– प्रणय साह
पर्सा । धानबालीको विकल्पको रुपमा पर्सा ग्रामीण क्षेत्रमा जङ्गलनजिकका किसानहरू सुर्ती खेती तर्फ आकर्षित भएका छन् । खेतमा लगाएको धानबाली जङ्ली जनावरले खाएर हैरान भएका कारण सुर्ती खेती गरिएको हो ।
पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जबाट ५० किलोमिटर पश्चिममा अवस्थित ठोरी गाउँपालिकाका सुवर्णपुर, विजयबस्ती, निर्मलबस्ती, ब्रम्हनगर, गौतमनगर र दीपकनगरलगायतका कृषकहरूले वर्षौदेखि सुर्ती खेती गर्दै आइरहेका छन् । नेपालकै प्रसिद्ध कम्पनी सूर्य टोबाकोको पहल र सहयोगले यस क्षेत्रका कृषकहरू सुर्ती खेतीतर्फ आकर्षित भएका हुन् ।
सिचाइँको लागि पानीको अभाव रहेको निर्मलबस्ती, सुवर्णपुरलगायतका कृषकहरू सिचाइँबिना नै खेती गर्न सकिने भएकोले पनि वैकल्पिक खेतीको रुपमा सुर्ती खेती गरेको बताउँछन् । स्वास्थ्यको दृष्टिकोणले नराम्रो कुरा मानिए पनि किसानहरू नगदेबालीको रुपमा चिनिएको सुर्ती खेतीबाट लाभान्वित हुँदै आउका छन् ।
खेतबारीमा धान, मकै, गहुुँ, तरकारी जस्ता अन्नबाली लगायँदा जङ्गली जनावरले नष्ट पारिदिने गरेको कारण खेतबारीमा लगाएको बाली पनि भित्र्याउन नपाइने र रातदिनै जङ्गली जनावर धपाउने हैरानीबाट टाढा हुन सुर्ती खेती सुरु गरेको पर्सा सुवर्णपुरकी विष्णु अधिकारीले बताइन् । सूर्य टोबाको प्रालिले त्यस भेगका किसानलाई सस्तो ब्याजदरमा सुर्तीको बिउ, रासायनिक मललगायत प्राविधिक सहयोग समेत पु¥याएपछि व्यवसायिक सुर्ती खेतीतर्फ आकर्षित भएको अधिकारी बताउँछिन् ।
नेपालकै प्रसिद्ध कम्पनी सूर्य टोबाकोको पहल र सहयोगले यस क्षेत्रका किसानहरू सुर्ती खेतीतर्फ आकर्षित भएका हुन् । सूर्य टोबाकोले ठोरी गाउँपालिका क्षेत्रमा तीनवटा सेक्टर बनाएर प्रत्येक सेक्टरहरूमा प्राविधिकको समेत ब्यवस्था गरेको छ । एक वर्षमा दुई सिजनमा गर्न सकिने यो खेतीबाट ठोरी गाउँपालिकाका कृषकहरूले राम्रोे आम्दानी गर्ने गरेका छन् । पात टिपेर सुकाएपछि बनेको सुख्खा सुर्ती खरिद गर्ने सूर्य टोबाको कम्पनीले गरेको विजयबस्तीका रामकुमार श्रेष्ठ बताउँछन् ।
एक बिघा जमिनमा १० क्विन्टलसम्म सुख्खा सुर्ती उत्पादन हुने गरेको छ । सिचाइँको लागि पानीको अभाव रहेको उक्त क्षेत्रमा किसानहरू सिचाइँबिना नै खेती गर्न सकिने भएकोले पनि वैकल्पिक खेतीको रुपमा सुर्ती खेती गर्ने गरेको बताउँछन् । सुर्ती खेतीले माटोमा अम्लियपना बढाए पनि वर्ष परिवर्तन गर्दै खेती गर्ने हो भने माटोमा खासै असर नदेखिने कृषकहरूको भनाई छ ।
पर्सामा असोज महिनामा सुर्तीको बिरुवा उत्पादन हुने गर्दछ । बिरुवा उत्पादन गर्ने नर्सरीलाई कम्पनीले त्यसमा लाग्ने औषधीबाहेक बिउबिजनलगायत सम्पूर्ण सामाग्रीहरू निःशुल्क उपलब्ध गराउने गर्दछ । असोजमा रोपेको सुर्ती पुस महिनामा टिप्न तयार हुने गर्दछ भने माघमा रोपेको सुर्ती जेठमा तयार हुने गर्दछ । अन्य व्यवसायिक खेतीको तुलनामा अलि झन्झटिलो भएपनि जङ्गली जनावरहरूले पनि नखाने भएकोले उक्त खेतीबाट मानिसहरूले जीविकोपार्जन गर्दै आएका छन् ।
प्रतिक्रिया