प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा पूर्वाञ्चलमाथि ७ विकेटको जित निकाल्दै एपिएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको च्याम्पीयन भएको हो ।
चीरप्रतिद्धन्दी विभागीय टोली एपीएफ र पूर्वाञ्चलविच भएको फाईनल निकै सनसनीपूर्ण हुने अनुमान गरिएको थियो । प्रतियोगितामा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका कारण कस्ले फाइनलमा बाजी मार्ला त्यो चर्चाको विषय बनेको थियो । क्रिकेटजस्तो अनिश्चितताको खेलमा जस्ले पनि बाजी मार्न सक्ने भएकोले फाईनल खेलमा त्यस्तै अपेक्षा गरिएको थियो ।
विडम्वना, फाइनल खेल दर्शकहरुले सोचेको जस्तो रोमान्चक र सनसनीपूर्ण हुन सकेन् । पूर्वान्चलको फितलो प्रदर्शन एपीएफका लागि सहज जितको वाटो बन्यो । परिणाम पनि त्यस्तै भयो, झिनो चुनौंतिको सामना गर्ने क्रममा एपीएफले सहज जित निकाल्दै च्याम्पियन बन्यो । जितसंगै एपीएफले ५ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो । त्यस्तै उपविजेता पूर्वाञ्चलले २ लाख नगद सहित ट्रफी र मेडलमा चित्त बुझाउनु परेको थियो ।
टस हारेर व्याटिङको निम्तो पाएको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै ६० रन मात्रै बनाएको थियो । पूर्वाञ्चलका लागि काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि छुन सकेनन् । फाइनलमा पूर्वान्चललाई सस्तैमा समेट्न एपीएफका लागि रेखा रावल, करुणा भण्डारी, रितु कनौजीया, अञ्जली चन्द र सिता रानामगरले समान १÷१ विकेट लिएका थिए ।
६१ रनको झिनो विजय लक्ष्यका साथ मैदान उत्रिएको एपीएफले १६ दशमलव ३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेटाएको थियो । एपीएफका लागि ज्योती पाण्डेयले २२ र सरिता मगरले अविजीत रहदै १५ रन बनाएकि थिइन् । पूर्वाञ्चलकि शान्ति चौधरी र संगीता राईले समान १÷१ विकेट लिए पनि आफ्नो टीमलाई विजय दिलाउन असफल भएका थिए । फाइनलमा उत्कृष्ट प्रदर्शन गरेकि ज्योती पाण्डेय ‘प्लेयर अफ द फाइनल’ बनेकि थिइन् ।
यस्तै प्रतियोगिताको ‘वुमन अफ द सिरिज’ को उपाघि पूर्वाञ्चलकि कप्तान रुवीना क्षेत्रीले प्राप्त गरिन् । उनले उक्त उपाधि सहित १० हजार नगद र ट्रफी प्राप्त गरेकि थिइन् । त्यस्तै ‘उत्कृष्ट बलर’को उपाधि पनि क्षेत्रीकै पोल्टामा परेको थियो । ‘उत्कृष्ट व्याट्सम्यान’ को उपाधि पूर्वान्चलकि काजोल श्रेष्ठलाई जितिन् । काजोलले यस प्रतियोगितामा सर्वाधिक १ सय ६ रन बनाएकि थिइन् । ‘उदीयमान खेलाडी’ को उपाधि सुदुरपश्चिमकी लक्ष्मी साउद प्राप्त गरिन् । त्यस्तै ‘फेयर प्ले’ को पुरस्कार पनि सुदुरपश्चिमको टिमले जितेको थियो । उनीहरुले नगद ५ हजार प्राप्त गरेका थिए ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रदेश नम्वर ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारी, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले शिल्ड तथा प्रमाण पत्र वितरण गरेका थिए ।
– सीताराम ओझा, धनगढी
प्रतिक्रिया