– छविलाल बगाले
प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयनबाट सांसद बन्ने प्रक्रियामा रहेका पूर्वगभर्नर डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका छन् । जनतालाई समृद्धिको ठूलो सपना देखाएका प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाललाई सफल पार्ने विश्वासका साथ मुलुकको महत्वपूर्ण मन्त्रालयको रूपमा हेरिएको अर्थ मन्त्रालयको जिम्मेवारी डा. खतिवडालाई जिम्मा लगाएका हुन् ।
गत सोमबार शीतलनिवासमा शपथ खाएर अर्थ मन्त्रालयमा पदबहाल गर्न पुगेका डा. खतिवडाले स्वागतार्थ बसेका कर्मचारीहरूलाई आफू अर्थतन्त्रको स्टेरिङ समात्न आइपुगेको दाबी गरे । उनले ठट्टाको लवजमा भने, ‘सधैँ मन्त्रीहरूको स्वागत–सत्कारका लागि फूल लिएर बस्ने गर्थेँ, आज आफैँ फूल लिनेमा परेँ । प्रतीक्षा गरे एक न एक दिन पालो आउनेरहेछ ।’
मुलुकले अर्थतन्त्र धराशायी भएको यो समयमा सक्षम, अनुभवी र अर्थतन्त्रलाई बलियो बनाउने व्यक्ति अर्थमन्त्रीको रूपमा पाएको छ । उनीसँग सरकार, अर्थतन्त्र र निजी क्षेत्रले ठूलो आशा राखेको छ । अहिलेको आर्थिक चुनौतीलाई नजिकबाट नियालिरहेका नवनियुक्त अर्थमन्त्री डा. खतिवडाको पदबहालीका क्रममा पनि उच्च कर्मचारीले उनको नियुक्तिले राहत महसुस भएको जनाएका छन् । पदबहालीलगत्तै अर्थ मन्त्रालयका राजस्व सचिव सुशीलकुमार ढुङ्गानाले आर्थिक क्षेत्रका विषयमा केही सिक्ने अवसर प्राप्त भएको र अब अर्थ मन्त्रालयले व्यावसायिक रूपमा अगाडि बढ्ने बताए ।
उता, अर्थसचिव शङ्करप्रसाद अधिकारीले सङ्घीयता कार्यान्वयनका लागि स्रोत र साधन जुटाउने गम्भीर चुनौती रहेको बताए । उनले डा. खतिवडाको नियुक्तिले मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । अर्थसचिव अधिकारीले वर्तमान अवस्थामा ६ अर्ब ६० करोडको चालू खाता घाटा भएको अवस्था चुनौतीपूर्ण रहेको बताए । उनले पुँजी लगानीको अनुपात पनि फराकिलो रहेको भन्दै अनौपचारिक अर्थतन्त्रलाई रोक्ने र राजस्व चुहावटलाई नियन्त्रण गरेर खर्च व्यवस्थापन गर्न सकिनेमा जोड दिए ।
‘चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्याङ्क मात्रै हेर्ने हो भने अर्थतन्त्रका धेरै परिसूचक नकारात्मक छन् । लामो समयदेखि आर्थिक मेरुदण्डका रूपमा रहेको विप्रेषण आप्रवाहमा शिथिलता छाएको छ ।’ अर्थसचिव अधिकारी भन्छन्, ‘निर्यात व्यापार निरन्तर ओरालो दिशामा उन्मुख छ ।’ उनका अनुसार यो अवधिमा ७५ अर्ब २० करोडको इन्धन आयात भएको देखिन्छ भने ४१ अर्ब १४ करोड रुपैयाँबराबरको निर्यात भएको छ । आयात भने पाँच खर्ब ३४ अर्ब रहेको छ । मुलुकमा भित्रिनेभन्दा बाहिर जाने रकम बढी भएकोले पछिल्लो समय शोधनान्तर घाटा बढ्दै गएको अर्थ मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ६ अर्ब ६६ करोडले शोधनान्तर घाटामा रहेको र सरकारको चालू खाता ७५ अर्ब ७१ करोड रुपैयाँ घाटामा भएको देखिन्छ ।
आफूलाई सबै क्षेत्रको विज्ञ वा जानकार ठान्ने डा. खतिवडा अहङ्कारी सोच भएको व्यक्तिका रूपमा चिनिन्छन् । आफूसँग असहमति राख्नेहरूसँग पूर्वाग्रही व्यवहार गर्ने व्यक्तिका रूपमा पनि उनलाई धेरैले चिन्ने गरेका छन् । यसकारण पनि अर्थतन्त्रका विज्ञहरूको सहयोग खतिवडाले नपाउने टीका–टिप्पणी गरिएको छ ।
मुलुकमा यतिबेला नौ खर्ब १७ अर्बको व्यापार घाटा छ । राजस्वको लक्ष्य भेट्टाउन सकिएको मुस्किल परेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार राजस्व सङ्कलनमा एक अर्ब ८० करोडले कमी आएको छ भने यस अवधिसम्म आइपुग्दा २१ दशमलव ५९ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । यता, सबैजसो आर्थिक सूचकाङ्क नकारात्मक बिन्दुमा भएको अवस्थामा अर्थतन्त्रको स्टेरिङ समात्न आएका डा. खतिवडासँग निजी क्षेत्रले पनि ठूलै आशा राखेको छ । तर, राष्ट्र बैंकको गभर्नर हुँदा खतिवडाले बैंकहरूको मर्जर, घरजग्गा कारोबारमा कडाइ र कर छलेर विदेशबाट भित्र्याउन खोजिएको अवैध रकम रोक्ने नीति बनाएर चर्चा बटुलेका थिए । उनको यही व्यवहारप्रति निजी क्षेत्र भने सशङ्कित बनेको छ ।
आफूलाई सबै क्षेत्रको विज्ञ वा जानकार ठान्ने डा. खतिवडा अहङ्कारी सोच भएको व्यक्तिका रूपमा चिनिन्छन् । यसैकारण पनि अर्थतन्त्रका विज्ञहरूको सहयोग खतिवडाले नपाउने टीका–टिप्पणी गरिएको छ । आफूसँग असहमति राख्नेहरूसँग पूर्वाग्रही व्यवहार गर्ने व्यक्तिका रूपमा पनि उनलाई धेरैले चिन्ने गरेका छन् । आमउद्योगी, व्यवसायी र निजी क्षेत्र पनि खतिवडालाई सकारात्मक रूपमा लिने गर्दैनन् । यसकारण पनि उनलाई निजी क्षेत्रको सहयोग कमै हुने देखिन्छ । तर, सधैँ लाभको पद पाएको भन्दै एमालेनिकट केही अर्थशास्त्री डा. युवराज खतिवडाको भित्रभित्रै आलोचना गर्छन् । तर, डा. खतिवडाले एकपछि अर्को लाभको पद पनि पाइरहेका छन् । आफ्ना भित्री योजना तथा आर्थिक सल्लाहकार उनै खतिवडालाई प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालयको वागडोर जिम्मा लगाएर ‘राइट म्यान इन राइट प्लेस’को उदाहरण दिएका छन् ।
अर्थमन्त्री खतिवडाले आफ्नो कार्यकालमा नीति इम्प्लिमेन्ट गर्ने, अर्थ मन्त्रालयको सुधार, वित्तीय क्षेत्रमा संस्थागत सुधार गर्नेदेखि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने जानकारी दिएका छन् । यस्तै उनले अन्तर्राष्ट्रिय सहयोग बढाउनेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्मलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री हासिल गरेका ६२ वर्षीय खतिवडाले २०४८ मा दिल्ली स्कुल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका थिए । राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगमा दुईपटक उपाध्यक्ष र एकपटक सदस्य भएका खतिवडा विकाससम्बन्धी अवधारणा र मौद्रिक नीतिका विज्ञ मानिन्छन् ।
प्रधानमन्त्री ओलीका अत्यन्तै विश्वासपात्र मानिने खतिवडा यसअघिको ओली सरकारको बजेट निर्माणका मुख्य ‘डिजाइनर’ पनि हुन् । यस्तै, खतिवडा अर्थमन्त्री भएलगत्तै पूर्वअर्थमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले खतिवडालाई अनुत्पादक क्षेत्रमा भइरहेको लगानी र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन सुझाएका छन् । भट्टराईले आफ्नो ट्विटमार्फत पैसा खेलाएर पैसा कमाउने, जग्गा किनेर जग्गा बेच्ने, पैसाले सत्ता किन्ने प्रवृत्ति राष्ट्रिय धन्दा बनेको भन्दै यसलाई रोक्न आग्रह गरेका छन् ।
महासचिव ईश्वर पोखरेलको अर्थ मन्त्रालयको इच्छालाई पन्छाउँदै प्रधानमन्त्री ओलीले आफ्नै गृहजिल्ला झापाका खतिवडालाई सङ्घीय सरकारको आर्थिक नीतिको जिम्मेवारी सुम्पिँदा एमालेभित्र भुसको आगो सल्किएको छ । ओली सरकारको सिफारिसमा खतिवडालाई राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य मनोनीत गरे पनि सर्वोच्च अदालतले शपथ नगराउन अन्तरिम आदेशसमेत दिएको छ । तर, अदालतको आदेशलाई लत्याएर ओली सरकारले खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । अदालतको आदेशअनुसार राष्ट्रिय सभा सदस्य हुन नपाए खतिवडा ६ महिनासम्म गैरसांसदका रूपमा मन्त्री हुनेछन् । त्यसबीचमा पनि सङ्घीय संसद्को सदस्य नभए खतिवडा जिम्मेवारीबाट हट्नुपर्नेछ ।
प्रतिक्रिया