सिड्नीमा मनपराइयो श्वेताकी कान्छी

सिड्नीमा मनपराइयो श्वेताकी कान्छी


– राजन घिमिरे, सिड्नी

चलचित्र कान्छी हेरिरहँदा सिड्नीवासी नेपालीहरूले ‘हाँसो’को मनोरन्जन जति पाए, त्योभन्दा बढी सिनेमाको पर्दामा पात्रहरू भावुक देखिँदा तीसँगै दर्शकले आँशु पनि खसाले । ‘म सिड्नी आएको १४ महिना भयो । यसबीचमा धेरै नेपाली चलचित्रहरू हेरियो तर कान्छीले मन छोयो,’ चलचित्र हेरिसकेपछि नवीन पौडेलको प्रतिक्रिया थियो ।

हिजो शनिबार सिड्नीको हर्सभिलमा रहेको इभेन्ट सिनेमामा प्रदर्शन गरिएको चलचित्र कान्छी हेर्न सिड्नीवासी नेपालीहरूको बाक्लै उपस्थिति थियो । यसबाट उत्साहित फोर नेसन्स इन्टरनेशनलका मन केसीले भने– ‘अष्ट्रेलियावासी नेपालीहरूलाई राम्रो चलचित्र देखाउने हाम्रो उद्देश्यले मूर्तरूप पाईरहेको छ । हामी खुशी छौँ ।’ केसीले चलचित्र कान्छीको अष्ट्रेलिया अधिकार किनेका छन् । दर्शकहरूकै मागलाई ध्यानमा राखेर आइतबार पनि सिड्नीको बरूडमा रहेको इभेन्ट सिनेमामा दोस्रो शो राखिएको केसीले जानकारी दिए ।

चलचित्रले विशेष गरेर सिड्नीमा महिला दर्शकहरूको मन जितेको पाइयो भने युवाहरूलाई तान्न सक्ने मसला र खुराक चलचित्रमा समावेश रहेको बाबा एजुकेशनका रविन्द्रकुमार शर्माको भनाई थियो ।

विशेष गरेर अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राईबीचका केही दृश्यहरू यस्ता छन् कि जो–कोहीको पनि आँखा रसाउँछ । यस मामिलामा दर्शकहरूलाई बाँध्न निर्देशक आकाश अधिकारी सफल देखिन्छन् । चलचित्रलाई दर्शकप्रिय बनाउन राजनराज शिवाकोटीको गीतसंगीतको पनि महत्वपूर्ण भूमिका रहेको छ । ‘यी दुई शो पछि हामी सिड्नीमा अरू शो पनि गर्नेछौँ र ती शो हरूमा श्वेता खड्का पनि आउनुहुन्छ’, कोमल पाठकले जानकारी दिए ।

यसैबीच यतिबेला नेपालमा रहेकी अभिनेत्री एवम् यो चलचित्रकी निर्मात्री श्वेता खड्काले सिड्नीको पहिलो प्रदर्शनमा चलचित्र हेरेर मन पराइदिनु भएकोमा सिड्नीवासी नेपालीहरूलाई धन्यबाद दिएकी छिन् । अन्य शोहरूमा पनि साथ दिनुहुने छ भन्ने विश्वास उनले व्यक्त गरेकी छिन् ।