मेयर कप तेक्वान्दोमा गोदावरी एकेडेमी च्याम्पियन

मेयर कप तेक्वान्दोमा गोदावरी एकेडेमी च्याम्पियन


आयोजक गोदावरी फिट्नेस एकेडेमी प्रथम गोदावरी नगरपालिका मेयर कप राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । गोदावरीले ५ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो ।

गोदावरीको टौखेलस्थित किटिनी कलेजमा भएको प्रतियोगितामा चुनदेवी ४ स्वर्ण, २ रजत र २ कांस्यसाथ दोश्रो र तेश्रो भएको ढल्कोले २ स्वर्ण र १ कांस्य हात पारेको थियो । प्रतियोगिताको पुरुषमा चुनदेवीका कर्मा नोर्बु शेर्पा र महिलामा ढल्कोकी अन्जली राई उत्कृष्ट खेलाडी चुनिए ।

पुरुष ३० केजीमुनि चुनदेवीका विराज कार्की, ४६ केजीमुनि कपनका सुशील भण्डारी, २४ केजीमुनि जीएफएका राहुल शाक्य तथा ५८ केजीमुनि ढल्कोका निश्चल महर्जनले आ–आफ्नो स्पर्धामा स्वर्ण जितेका थिए । त्यस्तै महिला ३९ केजीमुनि चुनदेवीकी समता जिरेल, ४९ केजीमुनि ढल्कोकी अन्जली राई तथा ४६ केजीमुनि धनकुटाकी अनिश जिरेल पहिलो भए ।

विजेतालाई राष्ट्रिय सभाकी सदस्य धनकुमारी खतिवडा, प्रदेश नं. ३ का सांसद चेतनाथ सन्जेल, गोदावरी नगरपालिकका मेयर गजेन्द्र महर्जन, आयोजक गोदावरीका मोहनकुमार विष्टलगायतले पुरस्कृत गरेका थिए । दुईदिने प्रतियोगितामा विभिन्न १९ स्पर्धाका २ सय ७६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।