व्यवहारिक शिक्षाका पक्षपाती नेताका रूपमा चिनिँदै आएका नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय अनिवार्य स्थापना गर्नुपर्ने बताएका छन् । अध्ययन गरिसकेपछि आफूले लिएको शिक्षा व्यबहारिक हुनुपर्ने धारणा राख्दै उनले त्यसका लागि सबै स्थानीय तहमा प्राविधिक शिक्षालय अपरिहार्य रहेको तर्क गरे ।
नेपाल विद्यार्थी संघले लिएको खुल्ला विश्वविद्यालयको अवधारणा अहिले कार्यान्वयन तहमा प्रवेश गरेको जानकारी गराउँदै उनले नेपाल विद्यार्थी संघ विद्यार्थीका हकाधिकारसँगै भविष्यको समेत आँकलन गरेर अघि बढ्दै आएको र बढिरहने जिकीर गरे ।
फरक प्रसङ्गमा उनले पूर्ववर्ती सरकारले निर्णय गरेर राष्ट्रियसभाका निम्ति सिफारिस गरेका तीन व्यक्तित्वलाई फिर्ता गराउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गरे । राष्ट्रियसभामा तीन जना मनोनित गर्ने अधिकार संविधानतः पूर्ववर्ती सरकारलाई रहेको बताउँदै उनले राष्ट्रपतिले उक्त कदम नसच्याए आफूहरूले शुरु गरेको आन्दोलन नरोकिने र यसले चर्को रूप लिए राष्ट्रपति जवाफदेही हुनुपर्ने चेतावनी दिए ।
नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसले सञ्चालन गरेको क्याम्पसस्तरीय बीपी कप क्रिकेट प्रतियोगिताको विहिबार भएको समापन कार्यक्रममा बोल्दै उनले विद्यार्थीले प्रमाणपत्र धितो राखेर थप अध्ययन गर्न पाउनुपर्ने, विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमा हुनुपर्ने लगायतका माग गरे ।
नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसका इकाई सभापति दिनेश पौडेल, संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ५ का संयोजक प्रकाश राना, सहमहामन्त्री प्रकाश घिमिरे, केन्द्रीय सदस्यहरू लेखनाथ भट्टराई, टंक पाण्डे, पूर्व केन्द्रीय सदस्य जमुना ढकाल लगायतले अहिलेको शिक्षा अव्यवहारिक र अवैज्ञानिक भएकाले शिक्षानीति परिवर्तन गर्न आवश्यक रहेको बताए ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया