२ करोडको कारोबार गर्दै ११ दिवसीय प्रादेशिक महोत्सव सम्पन्न

२ करोडको कारोबार गर्दै ११ दिवसीय प्रादेशिक महोत्सव सम्पन्न


– मनिता चाम्लिङ

धरान । धरानमा आयोजित प्रादेशिक महोत्सव २ करोडको कारोवार गर्दै सोमवार सम्पन्न भएको छ । यही फागुन ११ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको महोत्सवमा २ करोड रुपैयाँ बराबरको कारोवार भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले बताए । समापन कार्यक्रममा अध्यक्ष साहले धेरै वर्षको अन्तरालमा भएको महोत्सवमा प्रदेश नं. १ मा उत्पादित वस्तुको बजार प्रवद्र्धन भएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि १ नं. प्रदेशका सभामुख प्रदिप भण्डारीले प्रादेशिक महोत्सवले व्यवसायी र उपभोक्ता बिचको दुरीलाई कम गरेको बताए । उनले बजारमा खुद्रा व्यापारीबाट खरिद गरिरहेका उपभोक्ताले महोत्सवमा खरिद गर्दा हुने अन्तरबारे ज्ञान महोत्सवले दिएको उनको धारणा छ । सोही क्रममा सभामुख भण्डारीले नेपाल कृषिप्रधान देश भएकाले हरेक कृषकहरुले कृषिमा यान्त्रिकरण अपनाएमा मात्र कृषिले व्यवसायले फड्को मार्ने तर्क गरे । उनले व्यवसायीहरुले कच्चा पदार्थबाट उत्पादन गरेका वस्तुहरुलाई आधुनिकीकरण गर्नुको विकल्प नभएको बताउँदै व्यवसायीहरुको हितका लागि प्रदेशसभाले चाँडै नै नीति नियम निर्माण गर्न लागेको जानकारी दिए ।

एक फरक प्रसङ्गमा सभामुख भण्डारीले प्रदेशको नामाङ्कन के र राजधानी कहाँ राख्ने भन्ने बारे विवाद चलिरहेको बेला त्यसको छिनोफानो प्रदेशसभाले नै गर्ने बताए । उनले संविधानले नै प्रदेशको नाम र राजधानी दुईतिहाई बहुमतले राख्ने निर्णय भएकाले सोही बमोजिम हुने बताए ।

यसैगरी कार्यक्रममा नेपाल सरकार वाणिज्य मन्त्रालय निकासी प्रवद्र्धन केन्द्र काठमाडौका कार्यकारी निर्देशक शरदविक्रम राणाले १ नं. प्रदेश पर्यटनको प्रचुर मात्रामा सम्भावना बोकेको प्रदेश भएकाले पर्यटनबाटै आर्थिक क्रन्ति गर्न सकिने बताए । उनले स्थानिय व्यवसायीहरुले उत्पादन गरेका वस्तुलाई अन्तराट्रिष्यस्तरमा वाणिज्य मन्त्रालयले प्रवद्र्धन गर्ने समेत जानकारी दिए ।

सोही कार्यक्रमबीच प्रदेश नं.१ का हास्यकलाकार, नायिका एवं निर्देशक दिपाश्री निरौला एवं छमछमी सिजन–२ की उपविजेता धरानकी मनिता राईलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा महोत्सवलाई सफल बनाउन सहयोग गर्ने विभिन्न सहयोगी संघ–संस्थाहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा महोत्सव अवधिभर स्टल सजाएर राख्ने पञ्चकन्या हस्तकला धरानलाई उत्कृष्ट स्टल घोषणा गरिएको थियो । संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठद्धारा धन्यवाद व्यक्त गरिएको सो कार्यक्रम संघका महासचिव शिवराज श्रेष्ठले सञ्चालन गरेका थिए ।

धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा आयोजित उक्त महोत्सवमा दैनिक घरायसी समान, गार्मेन्टका लत्ता कपडा, सूचना प्रविधी, हार्डवेयर, एक गाउँ एक उत्पादन अन्र्तगतको बेसार, घरेलु तथा साना उद्योग कार्यालयको विशेष स्टलहरु समेत रहेको थियो ।