सिद्धार्थ शिशु सदनले जित्यो प्रिमियर लिगको उपाधि

सिद्धार्थ शिशु सदनले जित्यो प्रिमियर लिगको उपाधि


धनगढीको सिद्धार्थ शिशु सदनले ‘निष्ट लिटिल फ्लावर प्रिमियर लिग’को उपाधि जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा सिद्धार्थले कञ्चनपुरको लिटिल वुद्धलाई ९ विकेटले पराजित गर्दै च्याम्पियन वनेको हो । फाइनलमा जितसंगै च्याम्पियन सिद्धार्थले नगद ५० हजार प्राप्त गरेको छ । त्यस्तै उपविजेता लिटिल वुद्धले नगद २५ हजार चित्त बुझायो ।

कञ्चनपुरको लिटिल वुद्धले टस जितेर पहिले व्याटिङ गर्दै १७.५ ओभरमा सवै विकेट गुमाएर ७७ रन वनाएको थियो । लिटिल बुद्धको तर्फवाट रमेश भट्टले सर्वाधिक १५ र भीम सार्कीले १४ रन बनाएका थिए । अन्यले दोहोरो अंक पनि बनाउन पनि असफल भएका थिए । लिटिल वुद्धलाई कम स्कोरमा समेट्ने क्रममा सिद्धार्थका दिपेन्द्र थापा र किरण ठगुन्नाले २÷२ विकेट लिएका थिए ।

७८ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको सिद्धार्थले १०.३३ ओभरमा १ विकेट गुमाएर लक्ष्य भट्टाएको थियो । सिद्धार्थलाई सहज जित दिलाउन किरण ठगुन्नाले अर्धशतकीय पारी खेलेका थिए । ठगुन्नाले ५४ रन वनाएका थिए । त्यस्तै दिपेन्द्र थापाले २० रनको योगदान दिए । लिटिल वुद्धका लागि विकास आग्रीले एक विकेट लिएका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सिद्धार्थ सिसु सदनका दिपेन्द्र थापा, उत्कृष्ट व्याट्सम्यान लिटिल वुद्धका रमेश भट्ट, उत्कृष्ट वलर सिद्धार्थका खड्ग वोहोरा र उदयमान खेलाडी विज्डम एकेडेमीका भए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक निष्ट कलेजका संस्थापक प्रिन्सिपल तथा निष्ट फाउण्डेसनका अध्यक्ष डाक्टर माधव प्रसाद वरालले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको तेस्रो संस्करणको नगद पुरस्कार राशी वढाउने र विद्यालय स्तरीय क्रिकेट प्रतियोगितालाई अझ उत्कृष्ट रुपमा आयोजना गर्ने प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले समापन समारोहमा जानकारी गराएका थिए । सो अवसरमा दोस्रो संस्करणका विजयी खेलाडीहरुलाई नगद तथा पुरस्कार वितरण गरिएको थियो । धनगढीको लिटिल फ्लावर ईङलिस स्कुलको आयोजनामा फागुन १५ गतेदेखि प्रतियोगिता शुरु भएको थियो ।

– सीताराम ओझा