बंगलादेशमा जारी बिकेएसपी कप जुडो प्रतियोगितामा नेपालले ४ स्वर्ण र १ कांस्य पदक जितेको छ । महिला ५७ केजीमुनि १२ औं सागकी रजतधारी मनीता श्रेष्ठ प्रधानले फाइनलमा बंगलादेशकी अरिफा अक्तरलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
त्यस्तै पुरुष ६० केजीमा रोशनबहादुर दोङले फाइनलमा भारतका अर्विन्दो घोषलाई पराजित गर्दै स्वर्ण पदक जितेका थिए । ६६ केजीमा स्वर्ण जितेका १२ औं सागका कांस्य विजेता इन्द्रबहादुर श्रेष्ठले बंगलादेशका कायस अहमदलाई पराजित गरेका थिए । बाल विकास माविमा अध्ययनरत स्वर्ण विजेतात्रय बन्दी सहायता नियोग (पाम)मा आश्रित छन् ।
मनीताले घरेलु प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीबाट खेल्छिन् भने बाँकी दुई पामबाटै खेल्ने खेलाडी हुन् । पुरुष ७३ केजीमुनि सुमन श्रेष्ठले स्वर्ण जिते । उनले बंगलादेशकी अकिब हैदर इमोनलाई पाखा लगाएका थिए । त्यस्तै महिला ६३ केजीमुनि निर्मला घर्तीले कांस्य जितेकी छन् ।
प्रतियोगिताको अन्तिम दिन बुधबार ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालबाट ११ खेलाडीले सहभागीता जनाएको छन् ।
प्रतिक्रिया