आफै बदनाम हुने गरी व्यवसाय नगर्न मन्त्रीको सुझाव

आफै बदनाम हुने गरी व्यवसाय नगर्न मन्त्रीको सुझाव


जनता, व्यवस्था, न्याय, प्राकृतिक स्रोतसाधन बचाउने पक्षमा सरकारले कसैसित सम्झौता नगर्ने प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले बताएका छन् । सहिद सप्ताह २०७४ को अवसरमा नेकपा माओवादी केन्द्र धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेशसभा ख को आयोजनामा अमृत उज्ज्वल स्मृति मञ्च नेपाल द्वारा निर्मित वृत्तचित्र प्रदर्शनी तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री जमरकट्टेलले त्रिशुली बचाउ महाअभियानले गर्दै आएको प्राकृतिक स्रोत दोहनको विरोधका कार्यक्रम आफूले नियालिरहेको र नदी तथा खोलामा हेभी मेसिन प्रयोग गरेर ढुङ्गा झिक्न नपाइने, बालुवा धोएको पानी जस्ताकोतस्तै नदिनालामा मिसाउन नदिने प्रतिबद्धता जनाए ।

उनले अगाडि भन्, ‘निर्माण सामाग्री चाहिन्छ, ब्यवसाय गर्नुपर्छ, हामी विकल्प दिन्छौँ तर प्राकृतिक क्षय हुने गरी र ब्यवसायी आफै बदनाम हुने गरी ब्यावसाय गर्न हुँदैन ।’ अब बन्ने सरकारले जनयुद्धमा आफ्नो परिवार वा सन्तान गुमाउनेहरुलाई पहिलो प्राथमिकतामा राखेर र विशेष कार्यक्रम ल्याइने पनि उनले बताए ।

यसैगरी, धादिङ प्रदेशसभा सदस्य रामकुमार अधिकारीले सहिद, बेपत्ता, घाइते द्वन्द्वपीडितहरुले ब्यवस्था परिवर्तनको लागि गरेका बलिदान र त्यागलाई कहिल्यै नबिर्सिने प्रतिबद्धता ब्यक्त गरे ।

बेपत्ता परिवार धादिङको तर्फबाट बोल्दै टीका कँडेलले द्वन्द्व पीडितलाई राज्यले वास्ता गर्न छाडेको हो कि क्या हो भन्ने प्रश्न राख्नुभएको थियो । उक्त कार्यक्रम कृष्ण थपलिया ‘विवेक’को संयोजकत्वमा भएको थियो भने सञ्चालन राजेन्द्र कँडेलले गरेका थिए ।