भोलि ‘काकताली’ भन्न नपरोस्
नेपालले डिभिजन फोरमा पाएको सफलता अहिले निकै चर्चाको विषय बनेको छ । राजनीतिक दलहरूको खादा लगाउने सम्मान होस् या खेलकुद मन्त्रालयको नगद दिने सबै ठाउँमा अहिले क्रिकेटका खेलाडीहरू छाएका छन् । खेलाडीहरूले यो सम्मानलाई निकै गौरव र पौरखको महसुस गरेका पनि छन् । सम्मान गर्नेले जसरी गरे पनि उनीहरूले कुनै गुनासो र दुखेसो प्रकट गरेका छैनन् । कहीँ खादा लगाउँदै खाजाको पोको बोकेर हिँडेका छन त कहीँ लाखौँको चेकलाई सुमसुम्याउँदै खुसी साट्ने मौका पाएका छन् । आफूले सुकाएको रगत र बगाएको पसिनाको विभिन्न सम्मान कार्यक्रममा विभिन्न मोल लागे पनि त्यसलाई मात्र सम्मानको रूपमा ग्रहण गरेका छन् । आफ्नो अभिव्यक्तिलाई भने सार्वजनिक गरेका छैनन् । आखिर किन त ? प्रश्न गम्भीर छ ।
क्रिकेटमा कल्पनाबाहिरको सफलतालाई सबैले स्वाभाविक मान्छन् । यसर्थमा कि ‘क्रिकेट इज फन्नी गेम’ । यो खेलमा जुनबेला जे पनि हुन सक्छ । जित्नेले हार्न सक्छ, हार्नेले जित्न । यो क्रिकेटको ‘खासियत’ पनि हो । डिभिजन फोरमा नेपाल अपराजित रही च्याम्पियन बन्नुलाई यसको ज्वलन्तको उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छ । के नेपालले डिभिजन फोर खेल्नुअघि यस्तो कल्पना गरेको थियो ? थिएन नि । डिभिजन तीनमा पुग्ने लक्ष्य राखे पनि यस्तोखाले विजयको नेपाली खेलाडीहरूको कल्पनाबाहिरको कुरा थियो । आखिर नेपाल अपराजित रहेर च्याम्पियन बन्यो, क्रिकेटले आफ्नो छनक देखाइदियो, वास्तविकता यही हो । नेपालको भाग्यमा त्यसबेला ‘चार चाँद’ लागेको थियो । क्रिकेटले पनि साथ दियो, नेपाली खेलाडीहरूलाई रातारात हिरो बनाइदियो । यही हो भाग्यमा भयो भने डोकामा दूध दुहियो भने पनि अट्छ भनेको । यसको अर्थ नेपाली खेलाडीले भाग्य बलियो भएर मात्रै च्याम्पियन बनेका हुन् कदापि भन्न खोजिएको होइन, उनीहरूले उत्कृष्ट प्रदर्शन पनि गरेका हुन् ।
कप्तान पारस खड्काले यो विजयबारे बोल्ने क्रममा विश्वकपमा नेपालमो ढोका बन्द नभएको स्मरण गराउँदै आएका छन् । यसको अर्थ अझै पनि नेपालले विश्वकप खेल्न सक्छ भन्ने उनको दाबी हो । त्यसका लागि ६ महिनापछि बर्मुडामा आयोजना
हुने डिभिजन तीनको तयारीको रणनीति के त ? यसबारेमा सम्बन्धित निकाय क्यान र राज्यको महत्वपूर्ण भूमिका हुनुपर्नेछ । विश्वकपमा पुग्नका लागि डिभिजन तीन नेपालको लागि ठूलो ‘खड्को’ अर्थात् चुनौती बन्ने पक्का छ । यो खड्को पार गरेर डिभिजन दुईमा पुग्न नेपालले फलामको चिउरा चपाउनुपर्ने प्राय: निश्चित छ । यसर्थमा कि डिभिजन तीनमा नेपालको प्रतिस्पर्धा डिभिजन चारको जस्तो सजिलो कदापि हुने छैन । वास्तविक अर्थात् तुलनात्मक रूपमा भन्नुपर्दा डिभिजन चारमा नेपाल नै अन्य सहभागी टिमभन्दा उत्कृष्ट टिम थियो । अमेरिका, मलेसिया र हङकङलाई नेपालपछि बलियो मानिए पनि अन्य सहभागी टिमको प्रदर्शनलाई मध्यनजर गर्दा को कति पानीमा थिए स्वत: अनुमान लगााउन सकिन्थ्यो । यसमा खरो उत्रिँदै नेपालले आफ्नो उत्कृष्टता सावित गरे पनि डिभिजन तीन भने नेपालमा नेपालको अग्निपरीक्षाहरू प्राय: निश्चित छ ।
सोही कुरालाई आत्मसात् गर्दै नेपाल क्रिकेट टिमका विदेशी प्रशिक्षक पुबुदु दासानायकेले सफलतामा मात्र रमाउनुभन्दा निश्चित योजना बनाएर अगाडि बढ्नुपर्ने प्रस्ट पारेका छन् । नेपालले विश्वकप खेल्नेछ भन्दा पनि कहिले खेल्नेछ भन्ने कुराको निर्धारण गर्नुपर्छ । यसको अर्थ नेपाल विश्वकपका लागि उत्कृष्ट टिम भएको र यसका लागि सम्बन्धित निकाय क्यान र राज्यले क्रिकेटलाई पहिलो प्राथमिकतामा राखेर त्यसका लागि तयारीमा जुट्नुपर्ने सन्देश हो । नेपाल डिभिजन फोर होइन, डिभिजन तीनभन्दा माथिको टिम हो । तसर्थ विश्वकपमा पुग्नका लागि डिभिजन तीन अवश्य तगारो बन्नेछ । यसका लागि अहिल्यैदेखि उचित प्रशिक्षण नेपाली टोलीलाई प्रदान गरिएन भने डिभिजन चारको विजय ओझेलमा पर्ने प्राय: निश्चित छ । यतिबेला खेलाडीहरूलाई सर्वपक्षीय सन्तुलनको आवश्यकता रहेकोले खेलाडीलाई कसरी प्रोत्साहन गर्न सकिन्छ त्यसबारेमा सोच्नुपर्ने जरुरी भइसकेको प्रशिक्षक पुदुबुको स्पष्ट सोच छ । साथै उनले यदि नेपालले डिभिजन तीनबाट फड्को मार्न सकेन भने आफ्नो नेपाल बसाइ पनि अर्थहीन हुने प्रस्ट पारेका छन । नेपालले एकदिवसीय मान्यता नपाएसम्म आफू ढुक्क नहुने पनि पुदुवुले बताएका छन् ।
यो अवस्थामा नेपालको डिभिजन तीनको यात्रा ‘कागताली’ मात्रै थियो भन्ने कुरालाई गलत सावित गर्नुपरेको छ । खेलाडीले मुलुकलाई ऐतिहासिक सफलता दिलाएको बेलामा अर्को यस्तै सफलता हासिल गर्न पे्ररित गर्नुपरेको छ । जसका लागि खेलाडीले मात्र नभई अन्य निकायले पनि सोच्नुपर्ने बाध्यता भएकोे छ । खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न र राष्ट्र र खेलप्रेमीले कल्पना गरेको गन्तव्यमा पुर्याउन सबैको सहयोगको जरुरत भएको छ । यसका लागि सम्मान एउटा पाटो बने पनि राष्ट्रको खेलकुदलाई अन्तर्राष्ट्रिय मानचित्रमा पदार्पण गराउन यसलाई कदापि पर्याप्त मान्न सकिँदैन । तसर्थ खेलाडीले देखेको सपना र क्रिकेटप्रेमीले गरेको कामनालाई सार्थकताको मूर्तरूप दिन सबैले होस्टेमा हैँसे गर्नुपर्ने भइसकेकोे छ । यसका लागि राज्यले क्रिकेटलाई विशेष प्राथमिकतामा राखेर भविष्यमा क्रिकेटले दिने प्रभावकारितालाई आत्मसात् गर्नुपर्ने समय भइसकेको छ । अन्यथा आज डिभिजन तीनमा पुगेको नेपाली क्रिकेट भोलि पुन: चारमा नझर्ला भन्न सकिँदैन ।
विश्वकप खेल्ने सबै खेलाडीको चाहना हुन्छ भने आफ्नो टिमले विश्वकपमा खेलेको हेर्ने खेलप्रेमीको धोको हुन्छ । विगतमा नेपालले गरेको प्रदर्शनको विश्लेषण गर्दा अहिलेसम्म विश्वकपमा नेपालको उपस्थिति जनाइसक्नुपर्ने थियो । तर विडम्बना, देशको सङ्क्रमणकालीन राजनीतिक अवस्था र क्रिकेटभित्र चलेको आन्तरिक कहलले गर्दा नेपालले त्यो लक्ष्य भेदन गर्न नपाएको जगजाहेर छ । यसरी लामो समय अवाकको स्थितिको सामना गर्नुपरेको नेपालको क्रिकेटले आफ्नो आधारलाई समेत गुमाउनुपरेको थियो । उमेर समूहका खेलमा एकलौटी राज गर्दै आएको नेपालले आफ्नो स्थान गुमाउनुपरेको थियो भने राष्ट्रिय टोलीको प्रदर्शनसमेत फितलो भएको थियो । जसको कारणले अपेक्षा गरेअनुरूप नेपालले क्रिकेटमा जुन उपलब्धि हासिल गर्नुपर्ने थियो त्यसमा खरो उत्रिन नसकेको कुरा सबैलाई ज्ञात भएकै कुरा हो । हालै सम्पन्न अन्डर– १९ विश्वकपमा नेपालले फितलो प्रदर्शन गरे पनि राष्ट्रिय टिमले भने विश्वकपमा पुग्ने आशा देखाएको छ । यो तथ्यलाई कप्तान पारस खड्काले बारम्बार दोहोर्याउँदै आएका छन् पनि । विश्वकपको बाटो पहिल्याउनमा डिभिजन चार जुनेली रात बनेर आएको अवस्थामा डिभिजन तीनलाई गोरेटो बनाउन अहिले चुनौतीपूर्ण बनेको छ । जसलाई सार्थकताको साँचोमा ढाल्न सबैले ऐक्यबद्धता खाँचो टड्कारो रूपमा देखिएको छ । हेरौँ, विश्वकपमा पुग्ने सपना देखेको नेपालका लागि कसले कस्तो प्रयास गर्छ त्यो अहिले गम्भीर विषय बनेको छ ।
नगद पुरस्कार र सम्मानसँगै खेलाडी दङ्ग
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधिविजेता नेपाली राष्ट्रिय क्रिकेट टोली हालै सरकारबाट नगदसहित सम्मानित भएका छन् । १४ खेलाडीसहित समान १–१ व्यवस्थापक, प्रशिक्षक र फिजियो गरी १७ सदस्यीय टोली सम्मानित भएका हुन् । क्रिकेट टोलीका प्रत्येक सदस्यलाई तीन लाखसहित ताम्रापत्र प्रदान गरिएको थियो ।
सम्मानित हुने खेलाडीहरूमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अमृत भट्टराई, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, अनिलकुमार मण्डल, सुभासप्रसाद खकुरेल, विनोदकुमार दास, सञ्जम रेग्मी, प्रदीप ऐरी, चन्द्र साउद, राहुलकुमार विश्वकर्मा, पृथु बाँस्कोटा तथा सरद भेषवाकर रहेका छन् । सम्मानित हुने अन्यमा व्यवस्थापक वसन्तराज सत्याल अरुण, प्रशिक्षक पुबुदु बाथिया दसानायके तथा फिजियो प्रयुष न्यौपाने रहेका थिए ।
सो अवसरमा खेलकुदको माध्यमबाट मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन विशेष योगदान पुर्याएबापत बक्सिङका दीपक महर्जन, करातेकी गंगादेवी अधिकारी र नेपाल तेक्वान्दो सङ्घलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको थियो । दीपकले १६औँ ग्वाङझाव एसियाडमा कास्य जित्दै नेपाललाई पदकको खडेरीबाट जोगाएका थिए भने छैटौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका थिए । त्यस्तै गंगाले ११औँ दक्षिण एसियाली खेलकुद, छैटौँ राष्ट्रिय खेलकुद, बंगलादेशमा भएको मार्सलआर्टअन्तर्गत कराते च्याम्पियनसिप तथा सिंगापुर खुला कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । यो विधाको पुरस्कारमा ताम्रापत्रसहित जनही १ लाख रुपैयाँ रहेको छ ।
सिंहदरबारस्थित डा. हर्क गुरुङ सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्मानित सबैलाई ताम्रापत्रसहित नगद पुरस्कार प्रदान गरी सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले डिभिजन फोर विजेतालाई दिएको पुरस्कार रकम थोरै भए पनि यस्तो सम्मानले आगामी दिनमा हुने अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दै थोरै ऐतिहासिक उपलब्धिमध्ये क्रिकेटको उपलब्धि सिङ्गो राष्ट्रको गौरवको विषय भएको बताएका थिए । प्रधानमन्त्री भट्टराईले डिभिजन ३ को तयारीका लागि क्यानसँगै अन्य निजी क्षेत्रले यथाशक्य सहयोग गर्ने कुरामा आफू विश्वस्त रहेको विश्वास प्रकट गरेका थिए । प्रधानमन्त्री भट्टराईले खेलाडीहरूका लागि अग्रिम नगद पुरस्कार वृद्धिको व्यवस्थाले पनि सरकार खेलकुदप्रति चासो राख्छ भन्ने सन्देश दिएको बताउँदै खेल क्षेत्रको विकासका लागि सरकारले हरसम्भव प्रयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले क्रिकेटको सफलताले राष्ट्रलाई गर्व गर्ने अवसर प्रदान गरेको बताउँदै खेलाडीको पुरस्कार वृद्धिले खेलाडीलाई गन्तव्यमा पुग्न मद्दत पुगेको विचार व्यक्त गरेका थिए । त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले लिग डिभिजन विश्वकप खेल्ने बाटो भएको बताउँदै डिभिजन फोरको प्रदर्शनले नेपाली खेलाडीमा पनि विश्वकप खेल्ने क्षमता छ भन्ने प्रमाणित भएको बताएका थिए । कप्तान पारसले पुरस्कार वृद्धिको निर्णयले सम्पूर्ण खेल जगत्लाई खुसी तुल्याएको प्रस्ट पारेका थिए । सचिव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको पनि उपस्थिति रहेको थियो ।
रियल काठमाडौं म्याराथन असोजमा
छैटौँ काठमाडौं रियल म्याराथन असोज २७ मा हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिलाको म्याराथन (४२.१९५ किलोमिटर), पुरुष÷महिलाको हाफ म्याराथन (२१.०९७ किलोमिटर), पुरुष÷महिलाको खुला ५ किलोमिटर दौड, छात्र÷छात्रको ५ किलोमिटर दौड तथा पुरुष÷महिलाको ३ किलोमिटर ह्विलचेयरमा प्रतिस्पर्धा हुने कुरा नेपाल एमेच्योर एथलेटिक्स सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले जानकारी गराएका छन् । आगामी १२औँ सागलाई मध्यनजर गरी आयोजना हुन लागेको काठमाडौं म्याराथनमा साग मिसनअन्तर्गत रहेर प्रशिक्षण गरिरहेका खेलाडीले पनि अनिवार्य रूपमा सहभागिता दिनुपर्नेछ । यो म्याराथन खेलााडीहरूका लागि निकै महत्वपूर्ण भएको बताउँदै अध्यक्ष श्रेष्ठले विजय खेलाडीले मात्र मिसन सागअन्तर्गत प्रशिक्षण गर्न पाउने प्रस्ट पारेका छन् ।
कुल सात लाख ४६ हजार पुरस्कार रहेको उक्त म्याराथनको सबै विधामा नगद पुरस्कार रहेको छ । विजेताले एक लाख, उपविजेताले ५० हजार र तेस्रोले २० हजारका दरले नगद पुरस्कार हात पार्नेछन् । यसैगरी शीर्ष दश स्थानमा रहने खेलाडीले नगद पुरस्कार हात पार्नेछन् ।
हाफ म्याराथनमा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमश: ५० हजार, २५ हजार र १० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा स्वदेशी र विदेशी गरी करिब तीन हजार पाँच सय खेलाडीको सहभागिता रहने आयोजकले जानकारी गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुने म्याराथन विभिन्न भागको परिक्रमा गरी पुन: रंगशालामै आएर सकिनेछ । प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेको सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले बताएका थिए ।
पर्वतीय महासङ्घको अध्यक्षमा लामा
पर्वतारोहण खेलकुद महासङ्घ– नेपालको पोखरामा हालै सम्पन्न पहिलो साधारणसभाले युवराज लामाको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । पाँच उपाध्यक्षमा कृष्ण अर्याल, मनबहादुर न्यौपाने, ङवाङ ङिमा शेर्पा, सञ्जीव पाण्डे तथा सुमन देवकोटा रहेका छन् । त्यस्तै महासचिवमा गोविन्द भट्टराई, सचिवमा आरके विष्ट, कोषाध्यक्षमा मेघराज पौडेल तथा सहकोषाध्यक्षमा भूबहादुर गुरुङ छन् । प्रकाशचन्द्र घिमिरे, चेतनराज गिरी, इन्द्रबहादुर राई, बलराम श्रेष्ठ, गणेशमान पुन, हेमन्तराज काफ्ले, दीपक कोइराला, नीलेन्द्रराज श्रेष्ठ, कुमार रानाभाट, विप्लप पौडेल, रञ्जन राजभण्डारी, सुनिता गुरुङ तथा राजेन्द्रबहादुर लामा सदस्यमा चयन भएका छन् ।
साधारणले प्रत्येक वर्षको मार्चमा माउन्टेन स्पोर्टस् फेस्टिबल आयोजना गर्ने, विश्व पर्यटन दिवसका अवसरमा सदस्य सङ्घमार्फत खेलकुद प्रतियोगिता गर्ने तथा प्रत्येक वर्ष महासङ्घमा आबद्ध प्रत्येक सदस्य सङ्घले अनिवार्य रूपमा प्रतियोगिता आयोजना गर्ने निर्णय पारित गरेको महासचिव भट्टराईले जानकारी गराएका छन् । साधारणसभामा महासङ्घमा आबद्ध १० सङ्घका प्रतिनिधि, प्राविधिक, विज्ञलगायतको उपस्थिति रहेको थियो ।
दोस्रो खुला एथलेटिक्स प्रतियोगिता सम्पन्न
नेपाल एमेच्योर एथलेक्टिसको आयोजनामा हालैै दोस्रो खुला एथलेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा एक सय ३५ जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिताको एक सय मिटर पुरुषतर्फ तिलकराम थारू र महिलातर्फ दिलमाया कार्की र मनमनी विष्ट विजयी बनेका थिए । यसैगरी पुरुषतर्फको चार सय मिटरमा तिलकराम थारू र १५ सय मिटरमा कल्याण बानियाँले बाजी मारेका थिए । महिलातर्फको चार सय र १५ मिटरमा क्रमश: दिलमाया कार्की र विन्द्रा श्रेष्ठ प्रथम भएका थिए । त्यस्तै, पुरुष लङजम्प र ज्याभलिनतर्फ दिल्ली खत्री, धीरेन्द्रजंग शाह र महिलातर्फ शिला चौधरी र सीमा चौधरी विजय भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।
एनएसए राष्ट्रिय पौडी २० गते
नेपाल पौडी सङ्घको आयोजनामा एनएसए राष्ट्रिय पौडी प्रतियोगिता यसै महिनाको २० गतेदेखि हुने भएको छ । तीनदिने प्रतियोगिताको खुला र उमेर समूहमा करिब तीन सय खेलाडीको सहभागिता रहने पौडी सङ्घका उपाध्यक्ष महेश नेवा:ले जनाएका छन् । खुलामा २४ तथा उमेर समूहमा ३४ गरी कुल ५८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । खेलहरू सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडीपोखरीमा हुनेछ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सङ्घका महासचिव जगतमान श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय तयारी समिति गठन गरिएको छ । विभिन्न उपसमिति पनि गठन गरिएको छ । उक्त प्रतियोगिता नोभेम्बरमा दुबईमा हुने एसियाली पौडी च्याम्पियनसिपको छनोटका रूपमा समेत रहेको सङ्घले जनाएको छ ।
विश्व सोलिब्याड दिवस सम्पन्न
Badminton Without Borders भन्ने नारासहित विश्व भर ब्याडमिन्टन खेलसँग सम्बन्धित व्यक्ति तथा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी विश्व ब्याडमिन्टन महासङ्घको कार्यक्रम ‘विश्व सोलिब्याड दिवस’ मनाए । सोही अवसरमा नेपाल ब्याडमिन्टन सङ्घले शनिबार द्यबमmष्लतयल ध्ष्तजयगत द्ययचमभचक लेखिएको ब्यानरसहित नेपाल ब्याडमिन्टन सङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षक, प्राविधिक तथा जिल्ला ब्याडमिन्टन सङ्घका पदाधिकारीसहितको र्यालीले दशरथ रंगशालाबाट त्रिपुरेश्वर त्रिभुवन शालिक परिक्रमा गर्दै पुन: रङशालामा आई समापन गर्यो । र्यालीपश्चात् रंगशालामा आई खेलाडी, पदाधिकारी, प्रशिक्षक एवम् प्राविधिकहरूले ब्याडमिन्टन खेलेका थिए ।
ब्याडमिन्टन खेललाई विश्वव्यापी बनाउन, यस खेलप्रति जनचाहना वृद्धि गर्ने र ब्याडमिन्टन खेलको माध्यमले भाइचाराको विकास गर्ने उद्देश्यले विश्व ब्याडमिन्टन महासङ्घले अघिल्लो वर्षदेखि प्रत्येक वर्ष सेप्टेम्बर २९ लाई ब्याडमिन्टन दिवसको रूपमा मनाउने उद्देश्यले ‘विश्व सोलिब्याड दिवस’को आयोजना गर्न लागेको हो ।
तेक्वान्दोमा सीतापाइला टिम च्याम्पियन
मनमोहन अधिकारी स्मृति दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियनको उपाधि सीतापाइला तेक्वान्दो डोजाङले जितेको छ । सीतापाइलाले पाँच स्वर्ण, दुई रजत र दुई कास्य हात पारेको थियो । स्युचाटार तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा विजेश्वरी ज्ञान मन्दिर चार स्वर्ण, एक रजत र तीन कास्य साथ दोस्रो भयो भने तेस्रो स्थानमा रहेको न्यु गोल्ड्सले तीन स्वर्ण, एक रजत र दुई कास्य जितेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा भारतका सञ्जय गुसाईं तथा महिलामा स्युचाटारकी पूजा कार्की उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
प्रतिक्रिया