कांग्रेस संसदीय दलको विधान परिमार्जन गर्न माग

कांग्रेस संसदीय दलको विधान परिमार्जन गर्न माग


नेपाली कांग्रेस भित्र संसदीय दलको विधान परिमार्जन गर्न आवाज उठेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टी संसदीय दलको विधान परिमार्जन गर्न माग गरेका हुन ।

उनले भने, ‘भोलि हुने संसदीय दलको बैठकबाट विधान परिमार्जन गर्ने र त्यसपछि मात्र संसदीय दलको नेतृत्व चयन हुन्छ ।’

उनले विधान परिमार्जन नभएसम्म नेतृत्व चयन हुन नसक्ने जिकिर गरे । केन्द्रीय सदस्य सिंहले अहिलेसम्म संसदीय दलको नेतामा कसैले दाबी नगरेको अवस्थामा आफू संसदीय दलको नेता हुन योग्य भएको बताउँदै भने,‘पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक नियमित गर्न नसकेका कारण अब संसदीय दलको नेतामा उहाँ हुन सक्नुहुन्न ।’

पार्टी सभापति देउवाले संसदीय दलको नेतामा दाबी गरेमा आफू प्रतिस्पर्धामा उत्रिएर संसदीय दलको नेता हुने दाबी गर्दै उनले थपे,‘परम्परागत रुपमा नै संसदीय दलको नेता बनाए यो सिङ्गो पार्टीको हितमा हुदैन ।’

नेता सिंहले सर्वसहमतिको वातावरण आएमा आफू त्यसमा सहमत हुने र सर्वसहमत नभएमा संसदीय दलको नेता परिवर्तन गर्नु पर्ने बताए ।