सिड्नीमा नेपाली विद्यार्थी वेपत्ता

सिड्नीमा नेपाली विद्यार्थी वेपत्ता


– राजन घिमिरे (सिड्नी, अष्ट्रेलिया)

यहाँ अध्ययनरत एक नेपाली विद्यार्थी वेपत्ता भएका छन् । तनहुँ मिलडाँडा घर भई अध्ययनका लागि अष्ट्रेलिया आएका सुवास केसी एकाएक वेपत्ता भएका हुन् ।

करिब एक हप्तादेखि उनको खोजी भइरहे पनि केसीको अवस्था पत्ता लाग्न सकेको छैन । अष्ट्रेलियन प्रहरीले पनि खोजीलाई तिव्र बनाएको बुझिएको छ । सुवासका भान्जा नाता पर्ने क्षितिज क्षेत्रीले घटना र विचारसंग कुरा गर्दै भने, ‘मामा एकाएक गायव हुनुभयो । घरमा सम्पर्क गर्न छाडेपछि घरका सदस्यले हामीलाई उहाँका बारेमा बुझ्न आग्रह गर्नुभयो । यहाँ हामीले सम्पर्क गर्नखोज्दा कतै सम्पर्क हुन सकिरहेको छैन ।’

सुवासको खोजीमा क्षितिजले केसीका सबैजसो साथीहरुसँग सम्पर्क गरिसकेका छन्। उनका अनुसार वेपत्ता केसी केही हप्ता अघिदेखि नै साथीहरुसँग छुट्टिएर नयाँ ठाउँमा बस्न थालेका थिए । क्षितिजले भने, ‘उहाँ स्टार्थफिल्डस्थित नयाँ ठाउँमा एक्लै बस्न थाल्नुभएको थाहा पाएपछि हामीले सम्पर्कको प्रयास गर्यौं । तर मामाले मोवाइल फोन, आफ्ना कागजात सबै कोठामै छोडेर हिंड्नुभएको रहेछ । कता जानुभएको हो केही थाहा छैन ।’

क्षितिजका अनुसार उनलाई केही समय पहिले मानसिक समस्या पनि देखिएको थियो । तनाव उच्च स्तरमा देखिएपछि साथीहरुले उनलाई उपचार गर्न अस्पताल पुर्याएका थिए । उपचारपछि उनी सामान्य अवस्थामा नै आएका थिए ।

सुवास करिव ३ महिना पहिले मात्र इनफर्मेसन टेक्नोलोजी अध्ययन गर्न अष्ट्रेलिया आइपुगेका थिए । सिड्नीस्थित चाल्स स्र्टट विश्वविद्यालयमा स्नाकोत्तर अध्ययनरत सुवास पहिलो सेमेस्टरको अध्ययन सकेर विदामा थिए ।