क्यारेबियन कप क्रिकेटको उपाधि गोल्डेनगेटलाई

क्यारेबियन कप क्रिकेटको उपाधि गोल्डेनगेटलाई


गोल्डेनगेट इन्टरनेसनल कलेजले क्यारेबियन कप अन्तरकलेज टि– ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा भएको फाइनलमा गोल्डेनगेटले पाटन बहुमुखी क्याम्पसलाई ६ विकेटले पराजित गरेको हो ।

पहिलो ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १ सय ७ रनको योगफल खडा गरेको थियो । पाटनका सुवास धामीले ३४ तथा राजन चौधरीले ३२ रन जोडेका थिए । बलिङतर्फ गोल्डेनगेटका दिनेश अधिकारीले २ विकेट लिए ।

जवाफमा गोल्डेनगेटले १२ ओभर २ बलमा ४ विकेट गुमाएर १ सय ८ रन जोड्दै उपाधिमाथि कब्जा जमाएको थियो । गोल्डेनगेटको जितमा ‘म्यान अफ द म्याच’ जितेन्द्रसिंह ठकुरीले ५६ रन योगदान दिएका थिए । रवि शाहले १९ रन बनाए । पाटनका युवराज जोशीले २ विकेट हात पारे ।

उपाधिसंग गोल्डेनगेटले १ लाख नगद पुरस्कार प्राप्त गरेको थियो भने पाटनले ५० हजार नगदमा चित्त बुझायो । क्यारेबियन कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा समावेश तीनै विधागत उपाधि गोल्डेनगेटका जितेन्द्रले हात पारेका थिए । जितेन्द्र ‘म्यान अफ द सिरिज’, उत्कृष्ट बलर तथा सर्वाधिक स्कोरकर्ता बने ।
उनले ब्याटिङतर्फ प्रतियोगिताभर २ सय ४१ रन बनाएका थिए । त्यसमा एक शतक पनि सामेल थियो । बलिङमा उनले जम्मा ७ विकेट लिएका थिए । जितेन्द्रले ‘म्यान अफ द सिरिज’ का लागि १० हजार नगद पुरस्कार पाए भने बाँकी दुईका लागि समान ५–५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

विजेतालाई ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, हिसानका अध्यक्ष एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाल, क्यारेबियनका प्रमुख कार्यकारी अधिकृत डा. गणेशकुमार श्रेष्ठ र क्यारेबियनका प्रिन्सिपल चन्द्रायन श्रेष्ठले पुरस्कृत गरका थिए फागुन ९ गतेदेखि संचालन भएको नकआउट प्रतियोगितामा १६ टिमले सहभागी जनाएका थिए ।