अनसनकारी केसीलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश

अनसनकारी केसीलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश


सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अवहेलना मुद्दामा डा. केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो ।

डा. केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अमर्यादित, अशिष्ट, अशोभनीय भएको भन्दै आदेशमा भनिएको छ, ‘तँपाईले प्रयोग गरेका शब्दले अदालतको अवहेलना हुने खालको छ कि छैन, तीनदिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिनुस् ।’

डा केसीले प्रधानन्यायाधीशको राजीनामा माग्ने शव्द प्रयोग गर्दा अदालतको अवहेलना भएको उल्लेख गर्दै गोविन्द बोहोराले यही फागुन १६ गते अवहेलना मुद्दा दायर गरेका थिए ।

यसैक्रममा राससले दिएको जानकारीअनुसार सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने भएको छ ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार विषयवस्तुको गम्भीरतालाई ध्यान दिँदै गहनतम छलफल गर्नुपर्ने भएको भन्दै बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

कातिपुर विरुद्धको मुद्दा माथिको सुनुवाइपछि अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘अदालतको अपहेलनासम्बन्धी विधिशास्त्रीय सिद्धान्त र यसको मान्यता एवम् व्यवहारमा यसको प्रयोग सम्बन्धमा बृहत् व्याख्याको यस इजलासले महसुश ग¥यो, गहनतम छलफल गर्नुपर्ने भएकाले मुद्दाको सुनुवाइ पूर्ण वा बृहत् पूर्ण इजलासबाट हुनुपर्ने देखिन्छ ।’

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले अवहेलनाको मुद्दा दायर दायर गरेका थिए ।