निशान्त र सुनितालाई म्याराथन उपाधि

निशान्त र सुनितालाई म्याराथन उपाधि


प्रोलिफिक स्कुलका निशान्त खड्का र विजेश्वरी सैनिक विद्यालयकी सुनिता श्रेष्ठले तेश्रो महर्षि म्याराथन २०७४ को उपाधि जितेका छन् । निशान्तले म्याराथनअन्तर्गतको ५ किमी दौड १६.२४ मिनेटमा पूरा गर्दै प्रथम स्थान हात पारेका हुन् । यस्तै महिलातर्फ सुनिताले उक्त दुरी १९.५० मिनटमा टुङ्याउँदै स्वर्ण हात पारेकी थिइन् ।

सामाखुसीस्थित महर्षि विद्यालयको वार्षिकोत्सवको उपलक्षमा आयोजना गरिएको प्रतियोगिताको पुरुषतर्फ न्यूटन स्कुलका रिचार्ड तामाङ्ग र न्यू हिमालयन स्कुलका संगम बिष्ट द्वितीय र तृतीय भए । तामाङले उक्त दूरी १६.२५ र बिष्टले १७.३५ मिनटमा पुरा गरेका थिए ।महिला तर्फ विजेश्वरीकै स्वेक्षा बलामी मगर र कुशलता तामाङले २०.२५ र २०.४२ मिनटका साथ दोश्रो र तेश्रो स्थान हात पारे ।

स्कुलका अध्यक्ष तथा सांसद प्रकाशचन्द्र दवाडीले प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरूलाई नगद ७, ५ र ३ हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।

विद्यार्थीहरू मानसिक र शारिरीक रुपमा स्वस्थ रहेमा राष्ट्र निर्माणमा योगदान पुग्छ भन्ने भावनालाई मूर्तरुप दिन स्कुलले आफ्नो बार्षिकोत्वस तथा अभिभावक दिवसका अवसरमा खेलकुद कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । म्याराथनमा २० बिद्यालयका ३ सय खेलडीहरुले सहभागिता जनाएका थिए ।