प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट


धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमीफाइनलमा पुग्ने अन्तिम टोलीको आजको खेलले टुङ्गो लागेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो । पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलमाथि ९८ रनको शानदार जीत हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित बनाएको हो । दोश्रो खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिममाथि १२ रनको जित हात पारेको छ ।

पहिलो खेलमा नेपाली टोलीकी कप्तान समेत रहेकी पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीको उत्कृष्ट प्रदर्शनले पूर्वाञ्चलले मध्यपश्चिमाञ्चल विरुद्ध फराकिलो जित दर्ता गर्दै समुह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

टस जितेर व्याटिङ गरेको पुर्वाञ्चलले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो । पूर्वाञ्चलका लागि काजोल श्रेष्ठले ४२, कप्तान रुवीना क्षेत्रीले ४१ र रोमा थापाले २५ रनको योगदान दिएकी थिइन् । तेश्रो विकेटका लागि क्षेत्री र श्रेष्ठले ६८ रनको साझेदारी गरेका थिए । मध्यपश्चिमाञ्चलकी अनुपमा गिरी, नेरी थापा, साया बस्नेतले समान १÷१ विकेट लिएका थिए ।

१ सय ३५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको मध्यपश्चिमाञ्चल १९ ओभरमा सबै विकेट गुमाउँदै ३६ रनमै समेटिएको थियो । मध्यपश्चिमाञ्चलले १२ रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमालका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडीले खाता समेत खोल्न सकेनन् । उसका लागि सीता मगरले ६ तथा शान्ति खत्री र श्रृष्टी डाँगीले समान ४÷४ रन बनाए । मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्र, अनुपमा चौधरी र संगम तामाङले समान २÷२ विकेट लिईन् । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्री भईन् ।

दोश्रो खेलमा मध्यमाञ्चल सुदुरपश्चिममाथि १२ रनको जित निकाल्दै समुह विजेता वनेर अन्तिम चारमा पुगेको छ । टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५ रन बनायो । मध्यमाञ्चलका लागि सिता श्रेष्ठले २३, अस्मीता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विराडीले १४÷१४ रनको योगदान दिएकि थिइन् । दोश्रो विकेटका लागि रोशनी र अस्मिताले २९ रनको साझेदारी गर्दै मध्यमाञ्चलको सम्मानजनक योगफल पुराएकि थिइन् । सुदुरपश्चिमकी कविता जोशीले ४ तथा कविता कुवर र लक्ष्मी साउदले समान १÷१ विकेट लिएका थिए ।

१ सय ६ रनको मध्यम लक्ष्य सहित मैदान उत्रिएको घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरुवात गरेपनि जित हासिल गर्न सकेन् । सुदुरपश्चिमलले २० ओभरमा ३ विकेटको क्षतीमा ९३ रन मात्रै बनाउन सफल भयो । सुदुरपश्चिमका लागि सुरुवाती खेलाडी कविता कुँवर र कप्तान मञ्जु वोगटीले ३६ रनको साझेदारी गरेका थिए । कविताले २२ रन बनाईन् भने कप्तान मञ्जुले ८ रन बनाईन् । बलिङमा उत्कृष्ट प्रदर्शन गरेर तेश्रो नम्वरमा व्याटिङ गर्न आएकी कविता जोशीले अविजित रहदै ३९ रन वनाए पनि आफ्नो टिमलाई जिताउन सकिनन् । नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ भईन् ।

सेमिफाईनलमा मध्यमाञ्चलले समुह ए को विजेता बन्दै समुह वि को उप विजेता पुर्वाञ्चलसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएको छ । समुह ए को उपविजेता सुदुरपश्चिमलले समुह वीको विजेता विभागीय टोली एपीएफसँग फाईनल प्रवेशका लागि खेल्नेछ । सेमीफाईनलका दुवै खेल फाप्ला क्रिकेट मैदानमा हुने छन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

– सीताराम ओझा, धनगढी