तेश्रो अन्तर्राष्ट्रिय फेजर कप भारोत्तोलन च्याम्पियनसिपमा सहभागि हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली इरानको अहभाज प्रस्थान गरेको छ ।
मार्च ६ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । ७७ केजीमा कमलबहादुर अधिकारी, ८५ केजीमा सुरेन्द्र श्रेष्ठ तथा १०५ केजीमाथि पुकार गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।
टोलीको प्रशिक्षकमा दिनेश भुजेल रहेका छन् । त्यस्तै निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायकद्वय प्रदीप श्रेष्ठ र रुकेश तण्डुकार छन् । तीनै खेलाडी पोखरामा गत पुस अन्तिम साता भएको राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका स्वर्ण विजेता हुन् । फेजर कपमा नेपालको यो पहिलो सहभागिता हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले विदाई गरेका थिए ।
प्रतिक्रिया