फागुन १६ देखि धादिङ महोत्सव हुने

फागुन १६ देखि धादिङ महोत्सव हुने


साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति धादिङद्वारा यही फागुन १६ गतेदेखि २७ गतेसम्म नीलकण्ठ नपा–४ धादिङबेसी रायटारमा धादिङ महोत्सव–२०७४ को आयोजना गरिँदैछ ।

‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य रहेको छ ।

आयोजक संस्थाद्वारा आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा राखिने २२० स्टलमध्ये १८० स्टलको बुकिङ भइसकेको र अन्य तयारी काम समेत ८५ प्रतिशत सम्पन्न भइसकेको अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए ।

बाह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारद्वारा कला प्रदर्शन, कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ र महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको छ ।

महोत्सव अवधिभर हेलिकप्टरद्वारा गणेश हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीयस्थलको दृश्यावलोकन र हात्तीद्वारा धादिङबेसी बजार परिक्रमा गर्ने व्यवस्थासमेत मिलाइएको आयोजकले जानकारी गराएको छ ।