थ्री स्टारले यसरी लियो एपीएफसँग बदला

थ्री स्टारले यसरी लियो एपीएफसँग बदला


बिर्तामोड । थ्री स्टार क्लब काठमाडौले सशस्त्र प्रहरीको एपीएफसँग केही दिनअघि चितवनमा सम्पन्न गोल्डकपमा ब्यहोरेको हारको बदला लिएको छ । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको तेस्रो दिनको खेलमा एपीएफलाई १−० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले बदला लिएको हो । चितवनमा सम्पन्न विकास रनिङ शिल्डको फाइनल खेलमा एपीएफले थ्री स्टारलाई १−० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।

थ्री स्टारको लागि विदेशी खेलाडी अजय मार्टिनले गरेको एक गोल नै निर्णायक बन्योे । मार्टिनले दोस्रो हाफको ५७औं मिनेटमा गोल गर्दै टीमलाई जित दिलाएका थिए । एपीएफका गोलकिपर अमृत कुमार चौधरी लडेको समयमा भलि गर्दै गोललाई पोष्टको जाली चुमाए । सुनील बलको क्रस पासमा मार्टिनले गोल गरेका थिए ।

पहिलो हाफको पाँचौं मिनेटमा थ्री स्टारका सुनील बलको कडा प्रहार एपीएफका गोलकिपर चौधरीले पञ्च गरेर बाहिर फ्याकेका थिए । नऔं मिनेटमा मार्टिनले पाएको अवसर फ्रेममा पर्न सकेन । २४औं मिनेटमा हरि कार्कीले गरेको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले गोललाइनबाट बचाए । ४१औं मिनेटमा थ्री स्टारका स्ट्राइकर बुद्ध चेम्जोङको कडा प्रहार गोल हुन सकेन ।

५८ दोस्रो हाफको १३औं मिनेटमा मार्टिनको प्रहार गोलकिपर चौधरीले पञ्च गरेर फर्काए । खेलको ६४औं मिनेटमा मार्टिनको कढा प्रहार एपीएफका पोष्ट बार र गोलकिपर चौधरीलाई टच हुदै बाहिरियो । ७४औं मिनेटमा एपीएफका रमेश दंगालको हेडर पोष्ट नजिकैबाट बाहिरियो । ७५ औं मिनेटमा कप्तान निराजन खड्काले एकल प्रयासमा गरेको प्रहारले जाली नचुम्दा गोल अन्तर बढाउने अवसरबाट थ्री स्टार बञ्चित भएको थियो । खेलको ७८ औं मिनेटमा मार्टिनको शसक्त प्रहार एपीएफका गोलकिपर चौधरीले फर्काइदिए ।

८५औं मिनेटमा एपीएफका रोशन लामाले डि एरियाबाट गरेको कडा प्रहार बाहिरिएको थियो । खेलको इन्ज्युरी समयमा एपीएफका सुदिप शिखाकारले गरेको हेड बाहिरिएपछि थ्री स्टारले एपिएफसँग बिकास रनिङ शिल्डमा ब्यहोरोको हारको बदलामा परिणत भएको हो ।

खेलको म्यान अफ द म्याच थ्री स्टारका अजय मार्टिन घोषित भए । उनले नगद २५ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरे । आज मंगलबारको खेल मनाङ मस्र्याङदी क्लब र सहारा क्लब पोखराबीच हुने आयोजक समितिले जनाएको छ ।

त्यस्तै सोमबारको गेट टिकट मध्येबाट दर्शक उपहारका लागि गरिएको गोलामार्फत टिकट नम्बर ३२१० का विनय भण्डारी २४ इन्चको टेलिभिजन प्राप्त गरे । टेलिभिजनका प्रायोजन महेन्द्ररत्न स्टोर्सले गरेको थियो ।