अनुदानको रिङमा अम्बक र कटहर

अनुदानको रिङमा अम्बक र कटहर



– रेजिना गौतम

झापा बाह्रदशी गाउँपालिका–७ स्थित एक घरमा चर्पी निर्माण प्रयोजनका लागि रिङ लगेको तीन वर्ष बित्यो, तर चर्पी बनेन । बरु रिङभित्र अम्बकको बिरुवा हुर्कियो जसले फल पनि दिन थालेको छ । केही रिङ घाम र पानीका कारण चर्कन र फुट्न थालेका छन् ।

यो हालत हो स्थानीय सोमसरी राजवंशीका घरपछाडि राखिएका कङ्क्रिटयुक्त रिङको । ६ वटा रिङमध्ये एउटामा अम्बकको बोट हुर्किएर फल पनि दिन थालेको छ भने अर्को एउटामा कटहरको बिरुवा हुर्किंदै छ ।

झापामा खुला दिसामुक्त अभियान सुरु भएको ६ वर्ष बिते पनि विगत ६ महिनाअघिसम्म अभियानले गति लिन सकेको थिएन । तर, जब गति लियो, अभियानकर्ता, जनप्रतिनिधि र सहजकर्ता सबैका घर–घर पुग्न थाले । तब मात्र राजवंशीका घरमा अनुदानको रिङमा हुर्किएका अम्बक र कटहरको रहस्य थाहा हुन थाल्यो ।

सोमसरीले आफ्नो घरमा ल्याएको रिङ आफैँले चर्पी बनाउनकै लागि किनेर ल्याएको दाबी गरेकी छिन् । तर, तीन वर्ष बित्दा पनि रिङ प्रयोग गरेर चर्पी नबन्नु, रिङभित्रै, फलफूलका बोट हुर्किनु तथा रिङ फुट्न थाल्दा पनि चर्पी निर्माणमा चासो नदेखाउनुले उनको भनाइ झुट हो भन्ने स्पष्ट हुन्छ । बाह्रदशी गाउँपालिकालाई खुला दिसामुक्त गराउन जुनसुकै विधि र प्रक्रिया अघि बढाउन स्थानीय निकाय, जनप्रतिनिधि तयार भएपछि सरोकारवाला सबैको ध्यान त्यतैतिर मोडिएको छ । चर्पी बनाएका गाउँलेले नबनाउनेलाई छिटोछिटो बनाउन पनि सुझाउँदै आएका छन् ।

शुक्रबार (२०७४ फागनु ११ गते, बिहान लगभग नौ बजेतिर) वडाध्यक्ष मित्र भट्टराईसहितको टोली बाह्रदशी गाउँपालिका–७ को अनुगमनमा पुगेको थियो । सो समयमा गाई दुहुँदै गरेकी सोमसरीलाई चर्पी भए–नभएकोबारे वडाध्यक्ष भट्टराईले सोध्दा उनी रिसाइन् र भनिन्, ‘कति सात–सात दिनमा आउनुपर्छ, कहिले को आउँछ, कहिले को आउँछ, बनाउँछौँ त, पर घर बन्दै छ, त्यहीँ ।’ कहिलेसम्ममा बन्छ भन्ने टोलीको जवाफमा उनले भनिन्, ‘तीन महिनासम्ममा बन्ला !’ टोलीलाई रिङ थुपारिएको घर बेचेको बताइन् ।

त्यसो त कैयौँपटक मापदण्डअनुसारको चर्पी बनाउन आग्रह गर्दा पनि नमानेपछि नम्बर–७ कै रामलोचन साहको अस्थायी चर्पी अभियानकर्ताहरूले भत्काइदिए । अस्थायी चर्पी भत्काउनुको एउटा मात्रै उद्देश्य हो– मापदण्डअनुसारको चर्पी बनाउन । तर, साहका परिवार त्यही भत्काइएको पर्चीलाई वरिपरि खर अर्थात् (काँसको) मुठाले छेलेर त्यहीँ दिसा–पिसाब गर्दै आएका छन् । मान्छे पस्दा खरको मुठा पन्छाएर दिसा–पिसाब गर्ने, अनि मान्छे निस्किएपछि दिसा नदेखिने गरी त्यही मुठाले छोप्ने गरेका छन् उनीहरूले । छेवैमा दिसा बस्दा पानी लाने लोटा राखिएको छ । त्यसो त अभियानकर्ताहरूले भत्काएको खाल्डामा दिसा बस्ने विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पनि छन् । वडा नम्बर ७ कै साहिँला हेमरम माओवादी केन्द्रका वडाध्यक्ष हुन्, तर उनले पनि अभियानकर्ताहरूले पटकपटक गरेको आग्रहलाई बेवास्ता त गरे–गरे, भत्काइएको अस्थायी चर्पीलाई पुनः प्रयोगमा ल्याउन थाले ।

अनुगमनमा गएको टोलीलाई साहले बिरामी भएका कारण चर्पी बनाउन नसकेको बताइरहँदा हेमरमले आर्थिक कमजोरीका कारण चर्पी बनाउन नसकेको बताए । हेमरमको बाह्र कट्ठा जमिन भएको जानकारहरू बताउँछन् ।

स्थानीय तह पुनर्संरचना हुनुअघि साबिक गाविसका संयन्त्रले झापाका धेरै गाविसका कमजोर आर्थिक अवस्था भएको भनिएका घरधुरीलाई शौचालय निर्माणका लागि कङ्क्रिटयुक्त रिङ दिएको स्रोतको दाबी छ । राजवंशीका घरमा भएको रिङ पनि गाविस संयन्त्र हुँदै निःशुल्क वितरण गरेको रिङ भएको वडाध्यक्ष भट्टराईको बुझाइ छ । चुनाव जित्नुभन्दा वडालाई खुला दिसामुक्त बनाउन कठिन अनुभूति भएको बताउँदै भट्टराईले भने, ‘पार्टीले अवसर दियो पहिलेदेखि नै काम गरेको थिएँ, सजिलै भयो, यी हेर्नोस् न यस्तरी गाली गर्छन् यो काम गर्नै कठिन रहेछ, कतिसँग नराम्रो गर्नुपर्ने ।’

बाह्रदशी गाउँपालिकालाई यही फागुनभित्र खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखिएको छ । बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले चेतनाको कमीका कारण अभियान सञ्चालनको चुनौती भएको बताए । चुनौतीलाई अवसरका रूपमा लिएको बताउँदै उनले भने, ‘गाउँपालिकाको तर्फबाट खुला दिसामुक्त बनाउन कुनै कसर बाँकी रहँदैन, अब सिटी फुक्ने पनि तयारी भइरहेको छ, बजेटकै हिसाबमा पनि अन्य स्थानीय तहको भन्दा बढी छ, अबको १५–१८ दिनभित्रमा यो गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्छौँ, अरू काम छाडेर पनि यसैमा लागेका छौँ ।’ उनका अनुसार बाह्रदशी गाउँपालिकाका ९० प्रतिशत घरधुरीमा शौचालय निर्माण भएका छन् ।

यसरी दिइएका धेरै रिङ कतिले गाईवस्तुलाई घाँस/खोले खुवाउने डुँड बनाएको यसअघि पनि भेटिएका थिए ।