बैतडीमा जिप दुर्घटना, एकको मृत्यु

बैतडीमा जिप दुर्घटना, एकको मृत्यु


गोकुलेश्वर–गन्ना सडकखण्डअन्तर्गत बैतडीको डिलाशैनीमा सोमबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दार्चुला मार्मा–३ का ३६ वर्षीय कृष्णसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए ।

गम्भीर घाइते एकजनाको परिचय खुल्न सकेको छैन । अन्य घाइते हुनेमा दार्चुला मार्मा–६ का अकवर महरा, गोमती महरा, गिता महरा, भारतीय नागरिक मेरमान सिंह र सुर्वण सिंह रहेका छन् ।

घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । दार्चुलाको लटिनाथबाट गोकुलेश्वरका लागि छुटेको म १ ज २३३ नम्बर जिप बैतडीको डिलासैनी गाउँपालिका–३ झर्नामा सोमबार बेलुका ५ः३० बजे दुर्घटनामा परेको हो । राससका अनुसार जिप दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । चालक दीपक विष्ट फरार रहेका छन् । जिप सडकबाट ५०० मिटर तल चमेलिया नदीमा खसेको प्रहरीले जनाएको छ ।