कर्मचारी नआएपपिछ प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतले लेखे पत्र

कर्मचारी नआएपपिछ प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतले लेखे पत्र


प्रदेश २ मा कर्मचारीहरु हालसम्म उपस्थित नभएपछि मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले प्रधानमन्त्रीलाई सहयोगका लागि पत्र लेखेका छन् । प्रदेश २ मा संघीय सचिवालयबाट खटाइएका कर्मचारी बिना जानकारी कार्यस्थलमा नआएपछि मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई सहयोगको लागि शनिवार पत्र लेखेका हुन् ।

मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा खटाइएका कर्मचारीहरू अझै पनि उपस्थित नभएको र प्रदेशका लागि चाहिने आवश्यक स्रोत र साधनको पनि अभाव रहेको भन्दै सहयोग गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका हुन् ।

मुख्यमन्त्री राउतले प्रम ओलीलाई लेखेको पत्रमा गत फागुन २ गते नै प्रदेश सरकार गठन भएर काम कारबाही अघि बढाउने समयमा कर्मचारीको अभाव तथा भएका कर्मचारीले समेत असहयोग गर्न थालेपछि काम अगाडि बढाउन अप्ठ्यारो भएको उल्लेख गरिएको छ ।

प्रदेश २ को संसद् सचिवालयमा खटिएका २७ कर्मचारीमध्ये सात जना मात्रै आइपुगेको छन् । सह–सचिव दिवाकर पौडेलको नेतृत्वमा सात जना कर्मचारी गत आइतबार पुगेको बताइएको छ ।

संसद् सचिवालयमा खटिएका सबै कर्मचारी नआउँदा प्रशिक्षणका लागि केन्द्रीय संसद् सचिवालयबाट आएका चार जना कर्मचारी पनि जनकपुरमै रोकिएका छन् । यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयमा चार जना कर्मचारी मात्रै छन् । ३३ जना कर्मचारी खटाइएको यो मन्त्रालयका अरू कर्मचारी अझै आइपुगेका छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि १० जना कर्मचारी मात्रै हाजिर भएको बुझिएको छ भने २७ जना कर्मचारी खटाइएको यो मन्त्रालयका अन्य कर्मचारी आइपुगेका छैनन् ।