‘पूर्वगृहमन्त्रीहरू र तिनका आफन्त’-शिवजी श्रेष्ठ

‘पूर्वगृहमन्त्रीहरू र तिनका आफन्त’-शिवजी श्रेष्ठ


देशमा संविधान बनेन, तर सरकार त बन्यो । सरकार बन्यो, तर पूर्णता पाउन सकेन । कारण रह्यो ‘गृह’ मन्त्रालय । संविधानसभामा सबैभन्दा ठूलो दल मात्र नभएर अहिले आफ्नै मद्धतमा प्रधानमन्त्री बनेका झलनाथ खनालको पार्टी एमालेभन्दा दोब्बर सभासद् भएर पनि बडो जिम्मेवार देखिएर प्रधानमन्त्री पद छाड्न सक्ने एमाओवादी ‘गृह’ मन्त्रालय पाउनुपर्ने एक सूत्रीय रागमा लागेको देखिनु । अनि, केटाकेटीले आफूलाई मनपरेको खेलौना अरूलाई दिन अस्वीकार गरे जसरी एमालेको ‘गृह’ मन्त्रालयप्रतिको आशक्ति । अझ भनौँ, प्रधानमन्त्री पदका लागि पार्टीपङ्क्तिलाई पनि गुमराहमा राखेर ‘सातबुँदे’ सहमतिमा ‘गृह’ माओवादीलाई दिन टाउको हल्लाउने प्रधानमन्त्रीको भूमिका पनि रहस्यमय बन्दै गएको देखिन्छ । अझ गजव त आफ्ना शिविरमा बसिरहेका लडाकुहरूलाई सेनामै समायोजन गर्नुपर्छ भनी अलापिरहेका एमाओवादीले सेना समायोजनमा रक्षामन्त्रीको भूमिकालाई लत्याउँदै ‘गृह’मा नै आँखा लगाएको देखिनुले गृह मन्त्रालयभित्रको दृश्य-अदृश्य लाभ-हानिको भूमिकातर्फसबैको ध्यान खिचेको छ । के छ त गृहमा त्यस्तो ?
सायद संयोग नै हुनुपर्छ- सत्ता परिवर्तनको मझदारमा निवर्तमान गृहमन्त्रीले २-४ वटा नयाँ तथा महँगो सरकारी गाडीहरूको नम्बर निजीकरण गर्दै गरेको समाचारसँगै जोडिएर अर्को समाचार पनि कान्तिपुरमा आयो । जसमा पूर्वगृहमन्त्रीहरूले आफ्नो निजी प्रयोजनका लागि सरकारी गाडी लगेको र त्यसको मर्मतदेखि इन्धनसमेत गृह मन्त्रालय र मातहतबाट लिइरहेको यथार्थ पनि उद्घाटित गरेको छ । जसमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनपश्चात् भएका गृहमन्त्रीहरूमध्ये नेकपा एमालेबाट गृहमन्त्री भएका निवर्तमान गृहमन्त्री भीम रावलदेखि सबै अर्थात् केपी ओली, वामदेव गौतमका हर्कत छापिएका छन् । जसले अहिलेसम्म पनि गृह मन्त्रालयबाट ती सुविधा अनधिकृत रूपमा लिइरहेका रहेछन् । नेपाली काङ्गे्रसबाट गृहमन्त्री भएकाहरूमध्ये योगप्रसाद उपाध्याय, शेरबहादुर देउवा र गोविन्दराज जोशीबाहेक खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अझै पनि गृह मन्त्रालयबाट अनधिकृत मर्मत, इन्धनको सुविधा लिइरहेका रहेछन् । त्यो समाचारले मन खिस्रिक्क त भयो- त्योभन्दा लज्जाबोध त्यतिखेर भयो जब पूर्वगृहमन्त्रीहरू कमल थापा, दानबहादुर शाही, बद्री मण्डलहरूले भने ती सुविधा नलिएको समाचार पढ्दा । आफूले आस्था राखेको पार्टीका नेताहरूको सकारात्मक भूमिकाको समाचार पढ्दा छाती जति गौरवले फुल्दछ त्यति नै नकारात्मक भूमिका पढ्दा लाजले खुम्चिने रहेछ । त्योभन्दा पनि चसक्क त्यतिखेर भयो, त्यही समाचारलाई लिएर ती गृहमन्त्रीमध्येकै एक आफन्तको इमेल पाएपछि भयो ।
भएको के थियो भने दुई दिनअगाडि जब कान्तिपुरले त्यो समाचार प्रकाशित गरेको थियो त्यो समाचारले साँच्चै छोयो र त्यसको केही पङ्क्तिहरू साथीहरूमाझ इमेलमार्फ प्रश्नसहित पठाइयो, प्रश्न थियो- ‘हाम्रा नेताहरू किन कमल थापा, बद्री मण्डलहरूभन्दा पनि तल ?स्तर) ?’
आफूले आस्था राखेका पार्टीका नेताहरूका गतिविधिले स्वत: ध्यानाकर्षण त गराइहाल्छ । तर, आफ्नो पूर्वपृष्ठभूमि अनि त्यहाँभित्रको दु:ख, अभाव, विवशतालाई पनि नजिकबाट देखेर होला नेपाल प्रहरीसँग सम्बन्धित अर्थात् गृह मामिलाका समाचारले झन चाँडो छुन्छ, संवेदनशील बनाउँछ । आफैंले धकेल्दै स्टार्ट गरेर गुड्दागुड्दैको थोत्रे गाडीमा चढेर जनताको सुरक्षाका लागि गस्ती गरिरहेका प्रहरीको बजेटले नयाँ गाडी किनेर त्यही बजेटले मर्मत गराइरहेका पूर्वगृहमन्त्रीहरूका लज्जास्पद हर्कत पढ्दा अनि पूर्वगृहमन्त्रीका गाडीमा प्रहरी मुख्यालय नक्सालको पेट्रोलपम्पमा इन्धन भरिरहेको दृश्यसँग गत वर्ष तत्कालीन पूर्वक्षेत्रका प्रहरी प्रमुख ?डीआईजी) ले इटहरीमा सार्वजनिक कार्यक्रममै प्रहरी गस्तीका लागि व्यापारीसँग पेट्रोल मागिरहेको समाचार बीचमा तादाम्त्यता मिलाउन मन लाग्यो । सुरक्षा गस्तीमा जनतासँगै तेल माग्नुपर्ने नियति एकातिर अर्कोतिर त्यही गृहकै बजेटबाट मस्ती मारिरहेका पूर्वगृहमन्त्रीका सुविधा । अर्थात् एकातिर प्रहरीको गस्तीका लागि, अर्कातिर कसैको मस्तीका लागि । मन साहै्र मानेन, गर्न त के सकिन्थ्यो र ? तै आफूले विगतमा भोगेका दृश्यहरू पुनर्ताजगी गरायो । चित्तै बुझेन, तब सम्बन्धितहरूको कानमा पुगे सक्नेले त केही गर्ला कि भन्ने झिनो आशामा भएको सुविधालाई सदुपयोग गरियो अर्थात् समान राजनीतिक आस्थाले बाँधिएका बेलायती नेपाली मित्रहरूको सामूहिक इमेलमा हालियो भनिन्छ ‘आफ्नो पीडा अरूलाई नसुनाउनु किनकि सत्तरी प्रतिशतले वास्तै गर्दैनन्, तीस प्रतिशतले खुच्चिङ गर्छ’ भनेर । सायद सत्तरी प्रतिशतभित्र आफूजस्तै भएर के नै पो गर्न सकिन्छ भन्नेहरूबाट मौनता प्राप्त भयो । एउटा इमेल गजवको आयो, त्यो इमेल पूर्वगृहमन्त्रीका सबैभन्दा नजिकका आफन्तबाट आफन्तको बचाउमा थियो, अर्ती, उपदेश पनि थिए । तर मलाई त्यो इमेलले दिव्यज्ञान के दियो भने, किन हाम्रो देशको नियति यस्तो भयो ? किन नेताहरू पथभ्रष्ट भए ? किन क्रान्ति गरेर आएकाहरूमा पनि भ्रान्ति छायो भन्ने कुराको जवाफ मिलेजस्तो लाग्यो ।
तिनका इमेलमा ‘आफन्त’को प्रशस्ती त छँदैथियो, साथै स्पष्टीकरण पनि थियो, अर्थात् शान्ति सुरक्षामा खर्च गर्नुपर्ने गृह मन्त्रालयको बजेटबाट किन आफ्ना गाडी, इन्धन, मर्मत गर्नुपरेको हो ? भ्रष्टाचार नगर्ने भएर कार्यकर्ता पाल्नुपर्ने भएर अर्थात् भ्रमण गरिरहनुपर्ने भएर । अझ प्रश्न थियो त्यसो भए मेरो आफन्तले पनि भ्रष्टाचार गर्नुपर्ने ? अर्थात् गृहमन्त्रीबाट हटेको दशक बितिसक्दा पनि गृहकै बजेटबाट व्यक्तिगत सवारी व्यवस्थापन गर्नु भ्रष्टाचार होइन ।
तब मनमा धेरै/धेरै कुरा आए । कुनै राजनीतिक पार्टीको सदस्य हुनु वा आस्थावान हुनुको मतलब के ? त्यसका नेताको जुनसुकै हर्कत पनि टुलुटुलु हेरिरहनु ? गलत बाटोमा हिँड्न खोजेको वा सार्वजनिक सम्पत्तिमा र्‍याल काढेको अनि कार्यकर्ताको विश्वासको दुरुपयोग गरेको थाहा पाएर पनि थाहै नपाएरजस्तो गर्ने कि ? सुनेर पनि नसुनेझैं गर्नुपर्ने कि वा यो गलत हो, वा यो सही हो भनेर झक्झक्याउने हो ? जुन बेला यो कुरा भयो त्यतिखेर इजिप्टमा आन्दोलन दन्किरहेथ्यो, अनि जुन बेला म यी भावनाहरू पोख्दै थिएँ, त्यतिखेर सेनालाई शासन बुझाएर होस्नी मुबारक एकान्ततिर लाग्दै थिए र कायरोका सडकमा खुसियाली मनाइरहेका दृश्य हेर्दै थिएँ । कस्तो नियति ? सेनाले शासन सम्हाल्दा जनताले विजयोत्सव मनाउने, कति वितृष्णा भइसकेको रहेछ त्यहाँका राजनीतिक नेतृत्वप्रति मैले सम्झिँदै गएँ, ३० वर्ष अगाडि सत्तामा आउँदा होस्नी मुबारक पनि लोकप्रिय थिए होलान् । पछि आफन्तका लागि पथभ्रष्ट भए होलान् । कार्यकर्ताहरूले पनि समयमै झक्झक्याएनन् होलान्, जे गरे पनि वाहवाह गरे होलान् । जसरी हामी हाम्रा नेतालाई विभिन्न उपाधि दिन्छौँ जिम्मी कार्टर, मण्डेला । तर, जिम्मी कार्टर बन्न उत्प्रेरित गर्दैनौँ, तर भइसक्यौँ भन्ने बनाइदिन्छौँ । नेता पनि दङ्ग । सबै चाहन्छन् दङ्ग पर्न, को चाहन्छ झसङ्ग हुन ?
धेरै कुरा मनमा आए- ती नेताका उत्तराधिकारीले त आफन्तको बचाउ गरे तर के सबै कार्यकर्ताले त्यसै गर्नुपर्छ र ? कतै गलत बाटो हिँडिराखेको पो छ कि भनेर झक्झक्याउनु हुन्न र ? कसैले बालकले जस्तै ‘राजा नाङ्गै’ भएको कुरा भन्नुपर्दैन र ? कि राजालाई नाङ्गै घुम्न दिने र घुमिसकेपछि मात्रै लघुताभास गराएर मर्न बाध्य पार्ने ?
नेता बिगार्ने हामी नै हौँ, गलत बाटो हिँड्न प्रेरित गर्ने पनि हामी नै हौँ । ‘हजुर त जिम्मी कार्टर’ भन्ने पनि हामी नै हौँ, ‘जिम्मी कार्टर’ होइन जिम्मेवार हुनुहोस् भनेर हामीले भन्नुपथ्र्यो कि ? तपाईं नेल्सन मण्डेला जस्तो हुनुहुन्छ भन्ने ठाउँमा ‘नेसनालिस्ट’ हुनुहोस् पो भन्ने हो कि ? लालबहादुर शाही कि लालुप्रसाद ? गणेशमान सिंह कि मरिचमान सिंह ? लि क्वान यु कि किम इल जोङ ? नेताहरूलाई के बन्न उत्प्रेरित गर्ने हो ? त्यो कार्यकर्ताकै हातमा हुँदोरहेछ । आफन्तले त आफ्नै हित हेर्छ, तर पार्टीको हित त कार्यकर्ताले नै हेर्ने हो, पार्टीको हित, अर्थात् राष्ट्रिय हितार्थ इमानदार यात्रा ।
सम्पूर्ण नेपाली राजनीतिक पार्टीहरूमा देखिएको रोग एउटै हो । नेता मालिक, कार्यकर्ता दास । सबै मनोवृत्ति हो । नेताले बोलेको लालमोहर हुने, त्यसविपरीत कार्यकर्ता बोले बिद्रोह हुने । कार्यकर्ताले पनि आफ्नो हित हेर्ने, बिद्रोही ठहरिए आफैं खत्तम हुने, तब त लालमोहन मान्यो बस् । देशमा हुने कार्यकर्ताको त विवशता अनि बाध्यता बुझन सकिन्छ- त्यो भौतिक पनि हुन सक्छ आर्थिक पनि हुनसक्छ । सबै आवश्यकताले निर्धारण गर्छ । तर, देश नै छाडेर परदेशिएका कार्यकर्ताहरूले पनि नेताको गलत रवैयामा पनि ‘हा’ मा ‘हा’ मिलाउनुपर्ने बुझन नसकिने कुरा हो । बेलायतमा बसेर यहाँका राजनीतिक नजिकबाट नियालिरहेकाहरूले अरूसँगसँगै यहाँका राजनीतिक चरित्र थोरै सिक्न सकेँ, धेरै हुनसक्छ- जहाँ चालीस नकटेका ठिटाहरूले बूढाहरूलाई बाटो देखाइरहेका छन् । अर्थात् बेलायतका गनन थापाहरू ।
जुनसुकै पार्टीका नेताहरू आए पनि सामूहिक रूपमा उत्पादनमूलक विचार र दबाबहरू दिनसके, त्यसले देशलाई केही त फरक पाथ्र्यो होला । नेपालबाट आएका नेताहरूका गन्थन, अनि अर्का पार्टीका नेताहरूलाई गर्ने पाँडे गाली सुन्ने ठाउँमा, हाम्रा कुरा सुन्नुहोस् भन्ने हिम्मत गर्ने हो भने आफूबाहेक अरू अराजनीतिक भनी अर्ती दिनेहरूलाई बीचमै रोक्न सके, नेपालमा गएर ती कुरा याद गर्थे कि ? बेला-बेलामा केही महिना अगाडि लेबोर पार्टीका सांसदले २८ हजार भत्ता बढी लिँदा राजीनामा दिए भनेर हाम्रा नेताहरूलाई आफैं सुनाउने हो कि ? गत मेको चुनावमा श्रीमान्का मनोरञ्जनका पैसा गृह मन्त्रालयबाट तिरिदिने हुँदा तत्कालीन महिला गृहमन्त्री ज्याक्कीले चुनाव हारेकी थिई भनेर सुनाइदिने हो कि ? त्यति भए आफ्नो पार्टीको गाडी ममृत र इन्धनबाट बजेट लिन अघि सोच्थे कि ? हुन त ती इन्धन लिने पूर्वगृहमन्त्रीमध्ये एकजनाबाहेक सबै चुनाव हारे, तैपनि चेतेको देखिएन ।
देशमा बसेर गर्न नसकेकाहरूका लागि परदेशमा बसेर त्यति त गरौँ । नेताको सही र गलत रवैया छुट्याउन, अर्थात् सचेत गराउन ।
अरू केही नभए पनि ती पत्रिकामा आए जसरी पूर्वगृहमन्त्रीहरूले गृहको बजेटमा र्‍याल नकाढून्, तिनका गाडी मर्मत गर्ने पैसाले प्रहरीका गस्तीमा गुड्ने गाडी ममृत गरून् । गस्तीमा जान कुनै डीआईजीले व्यापारीसँग हात जोड्न नपरोस्, ती मन्त्रीका नाममा जाने इन्धनको पैसाले गस्तीमा गुड्ने प्रहरीका गाडी गुडून् ।
यस्तै-यस्तै धेरै ठाउँ-कुठाउँमा भएका होलान् भूतपूर्वहरू धेरै भएको ठाउँमा गृह मन्त्रालयजस्तै लुट्ने ठाउँहरू धेरै छन्, लुटिरहेका पनि छन् । अहिले गृह मन्त्रालय पाउने माओवादी-एमालेको छिनाझप्टीले यो पूर्वगृहमन्त्रीहरूको हर्कत बाहिर आयो । यस्तै छिनाझप्टी अरूतिर भए अरू पूर्वमन्त्रीहरूको पनि खोजीनिती होलान् । अरू केही गर्न नसके पनि प्रवाशी नेपालीको राजनीतिक सङ्गठनहरूले आ-आफ्ना नेता विदेश आउँदा त्यसको हिसाब खोज्ने कि ? यति भए विदेशमा रहेका तिनका आफन्तले हिसाब किताब गरी
बस्थे कि ? किनकि परदेशिएका कार्यकर्ताले
ती नेताबाट अब पाउनुपर्ने पनि केही छैन र गुमाउनुपर्ने पनि केही छैन ।