करातेका धुरन्धर मुकुन्द्र महर्जन

करातेका धुरन्धर मुकुन्द्र महर्जन


खेलकुदप्रतिको अगाध रुचि र बुबा पूर्णबहादुर महर्जनको प्रेरणाले मुकुन्द्र महर्जनले खेलकुदमा हाम फालेका थिए । सानैदेखि मार्सल आर्टस्तर्फको झुकावले गर्दा उनले सितोरियो करातेलाई रोजेका थिए । मात्र १३ वर्षको कलिलो उमेरमा कराते खेल्न थालेका मुकुन्द्रले भविष्यमा उत्कृष्ट खेलाडी बनेर मुलुकको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रमा पुर्‍याउने सपना देखेका थिए । सोहीअनुरूप प्रशिक्षक मीनकृष्ण महर्जनको प्रशिक्षणमा उनले आफ्नो प्रशिक्षण आरम्भ गरेका थिए । दिनरात प्रशिक्षणमा अहोरात्र पसिना बगाएबापत अहिले उनी करातेका उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । अनुशासन, मिहिनेत र दृढसङ्कल्पलाई सफलताको कडी मान्ने मुकुन्द्रले अहिले यही कुरालाई आत्मसात् गरिरहेका छन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) र एसियाली खेलकुदमा पदक जित्ने उनको विश्वास छ । तसर्थ उनले पहिलो सिँढीको रूपमा बाह्रौँ सागमा स्वर्ण पदक जित्ने पहिलो लक्ष्य बनाएका छन् ।
लगनखेल डोजोेबाट कराते खेल्न सुरु गरेका मुकुन्द्रले अहिले राष्ट्रियस्तरमा आफ्नो समूहमा एकछत्र राज गर्न सफल भएका छन् । यसैले होला निकै जुझारू र प्रतिभाशाली खेलाडीको रूपमा मुकुन्द्रको नाम अग्रपङ्क्तिमा आउँछ । आफ्नो खेलजीवनको पहिलो प्रतियोगिता उपत्यकाव्यापी करातेमा पराजयको मुख देखेका मुकुन्द्रले त्यसपछि पराजयलाई आत्मसात् गर्नुपरेको छैन । पहिलो पराजयलाई पाठको रूपमा लिएका उनले त्यसपछि आफ्ना प्रतिद्वन्द्वीलाई सधैँ पाखा लगाउँदै आएका छन् । ४५ केजी समूहबाट खेल्न थालेका मुकुन्द्रले पहिलो विजयको स्वाद बीपी मेमोरियल च्याम्पियनसिपमा करातेमा प्रथम भएर चाखेका थिए । यो विजयसँगै निकै उत्साहित भएका उनले त्यसपछि आफूलाई एक प्रतिभाशाली खेलाडीको रूपमा करातेमा स्थापित गरेका थिए ।
राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सफलताको झण्डा गाडेर वाहवाही बटुल्न सफल भए पनि मुकुन्द्रले आफ्नो वास्तविक प्रतिभाको प्रदर्शन भने ०६५ मा काठमाडौंमा आयोजना भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गर्न सफल भएका थिए । पहिलोपटक राष्ट्रिय प्रतियोगितामा सहभागी जनाएका उनले आफ्नो पहिलो प्रयासमै अब्बल सावित हँुदै स्वर्ण पदक जितेर राष्ट्रिय च्याम्पियन बनेका थिए । यसरी उनले पाएको सफलताले उनलाई रातारात चर्चाको शिखरमा पुर्‍याउनुको साथै करातेका उदीयमान अन्तर्राष्ट्रिय खेलाडीको समकक्षमा पुर्‍याएको थियो । तत्कालीन समयमा राष्ट्रिय खेलकुद परिषद्ले पाँचौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्नेले स्वत: सागमा छनोट हुने निर्णय गरे पनि पटकपटक साग गेम सरेका कारण उनले सागमा सहभागिता जनाउन नपाएको तीतो सत्य अहिले पनि सँगालेर राखेका छन् ।
राष्ट्रियझैं अन्तर्राष्ट्रियस्तरको पहिलो प्रतियोगितामा पनि मुकुन्द्रको हातमा निराशा लागेकोे थियो । उनी २००९ मा थाइल्यान्डमा आयोजना भएको प्रथम एसियाली मार्सल आर्टस् गेममा पहिलो चरणमै पराजित भएका थिए । अन्तर्राष्ट्रिय स्पर्धाको अनुभवहीनताले गर्दा उनले झिनो अन्तरले अफगानिस्तानका खेलाडीसँग पराजित हुनुपरेको थियो । तर, यसलाई चुनौतीको रूपमा स्वीकार्दै २०११ मा बंगलादेशमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय एसिया डब्लूयूकेएफ कराते च्याम्पियनसिपमा प्रथम भएर मुकुन्द्रले आफ्नो सफलतामा अर्को अध्यायको शुभारम्भ गरेका थिए । त्यसको केही समयलगत्तै पुन: बंगलादेशमा आयोजना भएको दोस्रो फलिजाटुनिसिया युजिव अन्तर्राष्ट्रिय मार्सल आर्टस्मा उनले दोस्रोपटक स्वर्ण पदक जितेर आफूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि मात्र नभई सम्भावित पदक विजेता खेलाडीको रूपमा उभ्याउन सफल भएका थिए । यो प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका, बेल्जियम, इजिप्ट, नेपाल र पाकिस्तानलगायतका राष्ट्रहरूले १६ स्वर्ण पदकका लागि भिडन्त गरेकोमा उक्त १६ वटै स्वर्ण नेपाली खेलाडीहरूले जितेर ऐतिहासिक कीर्तिमान कायम गरेका थिए ।
राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सफलको स्वाद चाख्दै गएका मुकुन्द्रले गत वर्ष कैलाली र कञ्चनपुरमा आयोजना भएको छैटाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका उनले आफ्नो विजय अभियानलाई जारी राख्दै नेपाल पुलिस, मध्यपश्चिम, सुदूरपश्चिम र फाइनलमा मध्यमाञ्चललाई पराजित गरेर स्वर्ण पदक जितेका थिए । छैटौँमा उनले विभागीय टोली एपीएफबाट खेलेका थिए । यसरी राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेसँगै उनी अहिले ‘मिसन साग २०१२’ अन्तर्गत नियमित प्रशिक्षण जुटेका छन् । उनलाई चर्चित खेलाडी दीपक श्रेष्ठ र अकबर शाहले प्रशिक्षण दिइरहेका छन् । बिहान र बेलुकी गरी दैनिक चार घन्टा गुरुहरू र त्यसपछि व्यक्तिगत रूपमा लगनखेल डोजोमा प्रशिक्षण लिँदै र दिँदै आएका छन् । यसको उनको प्रशिक्षणमा अझ निखार आएको छ भने उनको आँट र साहसमा पनि वृद्धि भएको छ । यसैले मुकुन्द्र भन्दै थिए, ‘यसपटक १२औँ सागमा स्वर्ण पदक जित्ने विश्वास गरेको छु ।’ मेरो तौलमा पाकिस्तानी खेलाडी राम्रो भए पनि आफू पनि ऊभन्दा उन्नाइस नभएको दाबी गरेका छन् । खेलमा जे पनि हुन सक्छ, मैले वास्तविक रूपमा भन्नुपर्दा पाकिस्तान र अफगानिस्तानलाई प्रमुख प्रतिद्वन्द्वीको रूपमा लिएको छु ।
छैटौँमा स्वर्ण पदक जितेपछि निकै उत्साहित बनेका मुकुन्द्रले सन् २०१२ को अप्रिलमा सिंगापुर आमन्त्रण ओपन करातेमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । उनले प्रतिद्वन्द्वी सिंगापुर, अस्ट्रेलिया र मलेसिया खेलाडीलाई पराजित गरेर फाइनलमा प्रवेश गरे पनि स्वर्ण पदक जित्नबाट भने वञ्चित हुनुपरेको थियो । उनी मलेसियाका अर्का खेलाडीसँग पराजित भएका थिए । त्यसको लगत्तै नेपालमा आयोजना भएको प्रथम कात्सुहिको जिबो मेमोरियल अन्तर्राष्ट्रिय करातेमा पनि स्वर्ण पदक जितेर आफूलाई उत्कृष्ट खेलाडीको कोटामा उभ्याएका थिए ।
करातेमा दावा गुरुङको आगमनसँगै निकै सुधार भएको दाबी गर्ने उनले कराते बुझेको व्यक्तिले गर्दा आउँदो दिनमा अन्तर्राष्ट्रियस्तरमा पनि करातेले निकै सफलता प्राप्त गर्ने विश्वास प्रकट गरेका थिए । करातेको लामो अनुभव सँगालिसकेका मुकुन्द्रले आफ्नोे अविष्मरणीय क्षणको रूपमा ११औँ सागमा छनोट भएर खेल्न नपाउनु र पुन: छनोट हुँदा टोलीमा पर्न नसक्नुलाई निकै दु:खको रूपमा लिएका छन् । त्यस्तैै राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार दुईपटक स्वर्ण पदक र सिंगापुरमा भएको आमन्त्रण करातेमा रजत पदक जित्दा उनका लागि खुसीको क्षण बनेको छ ।
मीनकृष्ण महर्जन, दीपक श्रेष्ठ, गंगाराम महर्जन, निता राई, प्रीति डङ्गोल र रवि महर्जनजस्ता चर्चित अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको लगनखेल डोजोका पाँचजना खेलाडीले सागमा स्वर्ण पदकसमेत जितिसकेका छन् ।
लगनखेल डोजोले उत्पादन गरेका यी खेलाडीले जस्तै उत्कृष्ट प्रदर्शन गरेर सागमा स्वर्ण पदक जित्ने मुकुन्द्रको पनि धोको रहेको छ । यसका लागि अहिले उनी अथक मिहिनेतका साथ दिनरात एउटै बनाएर प्रशिक्षणमा जुटेका छन् । कामना गरौँ, उनको मिहिनेतले आगामी १२औँ सागमा रंग ल्याओस् । कराँते खेल, लगनखेल डोजो र नेपालको खातामा अर्को स्वर्ण पदक थपियोस् । हाम्रो यही शुभकामना छ ।

क्रिकेटको कीरा सवीर खड्का
क्रिकेटका विज्ञ र धुरन्धरसमेत सवीर खड्काको प्रतिभा देखेर रनभुल्लमा पर्न सक्छन् । जेम्स स्कुल धापाखेल ललितपुरमा कक्षा सातमा अध्ययनरत सवीर क्रिकेटका तीनै विधाहरू टेस्ट, एकदिवसीय र ट्वान्टी–२० मा राम्रो दख्खल राख्छन् । यसबाहेक क्रिकेटको नियम, क्रिकेटका राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, क्रिकेट खेल्ने राष्ट्र र उदीयमान राष्ट्रको बारेमा समेत उनी धाराप्रवाहले विश्लेषण गर्न सक्छन् । क्रिकेटप्रति सवीर कसरी आकर्षित भए त्यसबारे उनी आफैँ अनविज्ञ छन् । २००७ मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप क्रिकेटको स्मरण गराउँदै सवीरले आफूले त्यहीँबाट क्रिकेट हेर्न थालेको र आकर्षित भएको बताएका छन् । यो पाँच वर्षको अन्तरालमा आफूले क्रिकेटका सबै अन्तर्राष्ट्रिय प्रतियोगिता हेरेको दाबी गरेका छन् । टेस्टदेखि एकदिवसीय र ट्वान्टी–२० सम्म उत्तिकै अभिरुचिका साथ हेर्ने र त्यसबारे तत्कालै विश्लेषण र प्रतिक्रिया दिनसक्ने उनको खुबी साँच्चिकै तारिफयोग्य छ । त्यस्तै सेभन ए साइड र फाइभ ए साइडका बारेमा पनि सवीरको ज्ञान उत्तिकै रहेको छ ।
सवीर क्रिकेटको ज्ञान मात्र नभई क्रिकेट खेल्ने पनि गर्छन् । आफूलाई ब्याट्सम्यान भन्न रुचाउने उनले अहिलेसम्म कुनै महत्वपूर्ण प्रतियोगितामा भाग लिने अवसर नपाए पनि स्कुल र साथीभाइहरूको माझमा आफ्नो क्रिकेटको प्रतिभा भने देखाइसकेका छन् । भविष्यमा नेपालको उत्कृष्ट क्रिकेट खेलाडी बनेर राष्ट्रको झण्डा अन्तराष्ट्रमा फहराउने सपना देखेका सवीर नेपालमा फुटबलको भन्दा क्रिकेटको सम्भावना बढी भएको बताउन पनि पछि परेनन् । नेपाली खेलाडीमा शरद भेषवाकरलाई मनपराउने उनले शरदको ब्याटिङ र बलिङ आफूलाई मनपर्ने बताए । अन्तर्राष्ट्रिय खेलाडीमा एबी डिबिलियर्सलाई मन पराउने उनको फेभरेट टिमचाहिँ अस्ट्रेलिया भएको प्रस्ट पारेका थिए । वर्तमान अवस्थामा श्रीलंकामा आयोजना भइरहेको विश्वकप ट्वान्टी–२० क्रिकेट प्रतियोगितालाई एकदमै नजिकबाट नियालिरहेका सवीर यसपटक दक्षिण अफ्रिकाले जित्ने बताए ।

ट्रायथलनको उपाधि टीकारामलाई
नेपाल ट्रायथलन सङ्घको आयोजनामा भएको पहिलो ओपन ट्रायथलन च्याम्पियनसीपको उपाधि टीकाराम थापाले जितेका छन् । विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्वतीय खेल महासङ्घको संयोजकत्वमा नेपाल ट्रायथलन सङ्घको आयोजनामा बौद्धस्थित दिव्य हस्पिटालिटीबाट सुरु भएको प्रतियोगितामा थापाले निर्धारित दूरी १ घन्टा ३२ मिनेट २६ सेकेन्डमा पूरा गरेका थिए । प्रतियोगितामा दोस्रो स्थान हात पारेका चन्द्र थापामगरले निर्धारित दूरी १ घन्टा ३४ मिनेट ४८ सेकेन्डमा पूरा गरेका थिए । तेस्रो स्थान अस्ट्रेलियन ल्युक डेबिसले निर्धारित दूरी १ घन्टा ३५ मिनेट ५१ सेकेन्डमा पूरा गरेका थिए । प्रतियोगितामा सहभागी एक मात्र महिला खेलाडी पर्सिया मानन्धरले निर्धारित दूरी २ घन्टा ३७ मिनेट १३ सेकेन्डमा पूरा गरेकी थिइन् । प्रतियोगितामा सहभागी खेलाडीले दिव्य हस्पिटालिटीको पौडी पोखरीमा ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र अन्त्यमा बौद्ध, जोरपाटी, गोठाटार, गुह्येश्वरीसम्मको पाँच किलोमिटरको दौडमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ११ खेलाडी सहभागी थिए । विजेता खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले नगद पुरस्कार तथा मेडल प्रदान गरेका थिए । प्रतियोगितामा पहिलो स्थान हात पार्ने खेलाडीले पाँच, दोस्रोले तीन तथा तेस्रो हुनेले दुई हजार रुपैयाँ प्राप्त गरेका थिए । साथै असोज १३ गते पोखरा खुल्ला ट्रायथलोन च्याम्पियनसीप हुने जानकारी गराइएको थियो ।

पदाधिकारी मालामाल, खेलाडीमा हाहाकार
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ तथा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले नेपाली खेलकुदको स्थायित्व र दिगो विकासका लागि राखेप संरक्षक प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पाँचबुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा मुलुकको खेल क्षेत्रको उत्थान र दिगो विकासका लागि खेलकुदलाई नेपालको मूल कानुन संविधानमा सम्बोधन गर्नुपर्ने, हाल खेलकुदमा देखिएको विकृति र विसङ्गति हटाउन खेलकुदमा राजनीतिक हस्तक्षेप र गैरखेलाडीको नियुक्ति बन्द गरी खेलकुदका सम्पूर्ण संरचनागत अङ्गहरूमा खेलाडी र खेलकर्मीलाई नै खेलकुदको जिम्मा दिनुपर्ने, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) बाट आउने आर्थिक सहयोगलाई पारदर्शी बनाउन नेपाल ओलम्पिक कमिटीको हरहिसाब सार्वजनिक गर्नुका साथै सम्पूर्ण आर्थिक कारोबारको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, ओलम्पिक कमिटीको विषयमा सर्वोच्च अदालतको फैसला अक्षरश: कार्यान्वयन गर्नुपर्ने, अन्तर्राष्ट्रिय जगत्मा मुलुकको प्रतिनिधित्व गर्न नेपाल ओलम्पिक कमिटी हुँदाहँुदै व्यक्तिगत स्वार्थ पूर्तिका लागि कानुनविपरीत अवैधानिक तवरले डोटी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको तथाकथित राष्ट्रिय ओलम्पिक कमिटीलाई यथाशीघ्र खारेज गरी सम्बन्धितलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ ।
खेलाडी सङ्घको तर्फबाट अध्यक्ष दीपक विष्ट र कर्मचारी सङ्घको तर्फबाट नारायणदेव राणाले ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए । सोको बोधार्थ युवा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्लाई पनि दिइएको छ । ज्ञापनपत्र ग्रहण गरेपछि प्रधानमन्त्री भट्टराईले सबै माग जायज भएकोले मागप्रति सरकार संवेदनशील भएको बताउँदै खेलकुदमा भित्रिएको प्रदूषणलाई हटाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री भट्टराईले साधन र स्रोतले भ्याएसम्म सरकार र आफ्नो व्यक्तिगत तर्फबाट खेलकुदको प्रवद्र्धन गर्न लागिपरेको बताउँदै अन्तर्राष्ट्रिय सहभागितामा गैरखेलाडीको लरको जाने चलन समाप्त गर्नुपर्ने बताउनुभयो ।
खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टले खेलाडी र प्रशिक्षकलाई आएको रकममा हिनामिना हुनु दु:खपूर्ण भएको बताउँदै ज्ञापनपत्र अध्ययन गरी चाँडोभन्दा चाँँडो सरकारले निर्णय गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा राखेप सदस्यसचिव युवराज लामा, नेपाल ओलम्पियन सङ्घका पदाधिकारी, ओलम्पियन खेलाडीलगायतको उपस्थिति रहेको थियो ।
यसअघि खेलाडी र कर्मचारी सङ्घले विभिन्न राष्ट्रिय खेल सङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षक, खेलप्रेमीलगायतको उल्लेख्य सहभागितामा बृहत् र्‍याली आयोजना गरेको थियो । र्‍याली दशरथ रंगशालादेखि सुरु भई विभिन्न भागको परिक्रमा गरी पुन: दशरथ रंगशालामै आएर सभामा परिणत भएको थियो । सो अवसरमा कर्मचारी सङ्घका अध्यक्ष नारायणदेव राणाले सदस्यसचिव युवराज लामालाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा नेपाल ओलम्पिक कमिटीको विवादलाई यथाशीघ्र कानुनसम्मत ढङ्गले स्थायी समाधान गर्नुपर्नेलगायत माग गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव लामाले खेलाडीको रगत चुस्नेलाई पाखा लगाउने यो अभियानमा परिषद्को ऐक्यबद्धता रहेको बताउँदै यो अभियानले परिषद्लाई नीतिगत निर्णय गर्न ऊर्जा मिलेको बताएका थिए । सदस्यसचिव लामाले खेलाडीको मागलाई अब बस्ने परिषद्को बोर्ड बैठकमा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कर्मचारी सङ्घका अध्यक्ष राणाले मोबाइल प्रकरणले सम्पूर्ण खेलाडीका साथै मुलुकलाई लज्जित तुल्याएको बताएका थिए । खेलाडी सङ्घका अध्यक्ष विष्टले खेलाडीलाई शोषण गर्नेविरुद्ध आजदेखि नै आन्दोलनको सुरुआत भएको उद्घोष गर्दै यो आन्दोलन खेलकुदको धमिरालाई हटाउन गरिएको बताउनुभयो ।

प्रथम ओलम्पियन भूपेन्द्र सिलवालको निधन
प्रथम नेपाली ओलम्पियनमध्येका एक भूपेन्द्र सिलवालको गत साता निधन भएको छ । उनको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो । गोदावरीनिवासी ७८ वर्षीय सिलवाल पेटको क्यान्सरबाट पीडित थिए । सिलवालले १९६४ मा जापानको टोकियोमा भएको १८औँ ग्रीष्मकालीन ओलम्पिकमा म्याराथनमा भाग लिएका थिए । त्यो ओलम्पिक नै नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिक थियो । उनीसँगै त्यसबेला एथलेटिक्सका गंगाबहादुर थापा तथा बक्सिङका नामसिंह थापा, ओमप्रसाद पुन र रामप्रसाद गुरुङले टोकियो ओलम्पिकमा भाग लिएका थिए । स्व. सिलवाल १९५८ को टोकियो एसियाडमा पनि म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनी खालिखुट्टा दौडेका थिए ।

संगीना सम्मानित
त्रिशूली–काठमाडौं समाजले तेक्वान्दोकी चर्चित खेलाडी संगीना वैद्यलाई हालै नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय जगत्मा खेलकुदको माध्यमबाट राष्ट्रको पहिचान अभिवृद्धि गर्न योगदान पुर्‍याएबापत संगीनालाई सम्मान गरिएको हो । संगीना त्रिशूलीनिवासी हुन् । समाजद्वारा बालाजुमा आयोजित चौथो त्रिशूली चेलिबेटी भेलामा संस्कृतिविद् सत्यमोहन जोशीले संगीनालाई नगद २० हजारसहित ताम्रापत्र प्रदान गरी सम्मान गरेका थिए ।
संगीना छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । छनोट चरण पार गर्दै संगीनाले एथेन्स ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन् । संगीना १९९६ मा अस्ट्रेलियामा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा तथा आठौँ र नवौँ दक्षिण एसियाली महासङ्घीय खेलकुद (साफ) की स्वर्णधारी हुन् ।

आइकेन्दो च्याम्पियनसिप सम्पन्न
राजधानीको बसुन्धरास्थित इन्द्रेणी पार्टी प्यालेसमा हालै सामुराई ( तरबारबाजी खेल) प्रदर्शन तथा प्रथम अन्तर्राष्ट्रिय आइकेन्दो च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल, जापान, जर्मनी र बेलायतका गरी ७५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सामुराईमा महिलातर्फ भगवती माझी, रिना मगर र सीताराम थापामगर क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए भने उत्कृष्ट खेलाडीको उपाधि जर्मनीकी लिसाले प्राप्त गर्न सफल भइन् । प्रतियोगितामा केन्दोतर्फ महिलामा सुस्मा लामा, स्मृति घिसिङ र विना तामाङ क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए भने उत्कृष्ट खेलाडीको उपाधि सुस्मिता लामाले प्राप्त गरिन् । त्यस्तै पुरुषतर्फ सञ्जय तामाङ, मिलन लामा, क्लिन्टन राई र हिमाल खत्रीले क्रमश: प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट खेलाडीको उपाधि हात पारे । विजेता खेलाडीलाई सिल्ड, प्रमाणपत्र र नगद पुरस्कार सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङले प्रदान गरेका थिए ।
सो अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा दक्षिण एसियाली खेलमा उसुतर्फ स्वर्णपदक विजेता आङबाबु लामा र विनिता महर्जन, नेपाली चलचित्र क्षेत्रकी नायिका निशा अधिकारी, नायक सुमन सिंह, निर्देशक दीपेन्द्र के. खनाल, निर्माण नियन्त्रण बुद्धिलाल मगर, सञ्चारकर्मी शीतल मोक्तान, कानुन व्यवसायी छोनाम मोक्तान, समाजसेवी कृष्णबहादुर राउत तथा समाजसेवी रूपसिंह मोक्तानलगायतका थिए । नेपाल आइकेन्दो एकेडेमिजका निर्देशक दानबहादुर घिसिङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा ब्रिटिस नागरिक एड्रिन रो र प्रताप घिसिङ निर्णायक रहेका थियो । यसैबीच ब्रिटिस नागरिक एड्रिन गोर्देन रोले नेपाली खेलाडीलाई २५ लाखबराबरको केन्दो खेलकुद सामग्री प्रदान गरेका थिए ।