वीरगञ्जलाई राजधानी बनाउने प्रयत्न जारी, वार्ता असफल

वीरगञ्जलाई राजधानी बनाउने प्रयत्न जारी, वार्ता असफल


प्रदेश नं २ को प्रादेशिक राजाधानीको विषयमा मुख्यमन्त्रीको कार्यालयका प्रतिनिधि र वीरगञ्ज राजधानी संघर्ष समितिबीच मंगलबार भएको वार्ता बिनानिष्कर्ष टुगएको छ । वार्तामा सहभागी वीरगञ्ज संघर्ष समितिका प्रतिनिधिहरुले वीरगञ्जलाई नै प्रादेशिक राजधानी बनाइनुपर्ने अडान नछोडेपछि वार्ता बिनानिष्कर्ष सकिएको जनाइएको छ ।

वार्तामा सहभागी मुख्यमन्त्री कार्यालयका प्रतिनिधि भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्रप्रसाद सोनलले पुनः वार्तामा बस्ने गरी वार्ता टुङ्गिएको जानकारी दिए । वीरगञ्जको होटेल विश्वमा दुवै पक्षबीच अहिलेसम्मको वार्ता सकारात्मक नै रहेको मन्त्री सोनलले जानकारी दिए ।

मुख्यमन्त्रीको कार्यालयले आह्वान गरेको वार्ताको पहल सकारात्मक भएको भन्दै वीरगञ्ज राजधानी संघर्ष समितिले पनि स्थानीय सरकारसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेर वार्तामा सहभागी भएको थियो । संर्घष समितिका तर्फबाट संयोजक एवं पूर्वमन्त्री सुरेन्द्र चौधरी, सह–संयोजक राजकुमार गुप्ता, बसरुद्दिन अंसारी, शम्भु गुुप्ता, अरविन्द गुुप्ता, मनोज चौधरी, बाबुराम कौशिक लगायत वार्तामा बसेका छन् । यसैबीच वीरगन्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने मागसहित गत डेढ महिनादेखि आन्दोलन र एक महिनादेखि जारी रिले अनसन जारी रहेको र माग पुरा नभएसम्म जारी नै रहने संघर्ष समितिले जनाएको छ ।

– प्रणय साह