कमरेड ओलीको केक, चाणक्यको दियो र सुशासन

कमरेड ओलीको केक, चाणक्यको दियो र सुशासन


– दीपेन्द्र पाण्डे

गत फाल्गुन ३ गते देशले कमरेड ओलीलाई दोश्रोपटक प्रधानमन्त्रीको रूपमा देख्न पायो । पटक–पटकको वान टु वान वार्ता लम्बिँदै गर्दा फाल्गुन ६ गते शान्त वातावरण खोज्दै देशका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री एक ब्यवसायीको घरमा लञ्च खाँदै गरेको फोटो सार्वजनिक हुन पुग्यो । वर्तमान समयमा समृद्ध नेपालसँग जोडिएर आएको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक मात्र हैन मुल्य–मान्यता र विधिको शासनसँग आममानिस आकर्षित हुन शुरु भएको पुष्टि लञ्च–राजनीतिले गर्दैछ । करिब ६५ वर्षदेखिको राजनैतिक अधिकारको सम्बोधन गरिएको दम्भमा टिकेको नेपाली राजनीति अझै पनि विधि र सुशासनमा प्रवेश गर्न नसकेको मान्न बाध्य पारिएको लञ्च र केक राजनीतिमा देशले सबैभन्दा बढी आशाले हेरेको प्रधानमन्त्री किन चुके ? खोजीको विषय बन्दैछ ।

कमरेड ओलीको केक :

कम्युनिष्ट प्रधानमन्त्री ओली ६७ औं वर्षमा प्रवेश गरेका छन् । २००८ साल फाल्गुन ११ गते तेह्रथुम जिल्लाको गरिब परिवारमा जन्मिएका कमरेड ओली ६३ वर्षसम्म जन्मदिनको केक काटेनन् । चाडपर्ब, परम्परा र संस्कृतिको बारेमा लामो प्रवचन दिन सक्ने कमरेड ओली शुक्रबार बिहान नेताहरूको उपस्थीतिमा सुर्यअंकित केक काट्दै ‘वर्थ डे’ मनाउँदै गरेको दृष्यले उनको विगतभन्दा वर्तमान नयाँ परिबेशसँग घुलमिल भएको आभास मिल्दैछ ।

सामान्य मानिसले पनि बुझ्ने कुरा– मानिस होस् कि जीवजन्तु, केवल एकपटक जन्मिन्छ । ह्याप्पी बर्थ डे भनेको वास्तवमा जन्मस्मृति मात्र हो । मानिसहरूले फेसनको रुपमा मनाइरहेका हयाप्पी वर्थ डे अर्थात जन्मदिन तारिखमा होस् वा गते, केवल एकसँग मात्र मेल खान्छ । जन्मिनेले चाल नपाउने जन्माउनेले भनेको समयमा जन्माउन नसक्ने चिज हाम्रो मुलुकमा कसले, कसरी र किन प्रवेश गरायो ? एकीन जानाकारी पाइँदैन । जन्मस्मृति कुनै योगदान हैन । न त आफ्नो प्रयासले ल्याएको परिवर्तन होस् । हरेक साल आफ से आफ आउने एउटा मिति जसले थप अमुल्य समयलाई शहिद बनाउँदै बाटो लाग्छ । सबैको जीवनमा नचाहेर पनि हरेक साल आउने जन्मस्मृति मनाइरहनु एउटा भ्रम वा देखावटीसिवाय केही होइन ।

प्रत्येक बढ्दो जन्मस्मृति दिवसले घट्दो आयुलाई प्रतिविम्बित गरिरहेको हुन्छ भन्ने बुझ्दै गर्दा दिनानुदिन मृत्यु नजिक आइरहेको मान्न सकिन्छ । कसैले दिएको उधारो शुभकामनाले जीवन लम्बिने पनि हैन । न जीवन कष्टकर नै हुने हो । जन्मदिन मनाइरहँदा सम्बोधन गर्न बिर्सिएको अर्को पाटो देख्ने हो भने जन्मस्मृति त शोकसँग नजिक हुनुपर्ने हो सेलिब्रेसन वा उत्सव होइन । जमघट, भेटघाट र रमाइलोको निम्ति हाम्रो चाडपर्ब र संस्कृतिले कतै नठगेको बुझ्न हाम्रा असंख्य बिदा काफी छन् ।

आफ्ना बुवाले आजसम्म कुनै केक नकाट्दा पनि लामो जीवन हाँसी–हाँसी बिताइरहेको बुझेका कमरेड ओलीले आफ्नो जन्मस्मृतिमा पार्टीको चुनाव चिन्ह अंकित केक काट्दै दिन चाहेको सन्देश उनको राजनैतिक सिद्धान्त र जीवन दर्शन सुहाउँदो नभएको मान्नेहरू काफी छन् । एम्ब्रोइडरी गरेको केक नकाट्दा पनि कमरेड ओलीको ‘आन वान शान’मा कुनै कमी नरहेको राम्रोसँग बुझ्ने उनको चतुर दिमाग विगत ४ वर्षदेखि नयाँ कुलतमा कसरी फस्न पुग्यो ? उनको १४ वर्षे कठिन जेल जीवन देखेका, जनवादी बिहेमा चिया र बिस्कुट खाएकाहरू पछिल्लो समय नमिठो मान्दै केक खान विवश भएको दृष्य साँच्चिकै रोचक र अर्थपूर्ण लाग्दैछ ।

चाणक्यको दियो :

मगध साम्राज्यको सेनापति ब्यक्तिगत कामको शिलसिलामा चाणक्यलाई भेट्न पाटलीपुत्र पुगे । साँझको समयमा आफ्नै कुटीमा रहेका चाणक्य दियो बालेर केही लेख्दै थिए । केही समयको पर्खाइपछि मगध सेनापतिले चाणक्यसँग भलाकुसारी गर्ने मौका पाए । बातचित सुरु गर्नुपूर्व कुटीमा बलिरहेको दियोतर्फ देखाउँदै चाणक्यले सेवकलाई इसारा गरे । तत्पश्चात सेवकले बलिरहेको दियो निभाउँदै अर्को दियो बाले । आवश्यक भलाकुसारीलाई बिट मार्दै सेनापतीले चाणक्यसँग बिन्ती गर्ने हिम्मत जुटाए । महाराज, मेरो एउटा उत्सुकतालाई समाधान गरिदिनु होस् ।

तत्काल चाणक्यले सेनापतीसँग उत्सुकता सोध्न पुगे । महाराज, मेरो आगमनको समय बलिरहेको दियोलाई निभाएर ठिक उस्तै किसिमको दियो किन बाल्नुभयो ? कृपया जानाकारी पाउन पाए आभारी हुने थिएँ ।

चाणक्यले हल्का मुस्कान अनुहारमा ल्याउँदै भने– ‘सेनापतीजी, तपाईं आएको समय बलेको दियोमा राज्यको तेल प्रयोग गर्दै राज्यको काममा ब्यस्त थिएँ । जब हामीहरूको भलाकुसारी नितान्त ब्यक्तिगत हुने बुझ्नासाथ निजी तेल प्रयोग गरिएको दियो बालेको हुँ ।’ उनले थप्दै भने, ‘राष्ट्रप्रेम वा राष्ट्रवाद भनेको राज्यको सम्पत्तिको रक्षा गर्नु पनि हो ।’ मगध राज्यको सेनापति चाणक्यको राष्ट्रभक्तिले नतमस्तक हुँदै दरबार फर्किए ।

माथिको कथामा जस्तो प्रधानमन्त्री ओलीको जन्मस्मृतिको केक उनकै निजी पुँजीबाट किनिएको सुन्न पाइयोस् । राष्ट्रवादको परिभाषाभित्र सार्वभौम सत्ता, देशको माटो वा सीमाना मात्र हैन राज्यको सम्पत्तिको दुरुपयोग नगर्नु पनि हो भन्ने कुरा राष्ट्रवादी कमरेड ओलीले बुझ्नु नै हुनेछ ।

सुशासन :

प्रधानमन्त्री ओली करिब तीन करोड नेपालीलाई राष्ट्रवादको जगमा समृद्धिको सपना देखाउँदै सत्तासिन हुन सफल भएका छन् । उनले देखेको समृद्धिको सपना पूरा गर्न मुलुकमा विधि र सुशासन हुनु अनिवार्य मानिन्छ । विश्वका गरीब मुलुकमध्यमा शानको साथ नाम लेखाउन सफल देशहरूलाई सन् १९९२ पछि दाताहरूले आर्थिक सहायता वा ऋण दिन पहिलो शर्त सुशासन खोज्ने गरेको प्रधानमन्त्री ओली जानाकार छन् । वास्तविक अर्थमा सुशासन भनेको भ्रष्टाचार नियन्त्रण, गरिबी निवारण, सामाजिक न्याय, आर्थिक अनुशासन, विभेदको अन्त्य, वित्तीय जवाफदेहिता र राजनीतिक स्थिरता भएको अवस्थालाई मानिन्छ ।

कमरेड ओलीको मुर्छित सपना असङ्ख्य छन् । उनका सपना पूरा गर्न ठुलो धनराशीको आवश्यकता पर्दछ । नेपालको बलबुताले कर्मचारी पाल्न नपुग्ने आम्दानीको भरमा मुर्छित सपना जगबिनाको घर हुने मान्न सकिन्छ । दाताहरू मार्फत पूरा गरिने सपनाको निम्ति दाताले खोज्ने सुशासन कमरेड ओलीको निम्ति ठुलो टाउकोदुखाइ रहेको बुझ्न सकिन्छ । करीब ६५ वर्षको राजनैतिक लडाईको दौरान देशमा जरा गाडेको दण्डहीनता, भष्ट्राचार, मनपरीतन्त्रको कारण सिर्जित आर्थिक असमानतालाई उचित ढंगले हल गर्न एक्लो प्रयास काफी हुने छैन । आफ्नो मुर्छित सपना पूरा गर्न चाहिने ठुलो धनरासीको निम्ति दाताहरूले खोज्ने विधि र सुशासनको प्रतिबद्धता लञ्च र केक राजनीतिसँगै चिप्लिसकेको छ । देशभित्रको दिग्गजहरू, राष्ट्रवादीहरू र प्राविधिक दिमागहरूसँग सहयोग, सल्लाह, चिन्तनमनन गर्न लाग्नुको साटो विश्वभर चर्चित विधिको शासन र सुशासनलाई आफ्नो अधिकार कटौती ठान्न थालेको सङ्केत मिल्दै गर्दा कमरेड ओलीको कार्यकाल थप चुनौतीपूर्ण हुने देखिन्छ ।

अन्तमा,
नातावाद, कृपावाद, भनसुनवाद, श्रीमतीवाद, क्षेत्रवाद, छाडातन्त्र, मनपरी तन्त्रले गाँजेको राजनीतिलाई ठिक समयमा सम्बोधन गर्न विधिको परिपालन निर्मम ढंगले गर्नै पर्दछ । नेपालमा मन्त्री बन्न चाहने मानिसहरूको स्वार्थ के हो ? किन मानिस मन्त्री बन्न मरीहत्ते गर्छन् भन्ने सवालको उचित जवाफ तत्काल खोजिनु पर्दछ । देश विकास गर्न आवश्यक अंकगणित देशवासीले प्रदान गरेको अवस्थामा अनुपयुक्त दुई तिहाईको पछि लाग्ने कार्यले समृद्ध नेपालको सपना ओझेलमा पर्नेछ । सुविधाजनक बहुमतबाट विकासको निम्ति कुनै कठिनाई नपर्ने जान्दाजान्दै राजनैतिक आयुको निम्ति खोजिने दुई तिहाईभित्र लुकेको हरियो सर्पले गर्न सक्ने काम भनेको समृद्ध नेपाल हैन ‘सत्यानास’ नेपाल हो भन्ने बुझ्नै पर्दछ ।

दुई तिहाइको बलमा गरिने काम भनेको महाभियोग, सन्धी र संविधान संसोधन सिवाय अरु केही नपर्ने बुझेका कमरेड ओली अनुपयुक्त शक्ति आर्जनतिर लम्के त्यही शक्ति विनासकारी हुन सक्नेछ । अंसख्य कुकामले थलापरेको नेपाली लोकतन्त्रलाई सुन्दर, परिस्कृत र आधुनिक बनाउने ठुलो अवसर प्राप्त गरेका प्रधानमन्त्री ओली देशलाई मण्डेला शैलीले हाँक्छन् कि पुटिन शैलीमा भन्ने नयाँ उत्सुकता राजनैतिक विश्लेषक सामु उपस्थित भएको छ । उनको मुर्छित सपना साकार पार्ने विधि र सुशासन केक, लञ्च–राजनीतिको कैदी नबनोस् । चाणक्यको दियो वालुवाटार र सिंहदरबारमा अलग–अलग बलेको देख्न पाइयोस् । कमरेड ओलीको कार्यकालमा नराम्रो बोल्न, देख्न, सुन्न र लेख्न नपरोस् । सफल कार्यकालको बधाई तथा शुभकामना ।