट्टा– काठमाडौं मोटरसाइकल जर्नी हुने भएको छ ।
सबै खेल विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमश: २०, १५ र १० हजार नगद पुरस्कार दिइने छ । प्रतियोगिता सञ्चालनका लागि १५ लाख ८३ हजार लाग्ने आयोजकले बताएको छ ।

भारतलाई दोहोरो उपाधि
प्रथम दक्षिण एसियाली सेपाक ताक्रो प्रतियोगिताको रेगु र डबल ताक्रोको दुवै उपाधि भारतले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रेगुको फाइनलमा भारतले नेपाललाई १५–६, १७–५ र १६–१४ ले पराजित गरेको थियो । पाकिस्तान र बंगलादेश संयुक्त रूपमा तेस्रो भए । डबल ताक्रोको राउन्ड रोविन लिगमा भारत आठ अङ्कसहित शीर्ष स्थानमा रह्यो । ६ अङ्कसाथ नेपाल दोस्रो तथा बंगलादेश चार अङ्कसाथ तेस्रो स्थानमा रहे । नेपाल सेपाक ताक्रो सङ्घद्वारा आयोजित प्रतियोगितामा नेपाल, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच राष्ट्रका खेलाडीले सहभागिता जनाएका थिए ।

लैनचौर टिम च्याम्पियन
आयोजक लैनचौर शाखा डोजोले प्रथम गिरिजाप्रसाद कोइराला स्मृति यु–१४ जुनियर तथा क्याडेट सितोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन बन्न सफल लैनचौरले सात स्वर्ण, सात रजत र नौ कास्य जितेको थियो । त्यस्तै तीन स्वर्ण, दुई रजत र एक कास्य जितेको गोठाटार डोजो दोस्रो भएको थियो । लैनचौरका जोरख चालिसे प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई नेपाल कराते डो महासङ्घ एवम् नेपाल सितोरियो कराते डो सङ्घका अध्यक्ष दावा गुरुङले पुरस्कार प्रदान गरेका थिए । उक्त अवसरमा करातेको विकास र विस्तारमा योगदान पुर्‍याएबापत प्रशिक्षक राजेन्द्र कपाली तथा सिंगापुरमा भएको सिंगापुर खुला कराते च्याम्पियनसिपमा कास्य पदक जितेका पर्शुराम बास्तोलाईलाई नगदसहित सम्मान गरिएको थियो ।

एलए पौडीमा एलए च्याम्पियन
आयोजक लिटिल एन्जल्स स्कुलले १३औँ एलए अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन एलएले कुल एक सय ४१ अङ्क प्राप्त गरेको थियो । दोस्रो भएको लिङ्कनले एक सय २४ स्कोर र तेस्रो स्थानमा रहेको द ब्रिटिस स्कुलले ४५ अङ्क बटुलेको थियो । प्रतियोगिताको समापनका अवसरमा सहभागीमध्ये सबैभन्दा कान्छा प्यारागनका ६ वर्षीय खेलाडी आदर्श कार्कीलाई पुरस्कार प्रदान गरिएको थियो । दुईदिने प्रतियोगितामा विभिन्न ३८ विद्यालयका दुई सय ९५ खेलाडीले कुल ४० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।