नेपालगञ्ज उमनपालाई हिमालयन बैंकको सहयोग

नेपालगञ्ज उमनपालाई हिमालयन बैंकको सहयोग


हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभी जडानलगायतका कृयाकलापहरु प्रभावकारी बनाउने कार्यमा सहकार्यको एक लाख पचास हजारको वित्तीय सहयोग हस्तान्तरण गरेको छ । उक्त सहयोग रकमबराबरको चेक बैंकको नेपालगञ्ज शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धबलशम्शेर राणालाई बैंक परिसरमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा आफ्नो संक्षिप्त प्रतिकृया दिँदै मेयर डा. राणाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान जस्ता कार्य सबै नगरबासीे तथा संघ संस्थाको साझा कार्यक्रम भएकोले सबैको सहकार्यको आव्हान गर्दै सहयोगको लागि हिमालयन बैंकलाई धन्यबाद व्यक्त गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल, प्रेस सल्लाहकार शुक्रऋषि चौलागाई, बैंकका अधिकृतहरु, जनमत अर्धसाप्ताहिकका सम्पादक एवं वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ बांकेका पूर्व अध्यक्ष रुद्र सुबेदी, नेपाल प्रेस युनियन बांकेका पूर्व अध्यक्ष नरेन्द्र थापा लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।