हुण्डीमार्फत रकम ओसारपसार गर्ने भारतीय प्रहरी नियन्त्रणमा

हुण्डीमार्फत रकम ओसारपसार गर्ने भारतीय प्रहरी नियन्त्रणमा


अवैध रुपले हुण्डी कारोवार गरी रकम ओसारपसार गरेको अवस्थामा विराटनगरनिकट सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने ४५ वर्षीय नारायण साहलाई विआर ११ एए ६२६५ नं को भारतीय कारको सिटमुनि विशेष स्थान बनाई उक्त रकम ल्याइरहेका अवस्थामा प्रहरीले जाँचका क्रममा विराटनगर–१५ बाट पक्राउ गरिएको जानकारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले कुन प्रयोजनका उक्त रकम नेपाल ल्याइएको हो भन्ने सम्बन्धमा अनुसन्धानपछि सम्पत्ति सुदृढीकरण वा राजश्व अनुसन्धान विभाग काठमाडौंमा आवश्यक कारवाहीका लागि पठाइने बताए ।