माघ मसान्तसम्ममा लक्ष्यको तुलनामा ९६ प्रतिशत मात्रै राजस्व संकलन

माघ मसान्तसम्ममा लक्ष्यको तुलनामा ९६ प्रतिशत मात्रै राजस्व संकलन


सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यसमध्ये माघ मसान्तसम्ममा सरकारले भन्सार विन्दुहरुबाट लक्ष्यको तुलनामा ९६ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको हो ।

गत मंगलबार देशभरका भन्सार विन्दूबाट कूल १ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भयो । भन्सार विन्दूहरुबाट एकै दिनमा संकलन भएको यो परिमाणको राजस्व अहिलेसम्मकै उच्च भएको भन्सार विभागका अधिकारीहरुले बताएका छन् ।

सोमबारबाट अर्थमन्त्रीको रुपमा काम थालेका डा. युवराज खतिवडाले राजस्व सचिव र भन्सार विभागमार्फत सम्पूर्ण भन्सार कार्यालयलाई राजस्व संकलनको लागि निर्देशन दिनुभएको थियो । तर मन्त्रीको निर्देशनकै कारण मंगलबार धेरै राजस्व संकलन भएको हल्ला भने भ्रामक भएको भन्सार विभागका उप महानिर्देशक श्रीकृष्ण नेपालले जानकारी दिए ।

होलीका कारण विदा भएर मालवहाक गाडीहरु पास नभएको र राजस्व बढि तिर्नुपर्ने सामग्री बोकेका गाडीहरु त्यस दिन आएका कारण राजस्व बढि संकलन भएको उनको तर्क छ ।

उप महानिर्देशक नेपालले कुनै एकदिनको राजस्व हेरेर दिनदिनै त्यती नै राजस्व संकला हुन्छ भन्नु गलत टिप्पणी भएको जानकारी दिए । उनका अनुसार मंगलबार १ सय २२ करोड, बुधबार १ सय करोड, बिहीबार ५५ करोडको दरले राजस्व संकलन भएको जानकारी दिए । भन्सारमा हुने विभिन्न किसिमका कमजोरीमध्ये एउटा न्यून मूल्यांकन पनि हो । अहिले त्यसैको नियन्त्रणका लागि विभागले योजनाका साथ काम गरिरहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । त्यसमध्ये भन्सार विभागलाई ३ खर्ब २६ अर्ब अर्थात करिब ४५ प्रतिशत असुलीको लक्ष्य दिइएको छ । यद्यपि माघ मसान्तमा भन्सार विन्दूहरुबाट लक्ष्यको तुलनामा ९६ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।