नयाँ राष्ट्रपति चयन २९ फागुनमा

नयाँ राष्ट्रपति चयन २९ फागुनमा


फागुन २९ गते नयाँ राष्ट्रपतिका लागि निर्बाचन हुने भएको छ । निर्बाचनसँगै सोही दिन मुलुकले नयाँ राष्ट्रपति पाउनेछ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्थाबमोजिम निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति तय गरेको हो ।

बिहीबार निर्बाचन आयोगमा बसेको राजनैतिक दलसहितको बैठकले राष्ट्रपति निर्वाचनको मिति तोकेको हो । मिति तोकिएसँगै आयोगले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयले २१ फागुनको दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्नेछ  र सोही दिनको सवा १ देखि ६ बजेसम्म नामावलीमा छुट नाम समावेश गर्नेछ । ‘विवरण सच्याउने र नामावलीउपर दाबी–विरोधको उजुरी दिने समय छुट्याइएको छ । उनले भने, ‘उजुरीउपर छानबिन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने समय २२ फागुनको बिहान १० देखि साँझ ६ बजेसम्म छुट्याइएको छ ।’

२३ फागुनको बिहान १० देखि दिउँसो २ बजेसम्म राष्ट्रपतिका उम्मेदवारको मनोनयन दर्ता गर्ने समय छुट्याइएको आयोगले जनाएको छ । आयोगको निर्बाचन कार्यतालिका अनुसार उम्मेदवारको सूची प्रकाशन सोही दिनको दिउँसो ३ बजे गरिनेछ भने उम्मेदवारको दाबी–विरोधमा उजुरी दिने समय २३ फागुन ३ बजेबाट २४ फागुन २ बजेसम्मका लागि तय गरिएको छ ।

२४ फागुन दिउँसो २ बजेबाट ३ बजेसम्म मनोनयनपत्र र उजुरीपत्रउपर जाँचबुझ गरिने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन २४ फागुन ३ देखि ४ बजेसम्म हुने, सोही दिनको साढे ४ देखि साढे ५ बजेसम्मको समय उम्मेदवारलाई नाम फिर्ता लिने समय तय गरिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ फागुन साँझ ६ बजे हुने आयोगको कार्यतालिका तय भएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

फागुन २९ गते मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने र मतदान सकिएको एक घन्टापछि मतगणनाको कार्य शुरु हुने आयोगले जनाएको छ ।