सर्वसम्मत चयन नभए कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट

सर्वसम्मत चयन नभए कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट


संघीय संसदीय दलमा पेश भएको विधानलाई नेपाली कांग्रेसले परिमार्जनसहित पारित गरेको छ । कांग्रेस संसदीय दलको शनिबारसिंहदरबारमा बसेको बैठकले नेता डा. मीनेन्द्र रिजालद्वारा प्रस्तुत विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

परिमार्जित विधानलाई भोलि आइतबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया शुरु हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले तीनवटै तह स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सफलताका साथ सम्पन्न गरेकामा सभापति देउवालाई धन्यवाद दिएको छ ।

तत्कालीन देउवा सरकारले राष्ट्रियसभाका लागि तीन सदस्य मनोनीत गरेकामा राष्ट्रपतिले बदर गर्नु असंवैधानिक कदम भएको आरोप लगाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन पनि कांग्रेसले माग गरेको छ । कांग्रेसले संविधानको ढाँचाअनुसार संसदीय दलको पुरानो विधानलाई संशोधन गरी नयाँ विधान बनाएको हो । अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैलाई मिलाएर संघीय संसद् बनेको हुनाले त्यसअनुरुपको नयाँ विधान बनेपछि मात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने हुन्छ ।

कांग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ । सांसदहरुले पार्टीलाई सशक्त रुपमा अघि बढाउन सहमतिका आधारमा संसदीय दलको नेताको चयन हुनुपर्ने र सहमति हुन नसकेको खण्डमा पनि अत्यन्तै स्वस्थ्य प्रतिस्पर्धाबाट नेताको चयन होस् भन्ने परामर्श दिएको बताइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको संसदीय दलको बैठकमा बोल्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदारसहित अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउने क्रममा दुवै सदनमा काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेको नेता बालकृष्ण खाणले बताए ।

तस्बिर रासस