कोस्यारीले देखाए भारतीय रेलको सपना

कोस्यारीले देखाए भारतीय रेलको सपना


नेपाल भारत प्रबुद्ध ब्यक्ति समूहको बैठकमा भाग लिन नेपाल आएका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले काठमाडौँमा भारतीय रेल पुग्नुपर्छ भन्ने अवधारणामा भारत अगाडि बढेको जानकारी दिएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताए ।

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को लागि भारततर्फका संयोजक कोस्यारीले प्रजातान्त्रिक पद्धतिबाट नयाँ सरकार गठन हुनु ठूलो उपलब्धि भएको उल्लेख गदैसंविधानअनुसार निर्वाचनमार्फत सरकार गठन भएकोप्रति खुशी व्यक्त गरे । कोस्यारीले भर्खरै गठन भएको सरकारसँग जनताको उच्च अपेक्षा रहेकाले जनआकांक्षा पूरा हुने विश्वास समेत व्यक्त गरे ।

नेपालसँग भारतको सम्बन्ध राजनीतिक दल र जनस्तरमा अटुट रहेको उनको भनाई थियो । भारत र नेपाल बीचको सम्बन्ध दूधमा मिलाएको चिनी जस्तै भएको तर्क उनको थियो । उनले दुई देशमा हुने साइबर अपराध एवं अन्य सुरक्षा चासो र विकासका मुद्दालाई एकापसमा मिलेर समाधान गर्न चाहेको पनि बताए ।