क्यासिनोमाथि कर्केनजर किन ?-वसन्तराज कुँवर

क्यासिनोमाथि कर्केनजर किन ?-वसन्तराज कुँवर


म गत साल अमेरिका र क्यानडाको सीमामा रहेको नाएग्रा फल्स -झरना) हेर्न पुगेँ । एकापििट्ट अमेरिका पर्दोरहेछ भने खोलापारि क्यानडा । क्यानडापििट्ट खोलाको सिमानामा आकर्षक गगनचुम्बी भवनहरू उभिएका थिए । मैले बिजुलीबत्तीले आकार दिइएको अक्षरहरू पढेर थाहा पाएँ कि ती क्यासिनो रहेछन् । त्यहाँ एकथरी मानिसहरू वैध तरिकाले जुवा खेलेर राज्यलाई कर तिर्न र मनोरञ्जन गर्न आउँदा रहेछन् । त्यो विशाल क्यासिनोमा पाँचतारे होटल पनि रहेछ । मैले नेपालका भुँइतल्लामा चलेका साना लुते क्यासिनोहरू मात्र देखेको थिएँ तर क्यासिनो त्यति विशाल हुन्छन् भन्ने मलाई थाहा थिएन । अमेरिका भ्रमणकै क्रममा म लसभेगस पुगेँ । त्यहाँ त क्यासिनोको सहर नै रहेछ । संसारभरिबाट पैसा पोख्न पुग्ने त्यो सहर मरुभूमिमा बनेको रहेछ । काम नलाग्ने जमिनलाई सरकारले त्यसरी क्यासिनो बनाउने रणनीति गरी व्यापारिक स्थलमा परिवर्तन गरेको रहेछ ।
त्यो देखेपछि मैले बुझेँ कि अमेरिका संसारकै सम्पन्न मुलुक बन्नुको पछाडि क्यासिनोको पनि भूमिका रहेछ । त्यही क्यासिनोकै कारण लसभेगसमा ठूलाठूला होटल छन्, सहर छ, विशाल विमानस्थल छ र लाखौँ मानिसको बस्ती पनि बसेको छ ।
हालै मेरा एक नातेदार मकाउको क्यासिनोमा जागिर खान गए । उनका अनुसार पोर्चुगिजको शासन भएदेखि नै त्यहाँ क्यासिनो रहेछ । चीनले मकाउ लिएपछि पनि क्यासिनोहरू बिगारेनछ, बरु अझै सुविधाहरू दिएर आम्दानीको स्रोत बढाउने काम गरेछ । उनले अचम्म मान्दै मलाई भने- मकाउले चाइनाका लागि राम्रो राजस्व दिने गर्दो रहेछ ।
जब म प्रहरीमा अधिकृत थिएँ, केही समय उपत्यकामा कार्यरत भएँ । मैले सुन्ने गर्थें कि प्रहरीले काठमाडौंका क्यासिनोहरूबाट मासिक रकम लिने गर्दछन् । त्यसबखतका एक डीआईजी जो मेरा हाकिम थिए उनलाई मैले यो कुरा सोधेँ । उनले हाँसेर टारे । म आफूले भने उपत्यकामा रहँदा कहिले पनि क्यासिनोको रकम खाने-लिने काम गरिनँ । त्यसबखत म प्रहरीमा काम गर्दा क्यासिनोहरूलाई केवल जुवा खेलाएर व्यक्तिगत आम्दानी गर्ने थलो हो भन्ने मात्र ठान्दथेँ तर अवकाशपश्चात् जब म संसार घुमेँ त्यसपछि मात्र मैले थाहा पाएँ कि राज्यको आधुनिकीकरण र विकासमा क्यासिनोको पनि आफ्नो छुटि्टै भूमिका हुँदोरहेछ ।
नेपालमा फुच्चे भुइँतलामा चलेका केही क्यासिनो छन् तर अहिले म देख्दै छु कि बुझेर हो वा नबुझेर हो गृहमन्त्री, प्रहरी र प्रेस तथा त्यहाँका कर्मचारी तथा राजनीतिक भ्रातृ सङ्गठनहरूसमेत मिलेर त्यसलाई नष्ट पार्न खोजिरहेका छन् । म हरेक दिन सुन्छु- क्यासिनोको मालिक वा म्यानेजर पक्राउ परे, नेपालीहरू समातिए आदि-आदि । त्यस समय मलाई उदेक लाग्छ । के नेपालमा गृहमन्त्रीदेखि प्रहरीसमेतले टाउको दुखाउनुपर्ने यही एक क्षेत्र मात्र छ – के गृहमन्त्री भनाउँदाहरू संविधान बनाउन नसक्ने, प्रहरीहरू दिनदिनै हुने अपहरण र लुटपाट, चोरी अनि हत्या र दुर्घटना रोक्न नसक्ने, राजनीतिक दलका भ्रातृ सङ्गठनहरू नयाँ-नयाँ रोजगारका क्षेत्रहरू स्थापना गर्न सरकारलाई दबाब दिन नसक्ने तर हजारौँ मानिसलाई रोजगार दिइरहेको कानुनबमोजिम खुलेका क्यासिनोहरूमा हात हाल्न भने सबैलाई ठूलो इच्छा किन हुने – के अहिले प्रहरी र गृहमन्त्रीले प्राथमिकता दिनुपर्ने ठाउँ यही हो त – मेरो विचारमा यसरी जाँगर चल्नुको पछाडिको एउटै कारण के हुनुपर्छ भनेे क्यासिनोबाट आउने कमिसनको खेल ।
यद्यपि यो लेख लेख्दा मान्छेलाई लाग्ला म जुवाको समर्थक हुँ । म त्यो होइन तर क्यासिनोमा नेपाली छिर्छन् भन्ने नाममा क्यासिनो संस्थालाई नै नष्ट गर्नु भने हुँदैन । प्रहरीमा घुस खानेहरू होलान् तर त्यसको मतलब के प्रहरी कार्यालय नै बन्द गराउने – गृहमन्त्रीहरू कमिसन खान्छन् त्यसको मतलब के गृह मन्त्रालयमा ताला लगाउने – समाजमा जुन उद्देश्यका लागि कुनै संस्था बनेको छ त्यो उद्देश्यअनुसार नचलेको अवस्थामा अनुगमन हुनुपर्छ तर बन्दै गराउने गरी प्रहरी र गृहले जसरी क्यासिनोविरुद्ध काम गरिरहेका छन् म त्यसको समर्थक होइन ।
कुनै पनि निष्कर्षमा पुग्नुभन्दा पहिले हामीले के बुझ्नुपर्छ भने संसारमा क्यासिनो खोल्ने दुईवटा अवधारणा छन् । पहिलो क्यासिनोको लाइसेन्स पाएकाहरूलाई पाँचतारे होटलको लाइसेन्स पनि दिइन्छ र दोस्रो पाँचतारे होटलको लाइसेन्स पाएकाहरूलाई क्यासिनोको लाइसेन्स दिइन्छ । नेपालको हकमा पाँचतारे होटल भएकाहरूलाई क्यासिनोको लाइसेन्स दिइएको छ जसका खास कारण छ । नेपालमा जब तीस-पैँतीस वर्ष अगाडि पर्यटकहरू भित्र्याउने नीति बन्यो, त्यसका लागि पूर्वाधारको रूपमा पाँचतारे होटलहरू पनि खुल्न जरुरी थियो । पाँचतारे होटलहरू खोल्न ज्यादै ठूलो लगानी हुने गर्दछ । त्यसबखत सरकारले पर्यटक भित्र्याउन पाँचतारे होटलहरूलाई लगानी गर्न उत्साहित गर्दै विशेष सुविधाको रूपमा क्यासिनो पनि चलाउन पाउने लाइसेन्स दिने निर्णय गर्‍यो । नेपालजस्ता मुलुकमा यदि पाँचतारे होटल चलेन भने लगानी डुब्ने सम्भावना रहन्थ्यो नै, त्यसैले लगानीकर्तालाई सुरक्षित महसुस गराउन पाँचतारे होटलहरूलाई क्यासिनो चलाउने स्वीकृति दिइएको थियो ।
जब पाँचतारे होटलमा क्यासिनो चल्न थाल्यो कतिपय पर्यटकहरू क्यासिनोमै खेल्न भनेर नेपाल आउन थाले । अहिले हरेक क्यासिनोले झन्डै ५०० देखि ८०० सम्म कर्मचारीहरूलाई रोजगार दिइरहेको छ । हरेक क्यासिनोले वारि्षक २ करोड लाइसेन्स फी सरकारलाई तिरिरहेको छ । क्यासिनो एउटा कानुनी रूपले जुवा खेल्ने स्थान भएको छ । जसले राजस्व पनि तिर्ने गर्छ । नेपालमा हजारौँ-लाखौँ साना-ठूला जुवा चलिरहेका खालहरू होलान् तर त्यहाँबाट रोजगार वा राजस्व जम्मा भएको छैन । तर, क्यासिनोले रोजगार र राजस्व दुवै दिइरहेको छ । पर्यटकहरू आकरि्षत गरेको देखेर नै होला होटल साङ्ग्रिला र मल्लजस्ता होटलले आफ्नो क्षमता बर्ढाई चारतारेबाट पाँचतारे बनाएर क्यासिनो थपे । एकप्रकारले भन्ने हो भने त्यो राज्यका लागि राम्रै कुरा थियो ।
क्यासिनोको दसा तब सुरु भयो जब यसको सञ्चालनको नियम स्पष्ट भएन । यसको सुरुवातमा नेपालीलाई खेल्न निषेध गरियो । झन्डै ३५ वर्षअघि क्यासिनो सुरु हुँदा नेपाली आफ्नै आँगनमा तास र कौडा खेल्न रुचाउँथे । क्यासिनो जाने संस्कार थिएन । बिस्तारै-बिस्तारै जब समाज आधुनिक भयो नेपालीले देखे अमेरिकाको लसभेगसमा अमेरिकन जान पाउँछन्, मकाउमा चिनियाँहरू जान पाउँछन्, अरू देशमा त्यस देशका नागरिक जान पाउँछन् भने यहाँ हामी किन जान नपाउने –
नेपालीलाई क्यासिनोसम्बन्धी ज्ञान पनि भयो, जान सक्ने हैसियत पनि भयो र आँगनमा तास र कौडा खेल्नुभन्दा यो व्यवस्थित जुवा खेल्ने ठाउँमा उनीहरूलाई जान मन पर्न थाल्यो । जब नेपाली क्यासिनो जान थाले त्यतिबेला क्यासिनोले नेपाली चाहेका थिएनन् । नेपालीलाई बोलाएका पनि थिएनन् । पहिले नेपालीलाई रोक्ने काम त्यहाँको सुरक्षागार्डको थियो तर सुरक्षागार्डहरूले अलिअलि पैसा लिएर नेपालीलाई छिराइदिन थाले ।
क्यासिनोमा खाना र डि्रङ्क्स फोकटमा पाइने भएपछि त्यहाँ जाने नेपालीको चाप बढ्यो । त्यसपछि नजिकका प्रहरीले बुझे कि नेपाली छिर्दै छन् । त्यसपछि तिनले पनि च्याँखे थापेर मासिक कमिसन माग्न थाले । क्यासिनोको मासिक कमिसन खान प्रहरीहरू त्यहाँ सरुवा पाउन मन्त्रीकहाँ पनि पुग्न थाले । बिचरा क्यासिनोले सबैलाई अलि-अलि छुट्याउन जरुरी भयो । गुण्डा र डनहरू के कम तिनले पनि क्यासिनोबाट फाइदा खोजे । थोरै भाग तिनले पनि पाए । राजनीतिक दल र भ्रातृृसङ्गठन चन्दा माग्न त्यहीँ पुगे । बाँच्नका लागि क्यासिनोले तिनलाई पनि पूजाआजा गर्न जरुरी भयो । हेर्दाहेर्दै यही नेपाली छिरेकै आधारमा क्यासिनोले सयौँ सरकारी कर्मचारी, राजनीतिक व्यक्ति र प्रेससँग सम्बन्धित मानिसलाई समेत महिनावारी दिनुपर्ने अवस्था बन्यो । ज-जसले क्यासिनोबाट कमिसन लिन्थे वा लिन्छन् तिनीहरूमध्ये कसैले पनि नेपालमा क्यासिनो कसरी आयो र यसको राष्ट्रिय अर्थतन्त्रमा के भूमिका छ भन्ने बुझ्न चाहेनन् । सबैको शोषणको केन्द्रबिन्दु बन्न पुग्यो क्यासिनो । रकम पाए ठीक छ नत्र दुःख दिन्छु भन्ने नै नीति रह्यो सबैको । प्रहरीहरूमा त क्यासिनोमा नेपाली रोक्ने र जान दिने आधारमै राम्रा र नराम्रा अघधिकृत हुन्छन् भनेर हल्ला पनि चलाइयो । अहिले झन् क्यासिनो राजनीतिक भ्रातृ सङ्गठनको भर्तीकेन्द्र भएपछि त त्यसको अस्तित्व पार्टीको जागिर खुवाउने थलोबाहेक अरू केही भएन । अझै पनि क्यासिनो हरेक दिन पीडित मात्र होइन समाप्तितिर जाँदै छ । माकुराका बच्चाहरूले आमाकै मासु खाएझैं क्यासिनोलाई सबैले खाएर मृत्युनजिक पुर्‍याएको देखिन्छ ।
म यस अवस्थामा यही भन्छु कि सरकारले क्यासिनो सञ्चालनको स्पष्ट नियम बनाओस् र धेरै मन्त्रालयको खेल्ने ठाउँ यसलाई नबनाओस् । हिजो पशुपतिमा सबै जात जान पाउँदैनथे आज जान पाउँछन् । हिजो पशुपतिमा क्रिश्चियनको समाधि बन्दैनथ्यो, आज बन्छ । हिजो लवेदा-सुरुवाल नलगाई संसद् भवनमा जान पाइँदैनथ्यो तर आज पाइन्छ । हिजो कमैया थिए, आज छैनन् । हिजो राणाको पालामा सबैले पढ्न पाउँदैनथे आज पाउँछन् । समयसँगै जरुरी समाजका नियम, परम्परा बदलिएका छन् त्यसैगरी अब क्यासिनोमा नेपाली छिर्न पाउनेगरी नियम बनाइयोस्, बरु खेल्न सुविधा खोज्नेहरूका लागि विशेष राजस्व तिर्नुपर्ने व्यवस्था होस् । सक्नेलाई जान दिनुस् र जानु उचित छैन भनेर चेतना पनि जगाउनुहोस् । एउटा क्यासिनोमा करोडौँ लगानी हुन्छ । त्यसको पछाडि होटलको जीवन गाँसिएको हुन्छ । त्यसको सञ्चालनसँग पर्यटकहरूको आवागमन जोडिएको हुन्छ । त्यस्तो स्थानलाई कमिसन वा जुँगाको लडाइँ बनाएर नष्ट नगर्नुहोस् । त्यसलाई राजनीतिक भर्तीकेन्द्र वा कमाइखाने भाँडो पनि नबनाउनुहोस् । आज राजनीतिक दल देख्दा मान्छेहरूलाई घृणा लाग्छ तर पनि राजनीतिक दल समाजमा चाहिन्छ । आज प्रहरीहरू देखेर दिक्क हुने पनि समाजमा प्रशस्त मान्छेहरू छन् तर पनि प्रहरी संस्था चाहिन्छ । त्यसैगरी छोराछोरीले क्यासिनो गएर दिक्क भएका परिवारलाई क्यासिनो मन नपर्ला तर पनि एउटा आधुनिक मुलुकमा क्यासिनो चाहिन्छ ।
आज क्यासिनोमाथि प्रहार भएको कुनै राष्ट्रिय हितको सोचले नभई नितान्त रूपमा व्यक्तिगत शोषण गर्ने मनसायले भएको छ । नेपाली रोक्ने भए बाहिरै नेपाली समातिदिए भइहाल्यो नि † नेपालीलाई नजान पत्रपत्रिकामा राज्यले सूचना निकाले भइहाल्यो नि † क्यासिनोभित्र किन आक्रमण गर्ने † पुलिसको उच्च अधिकृतको घरमा चोरले चोरी गर्न सक्छ भने राजनीतिक व्यक्ति र नेताका घरमा हत्याराहरू लुक्न सक्छन् भने सार्वजनिक स्थान क्यासिनोमा कुनै नेपाली छिरे भनेर के अचम्म मान्नु ।
क्यासिनोमाथि आक्रमण गर्ने प्रहरी र गृहमन्त्रीले सबैभन्दा पहिले बझ्नुपर्छ कि जसरी तपाईंहरूलाई मन नपराए पनि देशमा गृहमन्त्री र प्रहरी संस्था चाहिन्छ त्यसैगरी पर्यटन विकासका लागि क्यासिनो पनि चाहिन्छ । बरु तपार्इंहरूले क्यासिनोसँग कुन-कुन कुरामा सहयोग चाहिने हो त्यो माग्नुस् र कुन-कुन नियम परिवर्तन गरिदिनुपर्ने हो त्यो गरिदिनुस् । क्यासिनो पनि मुलुकको आवश्यकता हो जसले विदेशी मुद्रा भित्र्याउँछ । त्यो संस्थालाई उसको उद्देश्यअनुसार चल्न दिनुस्, मर्न नदिनुस् । बरु तपाईंहरू आफूचाहिँ क्यासिनोबाट कमिसन खाने काम नगरिदिनुहोस् ।