परोपकारी हातहरूलाई सलाम !

परोपकारी हातहरूलाई सलाम !


– डिल्लीराम अम्माई (बेल्जियम)

गोरखा घर भई हाल बेल्जियममा सुशी ब्यावशाय गरिरहेका एक परोपकारी जोडी बिना र राम घलेबाट बाबु–आमा नभएका टुहुरा विद्यार्थीको पठनपाठनमा सहायोगको लागि भवानी उच्च मावि मान्बुमा दुई लाख रुपैयाँको एक कोष खडा गरिदिएका छन् । उनीहरूले असहाय टुहुरा विद्यार्थीलाई स्नातकसम्मको अध्ययनमा लाग्ने खर्च कोषबाट गर्ने र कोषको रकम प्रत्येक वर्ष थप्दै जाने घोषणा स्कुलको ५७ औं बार्षिक उपलक्ष्यमा आयोजित एक समारोहका बीच गरेका हुन् । घले दम्पतिले खेलकुदको प्रोत्साहनको लागि दशवटा फुटबल र भलिबल समेत स्कुलका प्रअ काजीराम खत्रीलाई हस्तान्तरण गरे ।

सोम घलेको सभापतित्वमा आयोजित वार्षिक उत्सव सभामा गाउँपालिकाका मेयर पूर्ण दाहाल प्रमुख अतिथि रहेका थिए । चिरन्जिवी न्यौपानेद्वारा सञ्चालित कार्यक्रममा गणेश गुरुङ, चिजा तामाङ, सुनिल गुरुङ लगायत वरिष्ठ कलाकारहरूले आफ्नो कला प्रदर्शन गरेका थिए ।

यसरी प्रवासबाट चाहे शिक्षा क्षेत्रमा होस् चाहे सामाजिक वा परोपकारी क्षेत्रमा महत्वपुर्ण योगदान रहेको छ । राम घले जसले केही वर्षअघि भवन निर्माणमा महत्वपुर्ण योगदान गरेका थिए भने अहिले अर्को परोपकारी योजनासहित गाउँ पसे र त्यो पुरा गरेरै छाडे । उनको आँखा परोपकारमा पहिला पुग्यो तर मोजमस्ती र अन्य फजुल कर्ममा लागेन, किन ? किनकि उनले त्यो अवस्था आफैले भोगेर आएका हुन् । भनिन्छ– सबै कमाउनेहरू दानी हुँदैनन् र सबैको मन सत्कर्ममा जाँदैन । सलाम… रामभाइ लगायत सबै परोपकारी मनहरूलाई !

परोपकारको महत्वबारे परापुर्व कालदेखि नै चर्चा हुँदै आएको हो । त्यो बेलादेखि अहिलेसम्म परोपकार वा उपकारको महत्व त्यत्तिकै रही आएको छ । पौराणिक सन्दर्भलाई हेर्दा राजा बलिले राज्यप्रतिको मोह त्यागी आफ्नो राज्य समेत बामनलाई दान दिए । त्यस्तै दधिचीले अरुको भलाईको लागि आफ्नो सरिर समेत दान गरे । यी पुर्वआधुनिक कालका दानका उत्कृष्ट नमुना हुन् । दृष्टान्तले देखाउँछ कि दिएको दानबाट यी दानदाताहरू कहिल्यै निरास भएनन् । त्यसैले दीपावलीमा समेत बलिलगायत महादानीहरूको पुजा गर्ने गरिन्छ । परोपकारी उद्देश्यसहित दिएको दानले मानिसलाई आनन्द दिन्छ भने त्यो दानाले धेरैको भलो समेत गरेको हुन्छ । दानको बारेमा हिन्दी महाकवि तुलसीदासले भनेका छन्, ‘परहित के समान कोई धर्म नहीं है और दूसरों को कष्ट देने के समान कोई पाप नहीं है ।’

अहिले नेपालमा त्यस्तै एक महादानी पात्रको सर्वत्र चर्चा भैरहेको छ । यहि २०७४ फागुन ३ गते छोरी ईश्वरी राणा र ज्वाइँ रुक्मशमशेर राणाले जग्गा रोक्का गर्दा समेत कानुनी रुपमा फुकुवा गराई श्रीजंग शाहले कान्तिपथमा रहेको ३ रोपनी ३ आना २ पैसा २ दाम जग्गा (एक अर्ब भन्दा बढीको सम्पत्ति र सो जग्गामा रहेको घर) फत्तेबाल आँखा अस्पतालाई दान दिएका छन् ।

तर दुःखलाग्दो कुरा बिरामीको जीवनरक्षा गर्न बनाइएका अस्पतालमा संचालक र डाक्टरहरूको मिलोमतोमा ठुलाठुला भ्रष्टाचारका खबरले परोपकारी मनहरूलाई आहत बनाउने खबर पनि भाइरल बनिरहेको छ । कुरा हो भरतपुर क्यान्सर अस्पतालको । समाचारमा भनिएको छ, ‘दुई वर्षदेखि ‘बिगारेर’ राखिएको मेसिन तीन वर्षअघि दश करोड पचहत्तर लाख रुपैयाँमा खरिद गरिएको थियो । जबकि त्यसबेला उक्त मेसिनको बजार मूल्य चार करोड मात्र थियो । त्यसको मर्मत गरिएको छैन तर मर्मतको नाममा लाखौ रकम खर्च गरेको देखाएर झ्वाम पारिएको छ । भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा प्रकाश न्यौपाने (अध्यक्ष), निर्देशक डा. अञ्जली कुमार झा, विजयचन्द्र आचार्य र गोकर्ण सापकोटालगायत रहेका छन् । डाक्टर झा र वकिल सापकोटालाई अनियमितताको मुख्य ‘डिजाइनर’ मानिन्छ ।’

परोपकारको चर्चा चल्दै गर्दा यस्ता ‘कलङ्क’का कुरा पनि आउँछन् । यस्ता दुष्पात्रहरूलाई परोपकारी मन भएका सम्पूर्ण नेपालीले नंग्याउनु पर्दछ र सरकारले पनि भ्रष्ट अपराधीहरूलाई समयमै कारवाही गर्नु आवश्यक हुन्छ । यिनै नरपशुहरूले परोपकारको महान अभियानप्रति शंका गर्नुपर्ने अवस्था निम्त्याउने गर्छन् ।

तर मणिलाई फोहरले छोप्दैमा त्यो चम्कन छोड्दैन । आज प्रवासबाट पनि परोपकारी महाअभियानमा शितल हातहरू अगाडी बढिरहेका छन् । डोल्मा बचाउ अभियानमा एनआरएनहरू जसरी लागे तराईको शीतलहरपीडितलाई पनि प्रवासी नेपालीहरूले समेत त्यस्तै सहयोग गरे । त्यो अभियानमा एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाललगायतको उल्यख्य योगदान रह्यो । परोपकारी अभियानमा हास्य कलाकार धुर्मस–सुन्तलीको योगदान त स्वर्णिम अक्षरले लेखिन लायक छँदैछ ।