यो साता शेयर बजारमा कारोबार रकम बढेको भएपनि शेयर कारोबार मापक सूचक दोहोरो अंकले घटेको छ । शेयर कारोबार घटेपछि लगानीकर्ताहरु निराश बनेका छन् ।
यस साता शेयर बजारमा कारोबार रकम १५ दशमलव शुन्य ४ प्रतिशत बढी भएको छ भने कारोबार मापक सूचक २८ दशमलव ७४ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । यस साता १४७ कम्पनीका एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरको ४५ लाख २६ हजार पाच सय ५० कित्ता शेयर खरिद बिक्री भएको छ । जुन अघिल्लो साताको तुलनामा कारोबार रकम १५ दशमलव शुन्य ४ प्रतिशत बढी हो ।
अघिल्लो साता यहि अवधिमा १७६ कम्पनीका एक अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरका ४२ लाख ४८ हजार सात सय ३० कित्ता शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
चार दिनको कारोबारमा कारोबार मापन गर्ने सूचक २८ दशमलव ७४ अंकले घटेर अन्तिम दिन एकहजार ३ सय ४५ दशमलव ९९ अंकमा झरेको छ । चार कारोबार दिनमा मंगलबार बाहेक सबै कारोबार दिन सूचक घटेको नेप्सेले जनाएको छ ।
यस साता सबै उपसूचक घटेका छन् भने सबैभन्दा बढी बीमा सूचक २ सय ७६ दशमलव ३४ अंकले घटेको छ । अरु उपसूचक क्रमशः जलबिद्युत ५९ दशमलव २२, होटल ५४ दशमलव ५४, लघुवित्त ५१ दशमलव ७१, उत्पादन मुलक ४७ दशमलव ४९, विकास बैंक ३० दशमलव ३३, बाणिज्य बैंक १८ दशमलव २७, बित्त १२ दशमलव ५१, ब्यापार ८ दशमलव ५३, र अन्य ७ दशमलव २२ अंकले घटेका छन् । ‘क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५ दशमलव २० अंकले घटेर २ सय ८५ दशमलव ३८ अंकमा ओर्लिएको छ ।
प्रतिक्रिया