– पुरुषोत्तम ढकाल, लसएन्जलस
सूचना र प्रविधिले ल्याएको युगान्तकारी परिवर्तनसँगै दुई महाशक्ति राष्ट्र अमेरिका र रुसको युद्धशैलीमा आएको डिजिटल युगको रोमाञ्चक र अनौठो सत्यको सामना गर्न तयार हुनुपर्ने अवस्था आएको छ । अर्थात् ९० को दशकमा सोभियत युनियनको पतन हुनुअघि दुनियाँ दुई ध्रुवमा जसरी विभक्त थियो २१औँ शताब्दीको सूचना र प्रविधिको यो युगमा पनि यिनै दुई महाशक्ति राष्ट्र अमेरिका र रुस असङ्ख्य बख्तरबन्द गाडी, हजारौँ सेना र युद्धविमानको आकाशे होडबाजी नभई सामाजिक सञ्जालमार्फत डिजिटल शीतयुद्धमा सामेल भएका छन् । हो, यतिबेला अमेरिका र रुसबीच अघोषित शीतयुद्ध अर्थात् डिजिटल शीतयुद्ध सुरु भएको छ । र, यो रोमाञ्चक मोडमा पुगेको छ ।
यसपटकको शीतयुद्धमा मान्छे प्रत्यक्ष सहभागी भएका छैनन् । दुई महाशक्ति राष्ट्रको डिजिटल शीतयुद्धमा मान्छेको स्थान र भूमिका बोट्सले लिएको छ र यो युद्ध तीव्र गतिमा अघि बढिरहेको छ अर्थात् कृत्रिम तरिकाले फर्जी ट्विट गरिएको दृश्य सामाजिक सञ्जालमा छताछुल्ल छ । अमेरिकी प्रतिद्वन्द्वी रुसी केजीबीका एजेन्टहरूको स्थान यतिबेला इन्टरनेट रिसर्च एजेन्सी, (आइआरए)ले लिएको छ ।
अमेरिकी सङ्घीय जाँच ब्युरो, (एफबीआई)ले अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको भन्दै १३ जना रुसी नागरिक तथा तीन कम्पनीलाई सप्रमाण आरोप लगाएको छ । शुक्रबार रबर्ट मूलरले रुसको आइआरएले पहिचान लुकाएर, नयाँ प्रविधिमार्फत अमेरिकाको बैंक तथा अमेरिकी निकायलाई धोखा दिएको र अमेरिकी जनमतलाई फर्जी तरिकाले प्रभावित पारेको आरोप सार्वजनिक गरेपछि दुई महाशक्ति राष्ट्रको डिजिटल शीतयुद्ध रोमाञ्चक मोडमा पुगेको तथ्य सतहमा आएको छ ।
यतिबेला अमेरिकाले मुख्य रूपमा रुसी रिसर्च एजेन्सी आइआरएलाई निशाना बनाएको छ । यसलाई ‘ट्रोल फर्म’ भनेर परिचित गराइएको छ ।
आरोपमा भनिएको छ, रुसको सेन्ट पिटसबर्गबाट सञ्चालित यो एजेन्सीले सामाजिक सञ्जाल (सोसल मिडिया)मार्फत राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनको विरुद्ध रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा फर्जी पोस्ट गरेर अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्ने काम गरियो ।
अभियोग पत्रमा भनिएको छ, ‘आइआरए राज्यसंरक्षित सङ्गठित संस्था हो जसले यस्तो कामका लागि आफ्नो बजेटको लाखौँ डलर खर्च गरेको छ । आइआरएको धेरै विभाग छन् जसले इन्टरनेटका फरक–फरक क्षेत्रमा काम गर्छन् । कतिपय विभाग मात्र सर्च इन्जिन अप्टिमाइजेसन र ग्राफिक्सको काम गर्छन् ।’
अमेरिकी अनुसन्धानकर्मीहरूको पहुँच आइआरएका एक अधिकारीको मेलसम्म पुग्न सफल भयो । अभियुक्त इरिना काबेर्जिनले आफ्नो परिवारको सदस्यलाई लेखेको इमेलमा भनिएको छ, ‘मैले यो सबै तस्बिर र पोस्ट तयार गरेँ जसलाई अमेरिकीहरूले उनीहरूकै मान्छेले लेखेको र पोस्ट गरेको भन्ने विश्वास भयो ।’ अनुसन्धानबाट अर्को रोचक तथ्य पनि बाहिरियो कि अमेरिकामा बसोवास गर्ने रुसी नागरिकले अमेरिकाको महत्वपूर्ण राज्यहरूमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा जनमत तयार गर्ने काम गरे । फर्जी कामका योजनाकारले आईआरएलाई पठाएको आन्तरिक सन्देशमा यतिसम्म भनिएको छ कि ‘पोलिटिक्स इन द यूएसए’ फोकस गरेर कन्टेन्ट पोस्ट गर्नु ।’ र, यिनै पोस्टमार्फत हिलारीको तीव्र आलोचना गरियो ।
अमेरिकी दाबीअनुसार मस्कोले आफ्नोअनुकूलको राष्ट्रपति निर्वाचित गरेर वासिङ्गटनमा उथलपुथल ल्याउने काम गरेको छ । उता रुसले यो दाबीलाई पूर्ण रूपले अस्वीकार गरेको छ । रुसी विदेशमन्त्री सेरगी लावारोवले म्युनिक सेक्युरिटी कन्फ्रेन्सलाई सम्बोधन गर्दै भनेका छन्, ‘अमेरिकी दाबीलाई लिएर मलाई कुनै प्रतिक्रिया दिनु छैन । यस्तो खालको बयान निरन्तर आइरहनेछ र तथ्य सामुन्ने नआउन्जेल यो मात्र बकवास हो ।’
म्युनिक सेक्युरिटी कन्फ्रेन्समै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लहाकार एचआर मेकमास्टरले भने, ‘अभियोगले स्पष्ट पारेको तथ्यलाई खारेज गर्न सकिन्न ।’ यद्यपि ह्वाइटहाउसस्थित उच्च अधिकारीले यो समाचारको खण्डन गर्दै गलत भएको प्रतिक्रिया दिँदै आएका छन् । तर, गत शुक्रबार सार्वजनिक भएको एफबीआईको अभियोगले स्पष्ट पार्छ कि यो विषय पूरै गलत भन्ने ह्वाइटहाउसस्थित उच्च अधिकारीहरू र रुसको दाबीमा सत्यता छैन ।

राष्ट्रपति ट्रम्पले ट्विट गरेर भनेका छन्, ‘रुसले अमेरिकाविरोधी अभियान २०१४ मा सुरु गऱ्यो । यो घटना मेरो राष्ट्रपति चुनावमा उम्मेदवार हुनुभन्दा धेरैअघिको कुरा हो । चुनाव परिणाममा यसले कुनै प्रभाव पारेको छैन । ट्रम्पको चुनावी अभियानमा कुनै पनि गलत काम भएको छैन र यस्तो खालको विरोधाभाषपूर्ण कार्य भएको थिएन र छैन पनि ।’
तर, यो विषय यतिमै सकिन्न । रुसले पहिचान लुकाउन सेल फर्म र आईडी चोर्नु अनि प्राइभेट नेटवर्क प्रयोग गर्नुले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी संलग्नतालाई थप संदिग्ध बनाएको छ र रुस र अमेरिकाको विश्वासको जग फेरि एकपटक डिजिटल शीतयुद्धमार्फत हल्लिएको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रभाव पार्ने संस्था रुसको आईआरएको नेतृत्व र काम :
मिखाइल वेस्त्रोव (सीईओ), अवकाशप्राप्त कर्नेल सेन्ट पिटसबर्ग प्रहरी । अभियोगपत्रअनुसार मिखाइल वेस्त्रोवले फेबु्रअरी २०१४ मा यो कम्पनी प्रवेश गरेर यसको नेतृत्व सम्हाले र कम्पनीको गतिविधि बढाउन सेल कम्पनीलाई आधार बनाए ।
मिखाइल बर्चिक (एक्जुकेटिभ डाइरेक्टर) : अभियोगपत्रअनुसार मिखाइल बर्चिकले योजनाको अप्रेसन मेनेजरको रूपमा नेतृत्व सम्हाले जसले अप्रेसनको योजना, संसाधन र प्रयोग गर्ने विधिबारे निगरानी राख्ने काम गरे ।
ट्रोल फेक्ट्री : यो रुसी राष्ट्रपति पुटिनको शहर सेन्ट पिटसबर्गमा रहेको छ । यो कम्पनीको मुख्य काम इन्टरनेट रिसर्च एजेन्सी, ब्लगर र अनलाइन कमेन्टरको सेवा लिँदै रुस र लक्षित देशहरूमा जनमतलाई प्रभावित पार्न सकियोस् भन्ने उद्देश्यमा केन्द्रित छ । कम्पनीले ती तमाम अमेरिकीको नाममा अनलाइन विज्ञापन बुकिङ गऱ्यो जसलाई उनीहरूले चोरी गरेका थिए । र, आफूलाई अमेरिकी अगुवा सामाजिक कार्यकर्ता बताउँदै ¥याली आयोजना गर्ने पोस्ट गरे । यसका अतिरिक्त अमेरिकी नागरिकलाई यस्तो कामका लागि पैसा दिने कामसमेत गरियो जसले हिलारीको छवि धुमिल बनाउन सहयोग पु¥याओस् ।
प्रतिक्रिया