राष्ट्रिय सङ्घ फुट्नुमा ‘मेनपावर’को धन्धा कारक

राष्ट्रिय सङ्घ फुट्नुमा ‘मेनपावर’को धन्धा कारक


– श्रीविक्रम भण्डारी

यतिबेला राष्ट्रिय खेलकुद परिषदमा लगभग दुई सयको हाराहारीमा राष्ट्रिय खेलकुद सङ्घ दर्ता छन् । तीमध्ये तीस–चालीसवटा राष्ट्रिय सङ्घले मात्रै राखेपको निर्देशनअनुसार आफ्नो वार्षिक गतिविधि गर्दै आएका छन् । यी तीस–चालीस सङ्घमध्ये नेपाललाई अन्तर्राष्ट्रियस्तरमा पदक जिताउने सम्भावित खेलहरू निकै सीमित छन् । औँलाले गर्न सकिने सम्भावित पदक जित्ने ती खेलहरू पनि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा मात्रै सीमित छन् । जुन खेलले हिजो सहजै सागमा स्वर्ण पदक जित्दै आएका थिए, अहिले त्यसमा पनि ह्रास आएको छ । हिजो सागमा स्वर्ण पदकको थुप्रो लगाउने खेलहरू अहिले एकाध स्वर्णमा सीमित भइसकेका छन् । जसलाई विश्लेषण गर्ने हो भने नेपाली खेलकुद अधोगतितर्फ उन्मुख भइरहेको सोझै अनुमान लगाउन सकिन्छ । तर, के कारणले नेपाली खेलकुदको यस्तो दुरावस्था भइरहेको छ त्यसको जरासम्म कुनै कारबाही सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले अहिलेसम्म गरेको छैन । परिणाम नेपाली खेलकुदमा अनुशासनहीनता, बेथिति र विवादको चरम उत्सर्गमा पुगेको छ ।

किन मौलाइरहेको छ त खेलकुदमा बेथिति ? अहिले यो प्रश्न गम्भीर बने पनि अनुत्तरित छ । कारण थुप्रै हुन सक्छन्, त्यसमा कसैले राजनीतिक शक्तिको आडमा खेलकुदमा ताण्डव मच्चाइरहेका छन्, कसैले आन्तरिक विवादका कारण त कसैले सर्वोच्चको फैसलाको अपहेलना गरेर । यस्ता गतिविधिले खेलकुदलाई कति बलियो बनाएको छ त्यो खेलकुदलाई हाँक्ने जिम्मेवारी पाएका व्यक्तिले राम्रोसँग बुझेका छन् । तर, विडम्बना ! गलत कुरालाई सच्याउनुको साटो त्यसलाई अझ फलदायी र प्रभावकारी बनाउन खेलकुदका पदाधिकारीको हात पनि उत्तिकै छ । राजनीतिक शक्तिको आडले त्यसमा महत्वपूर्ण भूमिका खेलेको छ भने कार्यकर्ताको भरणपोषण अर्को पाटो बनेको छ । यसरी अहिले नेपाली खेलकुद नामको मात्रै खेलकुद बन्न पुगेको छ । साँचो अर्थमा भन्नुपर्दा राजनीतिक दलका कार्यकर्ताको चलखेल गर्ने उर्वरभूमिमा परिणत भएको छ । पञ्चायतकालदेखि चल्दै आएको यो परम्परा अहिले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आइसक्दा पनि कायम छ । जुुन नेपाली खेलकुदको कालो पाटोको रूपमा आमखेलप्रेमी, खेलाडी, कर्मचारी, प्रशिक्षक र पदाधिकारीलाई पशुपतिमा छाडेका साँढेलाई लगाइएको छापजस्तै लागेको छ । जसको समाधान खोज्नु खेलकुद पदाधिकारीका लागि मरभूमिमा पानी खोज्नुजस्तै भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्मा सबैभन्दा बढी राष्ट्रिय खेल सङ्घको रूपमा मार्सल आर्टस्का दर्ता भएका छन् । आमखेलप्रेमीलाई मार्सल आर्टस्का खेलहरूमा कराते, तेक्वान्दो, उसु र जुडोबारे जानकारी भए पनि परिषद्मा दर्ता भएका अन्य तीन दर्जनभन्दा बढी सङ्घबारे अनविज्ञ छन् । ती मार्सल आर्टस्का खेल कहाँ खेलिन्छ, कसरी खेलिन्छ र ती खेलले नेपाली खेलकुदमा के महत्व राख्छ त्यसबारे परिष्दले समेत कुनै लेखाजोखा राखेको देखिँदैन । परिषद्ले त खेलको नाममा परिषद्मा दर्ता गर्नुलाई आफ्नो बहादुरी ठानेको छ । ती खेल दर्ता गर्दा समग्र नेपाली खेलकुदमा पर्ने दूरगामी प्रभावबारे परिषद्ले दूरदर्शिता प्रदर्शन गरेको देखिँदैन । परिणाम अन्तर्राष्ट्रियस्तरमा सम्भावित पदक जित्ने खेलको सङ्ख्या न्यून भएको ऐनाजस्तै छर्लङ्ग भए पनि राखेपले निरन्तर रूपमा किन राष्ट्रिय सङ्घहरूको दर्ता गरिरहेको छ त्यसको वर्णन केवल शेषनागले मात्रै गर्न सक्छन् होला । अन्यथा सङ्घहरूकै बिगबिगी र गैरकानुनी धन्धाले गर्दा खेलकुद विवादित र गन्हाइरहेको अवस्थामा पनि राखेपले किन यस्तो क्रियाकलापलाई बढावा दिँदै आएको छ त्यो बुझिनसक्नु भएको छ । राष्ट्रिय सङ्घको दर्ताको सम्बन्धमा थुप्रैपटक प्रश्न नउठेको पक्कै होइन, उठेको थियो, त्यसपछि राखेपले सङ्घ दर्ता गर्न रोकसमेत लगाएको थियो । पछि किन खोल्यो, त्यसको जवाफ सुन्दा अवाक हुने अवस्था छ । किनकि राखेपले जति खेल संस्थाहरू दर्ता ग¥यो त्यति नै खेलाडी सङ्ख्या बढ्ने, युवा कुलतबाट जोगिने, समाजमा अनुशासन कायम हुने र पर्यटनमा वृद्धि हुने निष्कर्ष थियो । त्यसो भए विश्वभरका खेलका सङ्घहरू राखेपमा दर्ता गरे भइहाल्यो नि !

जब बाघको मुखमा मान्छेको रगत पर्छ, त्यसपछि बाघले मान्छेलाई खोज्छ । खेलकुद पदाधिकारीको यस्तै रवैयाका कारण खेलकुद सङ्घ फुट्दै आएका छन् । त्यसमा खेलकुदका प्रमुख खेलहरू फुटबल, क्रिकेट, तेक्वान्दो र करातेलगायत केही मार्सल आर्टस्का रहेका छन् । यी खेलहरू नेपाललाई विश्व मानचित्रमा चिनाउन जति सफल भएका छन् त्यति नै विभिन्न घटना घटाएर मुलुकलाई बदनाम गराउनमा पनि कुनै कसर बाँकी राखेका छैनन् । फुटबलको विवाद, म्याचफिक्सिङ र भ्रष्टाचार काण्ड, क्रिकेटको भ्रष्टाचार र विवाद, तेक्वान्दोको विवाद र ग्रेडिङ धन्धा, करातेको विवाद र म्यानपावरको धन्धा कसैबाट छिपेको छैन ।

राखेपमा दर्ता भएका थुप्रै सङ्घमध्ये प्रायजसो खेलकुदको विकासको भन्दा पनि व्यक्तिगत स्वार्थसिद्ध गर्न दर्ता भएका हुन् भन्दा अतिसयोक्ति नहोला । यसर्थमा कि अहिले पनि नेपाली खेलकुदको आवरणमा देखिने र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्दै आएका खेलहरू औँलाले गन्न सकिने छन् । त्यसमा फुटबल, क्रिकेट, लनटेनिस, तेक्वान्दो, कराते, ब्याडमिन्टन, जुडो, टेबुलटेनिस, भारोत्तोेलन, बक्सिङ, पौडी, सुटिङ, उसु, कुस्ती, बास्केटबल र एथलेटिक्स प्रमुख रूपमा पर्दछन् । अन्य खेलहरूका केही गतिविधि देखिए पनि तिनीहरूले अन्तर्राष्ट्रिय पदक–तालिकामा कुनै प्रभाव पार्न सकेका छैनन् । त्यसबाहेक अन्य सयौँ खेल कहाँ छन्, तिनीहरूले कस्तो गतिविधि गरिरहेका छन्, त्यसबारे सम्बन्धित निकाय राखेपलाई समेत कुनै जानकारी छैन । यस्तो अवस्थामा ती खेलहरू राखेपमा दर्ता गर्नुको औचित्य के हो ? त्यो प्रश्नचिह्नको घेरामा पर्नु स्वाभाविकै हो । खेल सङ्घ दर्ता गरेर मात्रै हुँदैन, त्यसले औचित्य पुष्टि गर्न पनि सक्नुपर्छ । तर, राखेपमा दर्ता भएका सङ्घ राखेपको नीतिनियम र चाहनाले नभई खेलकुदलाई कमाइखाने थलो बनाउन दर्ता भएका देखिन्छन् । जसमा राखेपको उदारनीति खेलकुदको विवाद र बाधक मुख्य कारण बनेको छ ।

यतिबेला राखेपमा गुपचुप रूपमा दर्ता भएका खेल सङ्घका पदाधिकारी उक्त खेलको आडमा खेलकुदलाई मेनपावरको रूपमा प्रस्तुत गर्दै आएको घटनाले यो कुरालाई पुष्टि गर्छ । त्यसमा पछिल्लोपटक राखेपका सदस्य तथा करातेका प्रशिक्षक फत्तेबहादुर गुरुङ, नेपाल पेनकेक सिलात मार्सल आर्टस् सङ्घका अध्यक्ष टीकाराम मोते बसाई ठकुरी र नेपाल कुँरास सङ्घ अध्यक्ष दानबहादुर घिसिङले घटाएको घटना यसका प्रमाण हुन् । यसले खेलकुदको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा मानमर्दन मात्रै नगरी खेलकुदकै पदाधिकारीहरू खेलको आडमा कसरी म्यानपावरको धन्धा गरिरहेका छन् त्यसको पर्दाफास पनि गरेको छ । जुन आफैँमा शर्मनाक कुरा हुन् । यी त सार्वजनिक भएका दृश्य मात्रै हुन्, यीबाहेक थुप्रै अदृश्य रूपमा खेलकुदमा म्यानपावरका धन्धा मौलाइरहेका छन् त्यसको पर्दाफास कहिले हुने ? त्यो चर्चाको विषय बनेको छ । जुन कुरा राखेपका पदाधिकारीलाई जानकारी भए पनि मौनता साँध्नु अर्को विडम्बना भएको छ ।

किन फुट्छन् त राष्ट्रिय सङ्घहरू ? सबैलाई थाहा छ, राजनीतिक शक्ति, आन्तरिक विवाद र पैसाका कारणले । जब बाघको मुखमा मान्छेको रगत पर्छ, त्यसपछि बाघले मान्छेलाई खोज्छ । खेलकुद पदाधिकारीको यस्तै रवैयाका कारण खेलकुद सङ्घ फुट्दै आएका छन् । त्यसमा खेलकुदका प्रमुख खेलहरू फुटबल, क्रिकेट, तेक्वान्दो र करातेलगायत केही मार्सल आर्टस्का रहेका छन् । यी खेलहरू नेपाललाई विश्व मानचित्रमा चिनाउन जति सफल भएका छन् त्यति नै विभिन्न घटना घटाएर मुलुकलाई बदनाम गराउनमा पनि कुनै कसर बाँकी राखेका छैनन् । फुटबलको विवाद, म्याचफिक्सिङ र भ्रष्टाचार काण्ड, क्रिकेटको भ्रष्टाचार र विवाद, तेक्वान्दोको विवाद र ग्रेडिङ धन्धा, करातेको विवाद र म्यानपावरको धन्धा कसैबाट छिपेको छैन । यही खेलभित्रको खेल र गैरकानुनी धन्धा नेपाली खेलकुदका लागि ‘क्यान्सर’ बनेको छ । जसलाई काटेर फ्याँक्ने आँट राजनीतिक नियुुक्ति लिएर खेलकुदमा आउने कुनै पनि पदाधिकारीले देखाउन सकेका छैनन् । खेलकुदको समग्र विकास र विस्तारका लागि यो नै तगारो बनेका छ ।