प्रदर्शनको तयारीमा मिष्टर भर्जिन

प्रदर्शनको तयारीमा मिष्टर भर्जिन


राजन घिमिरे, सिड्नी

यतिबेला प्रबासबाट पनि नेपाली चलचित्र निर्माण हुने क्रम बढ्दो छ । यसै क्रममा अष्ट्रेलियाबाट मिस्टर भर्जिन नामक चलचित्र निर्माण भएको छ ।

चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश ’टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । केही दिनअघि अडियो सार्वजनिक गरिएको गीतको आइतबार भिडियो सार्वजनिक गरिएको हो । काठमाडौँमा एक विशेष कार्यक्रमबिच ‘टुल्की’को भिडियो सार्वजनिक गरिएको थियो । वर्ल्डवाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानलमा अपलोड गरिएको गीतमा सुरज पण्डितको स्वर, शब्द र सङ्गीत रहेको छ ।

भिडियोमा चलचित्रका मुख्य कलाकारहरू गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा, रविन्द्र झाको साथै श्रद्धा प्रसाई, स्मृति पोखरेल, इलियन मरान्डाको अभिनय रहेको छ ।

वर्ल्डवाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सहनिर्मातामा सन्दिप उप्रेती रहेका छन् । चलचित्रको रिलिज मिति छिट्टै घोषणा गरिने जनाइएको छ ।