पूर्वलडाकु महिला र पुनर्स्थापन राहत प्याकेज

पूर्वलडाकु महिला र पुनर्स्थापन राहत प्याकेज


-विष्णु शर्मा
नेपालले संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगपछि द्वन्द्वकालमा एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीमा संलग्न गराइएका च्ाार हजार आठजना पूर्वमाओवादी लडाकुलाई बिदाइ गरेको एक वर्ष बितेको छ । माओवादी पार्टीमा आबद्ध उनीहरू सन् २०१० को जनवरीमा अनमिनले जाँचबुझ गरेपछि अयोग्य ठहरिएका हुन् । माओवादी पार्टीअन्तर्गत जनसेनामा रहेका ती पूर्वमाओवादी लडाकुहरूलाई बिदाइ गरेको सर्न्दर्भलाई द्वन्द्व व्यवस्थापन एवम् शान्तिप्रक्रियामा भएको एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा सरकारले लिएको छ । त्यसैले यस विषयलाई सरकारले विश्व मानवअधिकार आवधिक समीक्षा ?जनवरी २५) गर्दै जेनेभामा हालै शान्तिप्रक्रियाको उपलब्धिका रूपमा प्रस्तुत गर्‍यो ।
पूर्वमाओवादी लडाकुहरू सामाजिक जीवनमा घुलमिल हुन गएका छन् । र, यसरी आफ्नै सामाजिक परिवेशमा र्फकनु सकारात्मक पक्ष पनि हो । त्यसैले यसलाई अर्को शब्दमा उनीहरू सामाजिक र आर्थिक हिसाबले समाजमा पुनर्स्थापित हुने क्रममा छन् भन्ने गरिन्छ । यद्यपि, उनीहरूलाई पुनर्स्थापनका लागि उपलब्ध गराइएको सुविधा पर्याप्त छन् या छैनन् ? उनीहरूलाई समाजमा पुनर्स्थापित हुने वातावरण उपयुक्त छ या छैन ? गाउँघरमा जान सक्ने वा समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक बनेको छ या छैन ? साथै बिदाइ गर्दा नै लडाकुहरूलाई मनोसामाजिक विमर्श दिएर पठाइयो ? आदि सवालहरू निकै जटिल छन् । यी सवालका अन्तर्वस्तुलाई महसुस गरी पुनर्स्थापन गरिएमा त्यसले दिगो शान्तिलाई सघाउ पुर्‍याउँछ । घर छोडेर हिँडिसकेपछि नेपाली समाजमा पुरुष लडाकुको तुलनामा महिला लडाकुलाई हेर्ने दृष्टिकोण महिलामैत्री भइसकेको पाइँदैन । चरित्र र आचारणले महिलालाई सुपात्र हो-होइन भन्ने छाप लाग्ने गर्छ । तिनै र त्यस्ता परिस्थितिलाई सामना गर्नेहरू आफ्ना गाउँघरतिर पुनर्स्थापित भएर शिक्षा र सीप आर्जन गर्लान् । र, गरेका पनि छन् । आफूअनुकूल वातावरण पाउन नसकेकाहरू गाउँ छोडेर सहर पस्नुपर्ने बाध्यता छ । गाउँघर छोड्नासाथ पुनर्स्थापनका लागि उपलब्ध गराइने सुविधाहरू अपुग हुन्छन् । १३ वर्षको उमेरमा माओवादी आर्मीमा आबद्ध भएका र हाल १९ वर्षका रविन लामा भन्छन्, ‘गाउँमै आफ्नै परिवारसँग बस्न मिल्ने वातावरण हुने हो भने पुनर्स्थापन प्याकेज पुग्छ तर सहरमा बसेर घर भाडा तिरेर पढ्न त यसबाट कठिन पर्छ ।’
बुझिएअनुसार बिदाइ भइसकेपछि पनि जो सहरमा बसेर शिक्षा आर्जन गरिरहेका छन् उनीहरूलाई दिइएको पुनर्स्थापन प्याकेजले खर्च धान्न मुस्किल परेको छ । तीमध्ये पनि महिला लडाकुहरू धेरैजसोले विवाह गरिसकेका छन् वा गर्भवती भएका छन् वा तिनीहरूका साना बच्चा छन् अनि जसले अन्तरजातीय विवाह गरेका छन्, तिनीहरूले थप चुनौतीहरू व्यहोर्नुपरेको छ । उनीहरूको जीवन सहज हुन सकेको छैन । पुनर्स्थापन प्याकेजमा उनीहरूलाई स्कुलमा लाग्ने शुल्क, पोसाक र मासिक खर्चका रूपमा एक हजार पाँच सय रुपैयाँ दिने गरिएको छ । इरिन समाचारका अनुसार ६० प्रतिशत पूर्वलडाकुहरूले राहतका लागि टोलफ्री फोनबाट सर्म्पर्कमा गरे पनि आठ सय आठजनाले मात्र शिक्षा र औपचारिक तालिम लिइरहेका जानकारी युनिसेफले दिएको छ । सशस्त्र युद्धका बेला (१९९६-२००६) माओवादीले हजारौँ बालबालिकालाई जनयुद्धमा प्रयोग गरेको थियो । संयुक्त राष्ट्रसङ्घ बाल कोषअनुसार तीमध्ये ७४ प्रतिशत दुई हजार नौ सय ७३ जना १८ वर्षभन्दा मुनिका थिए जो आवश्यक उमेर नपुगेका र शान्तिप्रक्रिया सुरु भएपछि भर्ना गरिएकाहरू नै अनमिनको रोहवरमा माओवादी अस्थायी शिविरबाट अलग गरिएका हुन् ।