जुडोको विकासको लागि ओलम्पिक सोलिडारिटी कोर्ष

जुडोको विकासको लागि ओलम्पिक सोलिडारिटी कोर्ष


नेपाल जुडो संघको आयोजनमा भएको अन्तर्राष्ट्रिय ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटि तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सहयोगमा भएको कोर्षमा जुडोका ४० प्रशिक्षार्थीहरुले जुडोसँग सम्बन्धित ज्ञानलाई पुनर्ताजगी गर्नुका साथै नयाँ ज्ञान सिप हासिल गर्न सफल भएका छन् । जसले आगामी दिनमा नेपालमा जुडो खेलको विकास र विस्तारका साथै नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

कोर्षमा सहभागिहरुलाई अन्तर्राष्ट्रिय जुडो महासंघका बिज्ञ अमर मेजिदाले प्रशिक्षण प्रदान गरेका थिए । विज्ञलाई नेपाली सहयोगी तथा बिज्ञ सुप्रशिद्ध ताम्राकार र राजीव प्रधानले सहयोग गरेका थिए ।

सो अवसरमा नेपाल जुडो संघले २० रेफ्रि तथा ब्यवस्थापन सम्वन्धि सेमिनार पनि सञ्चालन गरेको थियो । उक्त सेमिनारबाट २० जना लाभान्तित भएका थिए । सेमिनारमा २०१८ बाट जारी भएको जुडोका नयाँ नियमहरुको बारेमा नेपाल जुडो संघका महासचिव धर्म श्रेष्ठ, प्रमुख प्रशिक्षक विरेन्द्र रंजित, अन्तर्राष्ट्रिय रेफ्रि मनोज बहादुर के.सी.ले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षार्थीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाले प्रमाण पत्र प्रदान गरेका थिए । उपाध्यक्ष लामाले जुडो खेलबाट नेपाली खेल क्षेत्रले निकैनै आशा गरेको भन्दै प्रशिक्षार्थीहरुले प्राप्त ज्ञानले नेपालमा जुडो खेलको विकास र विस्तरमा सहयोग पुग्ने र ओलम्पिकमा जुडोले पदक हात पार्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।