नयाँ बजेटको तयारीमा सरकार जुट्यो

नयाँ बजेटको तयारीमा सरकार जुट्यो


नयाँ बजेटको तयारीमा सरकार जुटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्षको बजेटको तयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएसँगै मन्त्रालय नयाँ बजेटको तयारीमा जुटेको हो ।

अर्थ मन्त्रालयका सचिव, बजेट तथा कार्यक्रम महाशाखाका अधिकारी तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कायम मुकायम सचिवलाई बजेटको तयारी थाल्न खतिवडाले पदबहालीसँगै निर्देशन दिएका थिए ।

अर्थमन्त्री नियुक्त भएका खतिवडाले मंगलबार अर्थमन्त्रालयका केही महाशाखाहरुबाट ब्रिफिङ लिएका थिए ।

ब्रिफिङका क्रममा उनले आउँदो आर्थिक वर्षको बजेट निर्माणका लागि समय कम रहेको भन्दै तयारी अघि बढाउन निर्देशन दिएसँगै अर्थका अधिकारीहरु बजेटको तयारीमा जुटेका हुन ।

वित्त आयोगका कायम मुकायम सचिव बैकुण्ठ अर्यालले आउँदो वर्षको बजेट निर्माणको तयारीका लागि वित्त आयोगले गरिरहेका काम, स्थानीय तहबाट भइरहेको तथ्यांक संकलन तथा प्रदेश तहमा गर्न लागिएको अध्ययनका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।