‘सम्पूर्ण नेपाल महात्म्य तथा धार्मिकस्थल परिचय’ सार्वजनिक

‘सम्पूर्ण नेपाल महात्म्य तथा धार्मिकस्थल परिचय’ सार्वजनिक


धार्मिक रुपमा नेपालको महत्व झल्काउने ‘सम्पूर्ण नेपाल महात्म्य तथा धार्मिकस्थल परिचय’ नामक पुस्तक सार्वजनिक भएको छ ।

मधुसूदन सुवेदीले लेखेको पुस्तक शुक्रबार सुवेदी कल्याण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकार प्रा डा वासुदेव त्रिपाठीले विमोचन गरे । स्कन्द पुराणको केदारखण्ड, मानसखण्ड र नेपालखण्डमा नेपालका धार्मिक तीर्थस्थलको चर्चा गरिएको उनले बताए ।

तीनै खण्डमा भएका धार्मिकस्थलको अन्वेषण गरी प्रकाशनमा ल्याउन सके धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने साहित्यकार त्रिपाठीको भनाइ थियो । कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीप ज्ञवालीले पौराणिक ग्रन्थमा उल्लेख गरिएको देशको महत्व थाहा पाउन कृतिले सहयोग गर्ने विचार व्यक्त गरे ।

‘नेपाली मौलिक संस्कृतिमाथि भ्रम सिर्जना गर्न केही वर्षअघिदेखि शुरु भएको प्रयास असफल भएको छ, आदिवासी, जनजाति, धर्म र संस्कृतिको विविधताका नाममा नेपालको मौलिक सांस्कृतिक पहिचानलाई मेटाउनु हुँदैन’, उनले भने ।

दक्षिण एशिया र भारतभन्दा नेपाल कतिपय सांस्कृतिक विषयमा पृथक रहेको विषय पुस्तकले उजागर गरेको नेकपा (एमाले)का सचिवसमेत रहेका नेता ज्ञवालीले उल्लेख गरे । आधुनिक विकासका कारण ‘वसुधैव कुटुम्बकम्’ जस्ता मूल्यवान् संस्कृतिलाई लोप हुन दिनु नहुने उनको भनाई थियो ।

प्रा राजेन्द्र सुवेदीले भाषा र संस्कृतिको भौगोलिक सीमा नहुने भएकाले एक ठाउँबाट शुरु भई विश्वव्यापी स्वरुप ग्रहण गर्ने विचार राखे । पुस्तकका लेखक मधुसुदन सुवेदीले जन्म वर्षको हिसाबले एक वर्षमा एउटा कृति सार्वजनिक गर्ने क्रममा ७७औँ वर्षमा ७५ औँ पुस्तक तयार पारेको सुनाए । राससका अनुसार उनका सबै पुस्तक धर्म, संस्कृतिमै आधारित भएर लेखिएका छन् ।

कार्यक्रममा वाल्मीकि विद्यापीठका प्रा भवानीप्रसाद खतिवडा, पत्रकार शालिक सुवेदी लगायतले नेपालको धार्मिक एवम् सांस्कृतिक पहिचान पस्कन पुस्तक सफल रहेको बताए ।

श्रीमती सानुमायाँ सुवेदी तथा दामोदर सुवेदीले प्रकाशन गरेको पुस्तक परिचित छापाखानाले मुद्रण गरेको हो । पुस्तकको मूल्य रु ४०० छ । तीस अध्यायमा विभाजन गरिएको पुस्तकमा २८६ पृष्ठ छन् ।