फूल उपहार पनि यौन-अपराध हैन र ?-प्रकाश के.सी.

फूल उपहार पनि यौन-अपराध हैन र ?-प्रकाश के.सी.


केही अगाडि, न्युयोर्कको आफ्नो फ्ल्याटमा नुहाएपछि कपडा बदल्ने क्रममा केही सेकेन्डकै लागि झ्यालको अगाडि नाङ्गो रहन पुगेका एक व्यक्तिलाई यौन-अपराधको सेक्स्युल मोलेस्टेसनको अभियोगमा जेल चलान गरिएको समाचारले केही समय समाचारपत्रहरू भरिएका थिए । आफ्नै स्वामित्वमा रहेको आफ्नो कोठामा केही पल पनि नाङ्गिन नपाएकाजस्तै लागे तापनि सो व्यक्तिलाई सोही समयमा केही परेको सार्वजनिक बाटोबाट काममा जाँदै गरेकी एक युवतीले देख्न भ्याएकी थिइन् । त्यस्तै लन्डनमै एक प्राइभेट कार्यालयमा एक्लै रहेका एक व्यक्तिले आफ्नो निजी कम्प्युटरमा अश्लील तस्बिरहरू हेर्दै गरेकै वखत सहकर्मी एक युवती, झुक्किएर उनको टेबलमा आइपुगेकी थिइन् र सो युवतीले सो नाङ्गा तस्बिरहरूका झलक देख्न भ्याएकी थिइन् । सो व्यक्ति सेक्स्युअल ह्यारेसमेन्टमा कारबाहीमा परेका थिए ।
कुनै दोस्रो व्यक्ति, स्त्री तथा पुरुषलाई यौन चाहना जगाउन सक्ने गरेर दोस्रो व्यक्तिले स्पर्श गर्ने, बोल्ने, सुनाउने, देखाउने वा दिने गरेकोलाई स्पष्ट रूपमा यौन अपराधको रूपमा लिइएको छ । यो तब कायम हुन्छ, जब उक्त दोस्रो व्यक्तिले सो क्रियाप्रति आपत्ति जनाउँछ, असहमति दर्शाउँछ । हङकङको महिलाहरूको एक जेलको कम्पाउण्डभित्र, ग्यामन कम्पनीका लागि, माटोको स्पेसिमेन्ट लिन जाने क्रममा म आफैं पनि एकजना सहकर्मीहरूको साथमा थिएँ । हामीलाई तीन मिटर गहिरो खाल्डो खनी माटोहरू निकाल्नुपर्ने थियो । गर्मीको महिनामा हामीहरू कमिज फुकालेर काम गर्दै थियौँ तर केही मिनेटभित्रै जेल वार्डेन आएर हामीलाई कमिज लगाउनका लागि अन्तिम तथा फाइनल भनेर चेतावनी दिएका थिए । हामीहरूले खाल्डो खन्दै गरेको स्थान, महिलाहरूको जेलको कोठाभन्दा लगभग ८० मिटर पर थियो तर पनि हामीहरूले हाम्रो शरीरको भाग, ती कैदी महिलाले देख्नेगरी नाङ्गो पार्नुलाई सेक्स्युअल मोलेस्टेसन वा ह्यारेसमेन्ट गरिएको मानिने सो वार्डेन बताएका थिए र सजायबाट बच्न चाँडै कमिज हामीले लगाएका थियौँ ।
पीइए अर्थात् फेनिल्थाइलामाइन भन्ने यस्तो केमिकल हो, जो दिमागको एक विशेष भागमा फैलिन थाले, त्यसले मुटुका धमनीहरूलाई द्रुतगतिमा धड्काइदिन्छ र दिमागभरि अचानकै एक्साइटमेन्टहरू झङ्क्रमित हुन थाल्दछ । सोही पीइएले तत्कालै दिमागको केन्द्रमा मेसोलिम्बिक डोपामाइन नामको एक विशेष केमिकललाई रिलिज गरिदिन्छ, यो केमिकलले लगभग त्यस्तो अनुभूति ल्याउँछ, जस्तो शारीरिक सर्म्पर्कको चरमोत्कर्षमा खासगरी महिलाले प्राप्त गर्छन् । मेसोलिम्बिक डोपामाइनले वास्तवमा महिलाको क्लिटोरिसलाई हल्का-हल्का स्पर्श गरेर स्टिमुलेट गरेको वायो-फिलिङलाई दिमागको सेन्टरमा फिल्डिङ गर्दछ । यसरी लोग्ने मान्छेले आफ्नो शरीरको बाहिरी अङ्गका साथै प्राइभेट पार्टहरू देखाउने, अश्लील तस्बिरहरू देखाउने, महिलाहरूको अङ्गहरू छुन खोज्ने, अश्लील किसिमले बोल्ने अनि सुसेल्ने, इसारा गर्ने आदि-इत्यादि सेक्स्युल ह्यारेसमेन्ट वा मोलेस्टेसन भएको कानुनी मान्यता छ र त्यसका लागि कारबाहीमा पर्न सकिन्छ । माथि भनिएको तथ्यानुरूप, महिलाहरूको दिमागमा उनीहरूको प्रयासबिना पीइए अर्थात् फेनिल्थाइलामाइनको उत्पत्ति गराउने, पुरुषका हरेक प्रयासहरू गैरकानुनी हो ।
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस हो । पश्चिमेलीलगायत पूर्वेली ठूलै सङ्ख्याका देशहरूमा आजको दिनलाई निक्कै उल्लासमय रूपमा मनाइन्छ । युवायुवतीहरूमा अत्यन्तै लोकप्रिय बन्दै गएको यो दिनलाई पर्वको रूपमा वर्षभरि अधैर्यताका साथ प्रतीक्षा गरी मनाइने गरिन्छ । आजको दिन, प्रेमी कत्तिको सेन्सिवल छ या संयुक्त रूपमा जोडी नै कत्तिको रोमान्टिक छन् भनेर तिनका र्सकलमा चर्चा गरिने गरिन्छ । आजकै दिनमा नयाँ सम्बन्ध गाँस्नका लागि युवाहरू रोमान्सका विविध तरिकाहरूको सूत्रपात गर्ने लाग्दछन् भने आजकै दिनमा दाम्पत्य जीवनको सुरुवात गर्नेका लागि भनी विभिन्न देशहरूमा जोडीहरू कानुनी रूपमा वैवाहिक सम्बन्धको सुरुवात गर्ने लाग्छन् ।
भ्यालेन्टाइन्स डेको दिनमा रातो गुलाफको फूल उपहार दिनेलगायत गुलियो चकलेटको उपहार दिने चलन साथसाथै सर्वत्र विकसित रूपमा प्रत्येक वर्ष झन्झन् झ्याङ्गिँदो छ । यसमा ध्यानमा राख्नुपरेको मूल मन्त्र के हो भने, महिलालाई अति मनपर्ने वस्तु भनेको रातो फूल र गुलियो चकलेट हो । रातो समृद्धिको प्रतीक, प्रेमको प्रतीक मानिएझैं गुलियो शुभारम्भको प्रतीक हो । हुन त कसैले भन्छन्- महिलाहरू आफूलाई कोमल अनि नाजुक रातो फूल र गुलियो चकलेटको हाराहारीमा दाँजिएको मान्दछन्- यदि तिनका पुरुषहरूले तिनलाई ती वस्तुहरू उपहार दिन्छन् भने । यो त भन्ने मात्र हो । वास्तवमा के हो भने रातो फूलले अनि चकलेटको गुलियोले महिलाहरूका दिमागमा सोही पीइए अर्थात् फेनिल्थाइलामाइन नामको केमिकललाई पैदा गरिदिन्छ । रातो गुलाफको कोमल पत्ताहरूको दृष्टिले अनि चकलेटको गुलियो स्वादले स्त्री दिमागमा पीइएको डिस्टि्रब्युसन अचानकै फैलिन्छ र त्यही घडी, त्यसले मेसोलिम्बिक डोपामाइन नामको एक विशेष केमिकललाई रिलिज गरिदिन्छ । क्लिटोरिसमा हद्यका घर्षणबाट प्राप्त हुने अनुभव त्यही मेसोलिम्बिक डोपामाइनको दिमागको बीचोबीच हुने श्रावले गर्दा हुन्छ । र, महिलाहरू त्यसरी पुरुषको उक्त प्रयासबाट उप्रेरित हुन्छन्, यदि ती कोमल र अति नै सम्वेदनशील छन् भने त अपरिचितकै सोही लगनका प्रयासहरूदेखि नै उत्प्रेरित हुन्छन् ।
अब, एउटा प्रश्न आएको छ यहाँ, के त्यसरी रातो गुलाफको फूल तथा चकलेटहरू भ्यालेन्टाइन्स डेलगायतका अवसरहरूमा महिलाहरूलाई प्रदान गर्नु सेक्स्युअल मोलेस्टेसन वा ह्यारेसमेन्ट होइन त ? आफ्नो फ्ल्याटमा कपडा बदल्ने क्रममा बाटो हिँड्दै गरेकी एक महिलाले देख्नेगरी केही पलका लागि नाङ्गिएका पुरुष, आफ्नी सहकर्मीलाई झुक्किएर अश्लील तस्बिरहरूको प्रदर्शन गर्ने सहकर्मी पुरुष र कमिज फुकालेर महिला बन्दीहरूले देख्ने गरी काम गर्ने हामी अनि भ्यालेन्टाइन्स डेलगायतका अवसरहरूमा रातो गुलाफ तथा चकलेट उपहार दिने पुरुषहरूका कार्यहरूमा के भिन्नता छ त ? नाङ्गो पुरुष शरीर, सम्पूर्ण रूपमा नाङ्गो पुरुष, अश्लील तस्बिरहरू, रातो गुलाफ, गुलियो चकलेट सबैले नै उही परिणाम र परिमाणमा पीइए अर्थात् फेनिल्थाइलामाइनको उत्पादन दिमागमा गर्छ र त्यही घुलनले मेसोलिम्बिक डोपामाइनको श्राव दिमागको बीचोबीच गर्दछ जसले महिलाको क्लिटोरिसमा घर्षण गरेजस्तो आनन्ददायी अनुभूति दिन्छ, या शारीरिक सहवासपछिको चरमोत्कर्षको मिठास दिन्छ, जसले प्रत्यक्ष रूपमा महिलाहरूलाई पुरुषका सो प्रयत्नप्रति नरम बनाइदिन्छ र प्रकारान्तरमा ती शारीरिक सर्म्पर्कमा जानसक्ने अवस्थाको त्यहाँ सकारात्मक सम्भाव्यताको बिल्डअप हुन्छ ।
माथि खुलाइएको अवस्थामा भिन्नता केमा मात्र हुन्छ भने, यी सबमा सहमति हुनु जायज छ । त्यसैले पुरुष मित्रहरू, भ्यालेन्टाइन्स डेको अवसर पारी युवतीलाई प्रभाव पार्ने ध्याउन्नमा तपाईंहरू झुक्किएर पनि परायालाई रातो गुलाफ तथा गुलियो चकलेटको उपहार नदिनुहोस् । के थाहा, हाम्रा महिला पाठकहरूले पनि यस लेख पढेका हुन सक्छन् ।
वुडग्रिन, लन्डनबाट