तेक्वान्दोलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

तेक्वान्दोलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान


नेपाल तेक्वान्दो सङ्घलाई आर्थिक वर्ष ०६८/६९ को उत्कृष्ट खेल सङ्घ घोषित गर्दै नेपाल सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ । ०६९ असोज १२ गते सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको डा. हर्क गुरुङ सभाहलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणालाई सम्मानपत्रसहित रु. एक लाखको चेक प्रदान गर्नुभएको थियो । सो अवसरमा सङ्घका तर्फबाट उपाध्यक्षद्वय सञ्जीव रेग्मी तथा भोजबहादुर शाह, महासचिव दीपराज गुरुङ, कोषाध्यक्ष रविराज सिंह तथा सदस्यहरू संगीना वैद्य र दीपक विष्टको पनि उपस्थिति रहेको थियो ।

एसियन तेक्वान्दो च्याम्पियनसिपमा आयशा र विशाल
मलेसियाको शबाह सहरमा यही अक्टुबर ११ देखि १३ सम्म आयोजना हुने तेस्रो एसियन युनिभर्सिटी तेक्वान्दो च्याम्पयनसिपमा प्रतिस्पर्धा गर्न नेपालका दुईजना खेलाडी आयशा शाक्य र विशाल श्रेष्ठ त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त प्रतियोगितामा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई सहभागी गराइएको महासचिव पूर्ण बोहराले बताएका छन् । उक्त टोलीको प्रशिक्षकको रूपमा दीपक रहेको पनि बोहराले बताए ।

बक्सिङमा प्रेम र प्रमिला उत्कृष्ट
ह्यापी डिल्स राष्ट्रव्यापी सिनियर पुरुष तथा महिला बक्सिङ प्रतियोगिताको पुरुषमा नेपाल आर्मीका प्रेम चौधरी र महिलामा एपीएफकी प्रमिला पाण्डे उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्टद्वयले डिस होम र एडिडासको गिफ्ट ह्याम्पर पाए । नेपाल बक्सिङ सङ्घको आयोजनामा भएको फाइनल खेलका विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरे, बक्सिङ सङ्घका आजीवन अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, मुख्य प्रायोजक ह्यापी डिल्सका प्रबन्ध–निर्देशक खगेन्द्र कँडेललगायतले पुरस्कृत गरेका थिए ।

अन्तरविद्यालय कराते प्रतियोगिता सम्पन्न
बालाजु कराते डो एकेडेमी र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको संयुक्त आयोजनामा हालै अन्तरविद्यालय कराते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सिद्धार्थ वनस्थली इन्स्टिच्युटले १६ स्वर्ण, १२ रजत र ६ कास्य पदक जितेर प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै, दोस्रो स्थान हासिल गर्ने नेपाल राष्ट्रिय माविले ६ स्वर्ण, १० रजत र पाँच कास्य र तेस्रो हुने ज्ञान मन्दिर स्कुलले दुई स्वर्ण, पाँच रजत र १० कास्य पदक जितेको थियो ।
त्यस्तै प्रतियोगितामा अनुशासित स्कुलको उपाधि मल्पी प्राइमरी स्कुलले जितेको थियो । उत्कृष्ट खेलाडीको दुवै विधा महिला तथा पुरुषतर्फ क्रमशः सिद्धार्थ वनस्थलीले बाजी मारेको थियो । उत्कृष्ट खेलाडीको उपाधि एन्जिला धिमाल र गौतम श्रेष्ठले जितेका थिए । यसैगरी उत्कृष्ट प्रशिक्षकको उपाधि पनि वनस्थलीकै पृथ्वीबहादुर श्रेष्ठ र अनुपमा मगरले पाएका थिए ।
प्रतियोगितामा विश्व कराते महासङ्घ डब्लूकेएफका रेफ्रीद्वय थ्यागु पनैया र पनिर सेलेभम माथ्युकरायनले विजयी खेलाडी र स्कुल टिम च्याम्पियन ट्रफी प्रदान गरेका थिए । यसैगरी नेपाल कराते सङ्घका पुरेन्द्रविक्रम लाखे, नेपाल ओलम्पिक कमिटीका जीवनराम श्रेष्ठ र बालाजु कराते डो एकेडेमीका अध्यक्ष ध्रुवविक्रम मल्लले विजयी खेलाडीहरूलाई प्रमाणपत्र र पदक वितरण गरेका थिए । प्रतियोगिताकै अवसरमा बालाजु एकेडेमीमै सम्पन्न रेफ्री कोर्समा सितोरियो, बादोकाई, गोजुरियो, क्वान मुकान र भारतका समेत गरी ५३ जना रेफ्री कोर्स लिएकाले नै प्रतियोगिता सम्पन्न गरेका थिए ।